दोक्लमबारे बल्ल भुटान बोल्यो

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १४, २०७४- भुटान र चीनको सीमाबाट भारतीय सेना फिर्ता भएकोमा भुटानले स्वागत गरेको छ । भुटान र चीनको सीमा विवादमा भारतीय सेनाको प्रवेशपछि पनि भुटान मौन थियो । तर, सेना फिर्ता भएपछि भुटानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लम विवादबारे कुनै धारणा नै नराखी फिर्ता हुने कार्यको स्वागत गरेको हो । दुवैतिरका सेनाको तैनाथीपछि भुटानको दिल्लीस्थित दूतावासले चीनको दिल्लीस्थित दूतावासलाई पत्र लेख्दै त्यो भूभाग आफ्नो भएको जानकारी गराएको थियो । त्यसपछि भुटानले सार्वजनिक रूपमा कुनै वक्तव्य दिएको थिएन ।

‘दोक्लम क्षेत्र दुवै छिमेकीबाट तैनाथ सैन्य फौजबाट मुक्त भएकोमा भुटानले स्वागत गर्छ,’ भुटानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई आशा छ, भुटान, चीन र भारतको सीमामा शान्ति बहालीका लागि यो कदमले योगदान पुग्नेछ ।’ भुटानले सीमा क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै मुलुकले आपसी सम्झौताको सम्मान गर्नु आवश्यक रहेको पनि बताएको छ । २० दिनअघि बिमस्टेकको १५ औं बैठकमा सहभागी हुन काठमाडौं आएका भुटानी विदेशमन्त्री दाम्चो दोर्जी र भारतीय समकक्षी सुष्मा स्वराजबीच दोक्लम विषयमा काठमाडौंमा साइडलाइन भेटवार्ता भने भएको थियो । उक्त बैठकमा त्यस क्षेत्रको शान्तिपूर्ण निकासमा नै जोड दिइएको भए पनि उनीहरूले गरेको छलफलको पूर्ण विवरण भने बाहिर आएको थिएन ।
भुटानसँगको सीमा क्षेत्रमा चीनले सडक निर्माण तीव्र पारेपछि भुटानमा रहेका र अन्य थप भारतीय सैनिक टोली चिनियाँ भूभागमा गएका थिए । डोजरसहित गएका भारतीय सैन्य टोलीको उपस्थिति देखेपछि चिनियाँ पक्षले पनि त्यस क्षेत्रमा सैन्य तैनाथी बढाएको थियो । जसले गर्दा यो क्षेत्रमा युद्धको त्रास देखा परेको थियो । दुई महिना १० दिनपछि सोमबार दुवै देशले विज्ञप्ति जारी गर्दै भारतीय सेना फिर्ता भएको जनाएका थिए । कूटनीतिक आदानप्रदानमा चीनले त्यस क्षेत्रमा आफ्नो सडक संरचना नबढाउने र भारतले पनि सैन्य बल नथप्ने सर्तसहित सहमति जुटेको संकेत गरेको छ । नेपालले पनि यो घटनामा तटस्थ धारणा राख्दै आएको थियो ।




Related Posts: