भाद्र ३१, २०७४-वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ । हुन पनि म आफू गोठमा हुर्के–बढेको भएर पनि हुन सक्छ, मलाई खर्कहरू असाध्यै मन पर्छ । पछिल्लो समय विशेषत: ढोरपाटनका उपल्लो भेगमा अवस्थित खर्कहरू मेरा बिर्सनै नसकिने गन्तव्यस्थल बनेका छन् । खर्क भन्नेबित्तिकै खुला चरिचरनको क्षेत्र बुझिन्छ । विशेषत: मनसुनी सिजनमा उच्च पहाडी तथा हिमाली क्षेत्रका वनजंगल र पाटनहरूमा वस्तुभाउलाई चरिचरनका लागि प्रयोगमा ल्याइएका जमिनको सेरोफेरो नै खर्क हो । खर्क बसाल्दा वस्तुभाउ आफसेआफ एकत्रित हुन सक्ने स्थान विशेषलाई रोजिन्छ । ताकि कहिलेकाहीँ बगाल उछिट्टिएको खण्डमा गोठालोलाई ती वस्तुभाउ जम्मा गर्न सहज होओस् । त्यस्ता खर्कको विशेषता भनेको पानी, घाँसदाउरा जम्मा गर्न पायक हुनुपर्छ । वस्तुभाउको रखालो गर्ने मानिस सँगसँगै ती वस्तुभाउलाई आकर्षण गर्न सक्ने खुला ठाउँ नै वास्तवमा खर्क बन्न सक्ने उपयुक्त थलो हो । गोठलो जीवन त्यसै पनि पशुमैत्री हुन्छ । गाई, भैंसी, भेडा, बाख्रा नपालीकन गोठ निर्माण हुँदैन, खर्क बस्दैन । पूर्ण रूपले प्रकृतिको आँगनमै विचरण गरिनु नै वास्तवमा गोठालो जीवनको मौलिक शैली हो । त्यसैले गोठालाहरू पानीको मूल, दह, ढुङ्गा, रूख, जंगल, डाँडो, देउराली, हिमाललाई पूजा गर्छन् । यसरी हेर्दा गोठालाहरू आफैंमा प्रकृतिपूजक हुन् । प्रकृतिलाई आमा मात्र ठान्दैनन् जीवनरक्षा गर्ने देवताको रूपमा समेत पुज्छन् । गोठालो जीवन नियाल्दा जति सादगी देखिन्छ उत्तिकै दिलदार, सन्तुष्टि र खुसीउन्मुख चरित्र प्रस्टिएको आभास मिल्छ । तिनै गोठ तथा खर्कहरूमा विराट मनको सौन्दर्य देख्न सकिन्छ । बुकी घाँसको भारी बोकेर गोठ फर्कँदै गरेका रामदेवी र दिलमाया यसका जीवन्त साक्षी हुन् । गोठाला बसेका श्रीमान्हरूलाई रासन पुर्याउन साता दिनअघि घर बोबाङबाट गोठ उक्लिएका ती विश्वकर्माद्वय यत्तिका दिन बितेको पनि भर्खर हिजोको जस्तै लागेको बताए । ‘खर्कमा जुनी काट्नु पनि लेखेर ल्याउनुपर्ने रहेछ बाबु π’ बोझिलो लाग्ने बुकी घाँसको गर्हौं भारी बोकेका यी दुईले एकसाथ मुस्कुराउँदै भने, ‘खर्क उक्लिन पाए त अरू के खोज्नु