भाद्र ३१, २०७४-बेपत्ता १३ वर्षीय स्कुले बालकको शव भेटिएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखाल क्षेत्र तनावग्रस्त भएको छ । स्कुलबाट हराएका बालक ४ दिनपछि बुधबार साँझ मृत भेटिएपछि आफन्तले हत्या आरोपीको घरमा आगजनी र ढुंगामुढा गर्नेलगायत गतिविधिले उक्त क्षेत्रमा तनाव भएको हो । मृतकका आफन्तले शुक्रबार बिहानै हत्याका मुख्य आरोपी भनिएका आशिष अधिकारीको घर र गोठमा आगजनी गर्नुका साथै ढुंगा प्रहार गरेका छन् । आगो निभाउन पुगेको दमकललाई पनि अवरोध गर्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले प्रहरीमाथि नै ढुंगा प्रहार गर्न थाले । आगजनीबाट हत्या आरोपी आशिषको गोठ जलेर नष्ट भएको छ । प्रहरीलेस्थितिलाई नियन्त्रणमा लिन ९ सेल अश्रुग्यास र १९ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कञ्चनपुरका एसपी प्रकाश चन्दले बताए । त्यसका बावजुद पनि भीड नियन्त्रणमा नआएपछि उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । ‘दिउँसो १२ देखि साँझ ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘निषेधाज्ञापछि अवस्था नियन्त्रणमा आएको छ ।’ अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मृतकका आफन्तले विद्यालयको लापरबाहीका कारण बालकको हत्या भएको भन्दै प्रधानाध्यापक, वडाध्यक्षसहित बसेर वार्ता गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले हत्यामा अन्य व्यक्तिको समेत संलग्नता रहेको दाबी गर्दै आएका छन् । गत आइतबार हल्दुखालको जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय बालक तिलक चन्द इन्टरवलको समयमा विद्यालयबाटै बेपत्ता भएका थिए । बुधबार साँझ उनको शव स्कुलनजिकैको खोलामा भेटिएको हो । प्रहरीले तिलकसँगै कक्षा ८ मा अध्ययनरत १७ वर्षीय आशिष अधिकारीसहित ४ जनालाई नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक अनुसन्धानमा आशिषले नै हत्या गरेको देखिएको छ । तिलकले कानमा लगाएको सुनको मुन्द्राका लागि हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको एसपी चन्दले बताए । ती मुन्द्रा आशिषबाटै बरामद भएको छ । ‘हत्या आरोपी सबै नियन्त्रणमा लिएर अनुसन्धान चलिरहेको छ,’ एसपी चन्दले भने, ‘तर पीडित अनेकथरि माग राखेर तनाव सिर्जना गरिरहेका छन् ।’ भदौ पहिलो साता सोही ठाउँका सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको पनि उनकै सहकर्मीले हत्या गरेका थिए । भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत कँुवरको राति घर फर्किने बेला उनकै सहकर्मी भानबहादुर विष्टले भीमदत्त नगरपालिका ६ ऐठपुरमा हत्या गरेका थिए । कँुवरको घाँटीमा रहेको सुनको सिक्रीकै लागि हत्या भएको प्रहरी अनुसन्धानमा देखिएको छ । उक्त सिक्री प्रहरीले विष्टको घरबाट बरामद गरेको थियो । एकपछि अर्काेगरी हत्या तथा आपराधिक गतिविधि बढ्न थालेपछि सर्वसाधारण त्रसित छन् । भदौमा मात्रै आधा दर्जनभन्दा बढी हत्यालगायत आपराधिक गतिविधि भएका छन् । गत सातामात्रै २ जना भारतीय नागरिकमाथि महेन्द्रनगरबाट फर्किरहेका बेला गोली प्रहार भएको थियो ।