१४ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको जनाएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको आयुक्त सुधीरकुमार साहले जानकारी दिए । उनका अनुसार प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । सरकार, मन्त्री, स्थानीय निकाय र तहका कर्मचारी, सार्वजनिक संस्थान र कर्मचारी, सरकारी तथा अर्धसरकारी कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र, अनुसन्धान, सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, सार्वजनिक पद धारण गरेको व्यक्तिलाई निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ । साहले नेकपा एमालेका नेतालाई प्रदेश नम्बर दुईमा गरिएको अबरोधका बारेमा बुझ्ने प्रयास भैरहेको पनि जानकारी दिदै दोषीलाई कारवाही हुने बताए । मन्त्रीपरिषद् बैठकले मंसिरमा दुई चरणमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेपछि आयोगले आजैदेखि नै लागू हुने गरि आचारसंहीता जारी गरेको हो ।