चुनाव नजिकिएसँगै दलहरूबीच शक्ति प्रदर्शनको होड...

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १५, २०७४- चुनाव नजिकिएसँगै दलहरूबीच शक्ति प्रदर्शनको होड चलेको छ । सर्लाहीमा केही सातायता दिनहुँ यस्ता कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्रले बुधबार चक्रघट्टामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्‍यो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रममा स्थानीय नेतृत्वले हजारौं सर्वसाधारण जुटाएर मधेसमा आफू बलियो शक्ति रहेको देखाउने प्रयास गर्‍यो ।
भीड देखेपछि दाहालले मधेसमा माओवादी दह्रो पार्टी रहेको पुष्टि भएको बताए । सेतो कुर्ता–पाइजामा लगाएका उनले मधेसको विकास नभएसम्म देश समृद्ध बन्न नसक्ने धारणा राखे । मधेस, पहाड र हिमाल विकसित र अधिकार सम्पन्न बनाएर नेपाल जोड्ने काम माओवादीले गर्ने उनको दाबी थियो । क्षेत्रीय पार्टीले अधिकार दिलाउन नसक्ने भन्दै दाहालले माओवादीप्रतिको विश्वास खेर जान नदिने बताए । ‘अतिवादीले मधेसमा माओवादीलाई कमजोर बनाउने प्रयास गरे पनि अतिवाद धेरै टिक्दैन,’ उनले भने ।
चर्काे गर्मी र सहनै नसक्ने धुलाम्य सडक छिचोल्दै कार्यकर्ता कार्यक्रमस्थल पुगेका थिए । डुबान र बाढीले सडक भत्काएर कतिपय स्थानमा सवारी नचल्ने अवस्था छ । भाइरल ज्वरो र रुघाखोकीले सयौं बिरामी छन् । यस्तो अवस्थामा पनि कार्यक्रममा सहभागिता बढी हुनुले चुनावअघि सकारात्मक सन्देश गएको सहभागी अक्षयलाल राउतले बताए । दाहालले उक्त कार्यक्रममा फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर रायलाई पार्टी प्रवेश गराए । पूर्ववनमन्त्री राय जिल्लामा प्रभावशाली मानिन्छन् । फोरम लोकतान्त्रिकभित्र खटपट भएपछि उनले केहीअघि मात्र वरिष्ठ उपाध्यक्षबाट राजीनामा दिएका थिए । चक्रघट्टा गाउँपालिकामा रायका छोरा विक्रमले माओवादी केन्द्रबाट प्रमुखको टिकट पाउने चर्चा छ । उनी गत वर्ष मधेस आन्दोलनमा सुरक्षाकर्मीको गोली लागि घाइते भएका थिए । पार्टी प्रवेशपछि रायले मधेसवादी नेताले मधेसलाई देखाएर व्यक्तिगत स्वार्थको रोटी सेक्ने काम मात्र गरेको आरोप लगाए । ‘श्रीमती र सम्धिनीलाई सांसद बनाउनेबाहेक मधेसी जनताका लागि कहिल्यै केही गरेनन्,’ उनले भने, ‘मधेसको नाममा व्यक्तिगत फाइदा लिए । मधेसी दलका नेता संकीर्ण भावनाले ग्रस्त छन् ।’ उनले आफू मधेसी जनता र मधेसका लागि लड्दै आएकाले माओवादीमा रहेर पनि त्यो काम गरिरहने बताए । संविधान संशोधन, मधेस आन्दोलनका घाइते र मृतकका परिवारलाई क्षतिपूर्ति, झूटा मुद्दा फिर्ताजस्ता काम माओवादी नेतृत्वको सरकारबाट भएको भन्दै उनले माओवादीबाटै मधेसको हित हुने दाबी गरे । निर्वाचन मिति नजिकिएसँगै दलका केन्द्रीय नेता गाउँगाउँ पुगिरहेका छन् । माओवादी केन्द्र अध्यक्ष दाहालदेखि मधेसकेन्द्रित दलका शीर्ष नेतासम्म सप्तरीका विभिन्न गाउँ पुगेर कार्यकर्ता भेटघाट र चुनावी सभामा सहभागिता जनाइरहेका छन् ।
दाहाल दुई दिनअघि विराटनगरबाट जनकपुर जाने क्रममा भारदह र कल्याणपुरको बिसनपुरमा कार्यकर्तासँग भेटघाट गर्न रोकिए । निर्वाचन, जिल्लामा पार्टीको संगठन, प्रचारको तयारीलगायत विषयमा उनले स्थानीय नेताहरूसँग जानकारी लिए । दाहालले चुनाव प्रचारमा तदारुकतासाथ लाग्न निर्देशन दिएको माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका सांसद अशोककुमार मण्डलले बताए ।
दाहालले २ दिनअघि जनकपुरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री अनिश अन्सारीसहित सप्तरीका केही नेता–कार्यकर्तालाई पार्टीमा भित्र्याए । सद्भावना पार्टीका संस्थापक नेता अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेसँगै राजविराज नगरपालिकाको मेयर उम्मेदवारका रूपमा चर्चा चलिरहेको छ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका नेताहरू शरतसिंह भण्डारी र महेन्द्र यादव बुधबारे डाकनेश्वरी नगरपालिकाको पत्थरगाडामा आयोजित चुनावी सभामा सहभागी भए । कार्यक्रममा उनीहरूले केही स्थानीय पूर्वजनप्रतिनिधिलाई पार्टीमा भित्र्याए । सप्तरीमा राजपाका २ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, दुई महासचिव, २ सहमहासचिवसहित झन्डै ५० केन्द्रीय सदस्य छन् । निर्वाचन अवधिभर केन्द्रीय तहका शीर्ष नेताहरू आलोपालो जिल्लामा प्रचार अभियानमा सरिक रहने सहमहामन्त्री गजेन्द्र मण्डलले जनाए ।
यसअघि एमालेका महेन्द्र पाण्डेसहितका नेता विभिन्न स्थानमा निर्वाचनलक्षित कार्यक्रम गरी फर्केका छन् । सतारूढ मुख्य घटक कांग्रेसका जिल्लास्तरका अधिकांश नेता र उम्मेदवार आकांक्षी भने २ सातादेखि राजधानीमा छन् । आफ्नो पक्षमा टिकट पार्न उनीहरू शीर्ष नेताका घर चहारिरहेका छन् । कांग्रेस जिल्ला सभापति दिनेशकुमार यादवले नेता–कार्यकर्ता प्रचार अभियानमा जुटिसकेको दाबी गरे ।

Related Posts: