भाद्र १५, २०७४ चितवनस्थित नारायणगढ मुग्लिन सडकखण्ड भासिएपछि यातायात अवरुद्ध भएको छ । ईच्छाकामना ६ चार किलोस्थित चोर खोला नजिक बाटो भासिएको चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो । रातभर बन्द रहने सडक खोल्नु अघि प्राविधिक टोलीले सडक जाँच गर्ने क्रममा भासिएको स्थान फेला परेको हो । सो स्थानबाट एकतर्फी सवारी खोल्ने प्रयास भैरहेको पन्तले जानकारी दिनुभयो । सडकको ४ मिटर चौढाई र ५० मिटर लम्बाई भासिएको नारायणगढ मुग्लिन सडकखण्ड निर्माण आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो । ९ मिटरको सडकमा ४ मिटर भासिएपछि सवारी सञ्चालनको अवस्था नरहेको खनालको भनाई छ । भासिएको स्थानबाट त्रिशुली नदी देखिने अवस्था रहेको छ । सो स्थान मुग्लिन नारायणगढ सडकखण्डको धेरै पहिरो खस्ने स्थान हो । भासिएर सडक अवरुद्ध हुँदा मुग्लिन र नारायणगढमा रातभर रोकिएका सवारीका साधन अलपत्र परेका छन् ।