जिसस लमजुङमा एमाले निर्विरोध

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण २०, २०७४- जिल्ला समन्वय समिति लमजुङमा नेकपा एमालेको समूह निर्विरोध निर्वाचित भएको छ । उक्त समूहमा एक सदस्य माओवादी केन्द्रका प्रतिनिधि छन् ।
९ सदस्यीय समितिको प्रमुखमा लोकराज पाण्डे निर्विरोध भएका हुन् । उनी सुन्दरबजार नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हुन् । उपप्रमुखमा सुन्दरबजार नगरपालिका ९ की वडा सदस्य धनमाया तामाङ निर्विरोध भएकी हुन् । सदस्यमा राइनास नगरपालिका ७ की ज्ञानुमाया नेपाली, दूधपोखरी गाउँपालिका ६ का टकबहादुर गुरुङ, बेंसीसहर नगरपालिका ११ का सरस्वति पन्त, मर्स्याङ्दी गाउँपालिका ९ का नन्दराम विक, दोर्दी गाउँपालिका २ का लालबहादुर गुरुङ, मध्यनेपाल नगरपालिका ६ का नौबहादुर दुरा निर्विरोध भएका हुन् । एक सदस्य माओवादी केन्द्रबाट राइनास १ की इन्दिरा पोख्रेल जिससको सदस्य पदमा निर्विरोध भएका छन् ।

जिल्ला समन्वय समितिमा कांग्रेसको उम्मेदवारी नपरेपछि बुधबार उम्मेदवारी दिएका एमाले नेतृत्वको टोली शुक्रबार निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश अर्जुन अधिकारीले बताए । उनले बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । कांग्रेसबाट मनोनयन दर्ता नभएकाले चुनाव चिन्ह वितरण र मतदान कार्य गर्नु नपरेकाले निर्विरोध घोषणा गरिएको उनले बताए ।

उनका अनुसार उम्मेदवारको सूचि प्रकाशनपछि कसैको पनि दावीविरोध परेन । बिहीबार मनोनयन पत्रको जाँच र उम्मेदवारको नामावली प्रकाशन गरिएको र मतदानमा लानुपर्ने अवस्था नभएपछि निर्विरोध घोषणा गरिएको उनले बताए । निर्वाचित पदाधिकारीलाई आइतबार पदभार ग्रहण संगै प्रमाण पत्र हस्तान्तरण गरिने उनले बताए ।
जिल्ला समन्वय समितिका लागि १६ मतदातामध्ये एमालेसंग प्रमुख ४ र उपप्रमुख ५ जना गरी ९ जना रहेका थिए । । कांग्रेसंग प्रमुख २ र उपप्रमुख ३ जना गरी ५ जना र माओवादी केन्द्रसंग १ प्रमुख र १ उपप्रमुख गरी २ मतदाता रहेका थिए । निर्वाचितलाई मुख्य निर्वाचन अधिकृत अधिकारी, एमाले अध्यक्ष धनञ्जय दवाडी, माओवादी केन्द्रकी जिल्ला संयोजक मधु अधिकारी, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले खदा ओढाएर बधाइ तथा शुभकामना ज्ञापन गरेका थिए ।