असार २८, २०७४-तपाईं अमेरिका जान सक्नु भएन ? तपाईं युरोप जान सक्नु भएन ? जापान जान सक्नु भएन ? दलालले पैसा खायो ? हातमा सीप, क्षमता र योग्यता छ ? अमेरिका र युरोप जान किन मरिहत्ते गर्नु हुन्छ ? तपाईं अमेरिका गएर महिनाको एक दुई हजार डलर मात्रै कमाउने हैन ? अब त्यता हैन यता आउनुस् । अमेरिका निवासी नवीन रायमाझीले गत असार ११ गते कान्तिपुरमा एउटा ब्लग लेखे, ‘अमेरिका: सबै आउनुस् तर दलालको पछि लागेर नआउनुस् ।’ यो ब्लग पढे पछि केही कुराहरु लेख्न जरुरी ठानें । धेरै जसो लेखमा प्राय: दलालको कुरा सुनेर अमेरिका नआउन अनुरोध गरिएको हुन्छ ।
अमेरिका एक खालका नेपालीका सपनाको देश हो । विश्वभरीका आप्रवासन हुने मान्छेले कल्पना गरेको स्वर्गको देश हो । अरु बेला खानदानकी छोरी वा छोरासँग माया प्रिती नै बसे पनि बिहे गर्न डराउनु पर्नेमा अमेरिका जाने भए पछि छानी छानी घरानाकी छोरी झ्याइँ झ्याइँ विवाह गर्न पाइने देश हो । अरुबेला एक दुई लाख पनि नपत्याउने साहुहरुले अमेरिकाको भिसा लागेपछि लाखौं रुपैयाँ झ्याप्प पत्याउने देश हो । त्यसैले पनि अमेरिकाको नाम लियो कि सबैलाई कता कता बाट फाइफुर्ती बढिहाल्ने । अमेरिका गए पछि वा जाने भए पछि अरुलाई मान्छे नगन्ने र आफू भने मंगल ग्रहतिरबाट झरेकै जस्तो गर्ने अनुभूति गर्न सिकाउने देश हो । अन्य जुनसुकै देशमा जाउन न अमेरिकाको पासपोर्ट बाहक भएपछि अध्यागमनका कर्मचारीको व्यवहार पनि बेग्लै हुन्छ रे । अनी दलाललाई ५० लाख खर्च गरेर यस्तो देशमा जान को तयार नहुँदो हो त ?
अमेरिका गइसकेकाले नेपालमा रहनेलाई नआइज भन्ने, नेपालमा हुनेलाई जाउँ जाउँ लाग्ने रोजाइका पहिलो देश हो अमेरिका । ताल परे सर्बसाधरणले पनि झुटो डकुमेन्ट पेश गरेर भिसा प्राप्त गरी लुकेर बस्न पाउने देश, ताल नपरे सत्य तथ्य डकुमेन्ट पेश गरे पनि नेता र ब्यापारीले घुम्न जान नपाउने देश हो । यो देशमा मान्छेहरु मरिहत्ते गरेर किन जान मन पराउँछन् ? आफ्नो स्वाभिमान र इज्जतलाई धुलिसात गर्ने गरी अमेरिकामा नेपालका उच्च स्तरका सरकारी कर्मचारी, प्रहरी सेनाका हाकिम, नेताहरु किन लुकेर बस्न मन पराउँछन् त ? अमेरिकाको भिसा लागे पछि नेपालमा सबैका दिन फिर्छन । अमेरिकाको भिसा लागेर अमेरिका जाने भए देखी नै सानो जात, ठुलो जात, धर्म, वर्ण, कालो, गोरो, होचो, अग्लो, धनी, गरीब सब समान हुन थाल्छन् नेपालमा । आखिर किन ? यस्ता प्रश्नका उत्तर बिरलै पाइन्छन् ।
मेरा एक जना नजिकका मित्र हुनुहुन्छ । उनी युएई बसेर आफ्नै ब्यापार गर्छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, लगायत विश्वका धेरै देशको भ्रमण गरिसकेका छन् । मैले उनलाई सोधे, ‘अमेरिकामा तपाईंले के पाउनु भो त्यस्तो जुन नेपालमा छैन् ?’‘नेपालमा के छ र धेरै थोक छैन, अझ भनौ केही पनि छैन,’ उनको जवाफ थियो । उनका अनुसार नेपालको आर्थिक बिकाससँग मात्र जोडिएको थिएन बरु समग्र मानब सभ्यता र मानव अधिकारसँग जोडिएको थियो ।
उनले एकदिनको एउटा सामान्य घटना सुनाए । अमेरिकी मित्रहरुसँग मिटिङको तयारी हुँदै थियो । दिउँसोको १ बजेको हुँदो हो । परिवारसहित गएका उनी आफ्नी ३ वर्षीया छोरी सँगै मिटिङमा बसेका थिए । बैठक सुरु हुन केही ढिलाई हुँदा आफ्नी ३ वर्षीय छोरी चिच्याइन्, ‘लेट्स स्टप, क्यान्सिल आवर मिटिङ’ । छोरीलाई चुप लगाउन नपाउँदै ती अमेरिकी मित्रहरु जुरुक्क उठे र भने,‘लेट्स पोस्टपोन्ड आवर मीटिङ फर टुमरो ।’ त्यस दिनको बैठक स्थगित भयो । ३ वर्षीया छोरीको कुरालाई उनीहरुले माने र अर्को दिनको लागि बैठक तय गरियो ।
तपाईंलाई अमेरिकामा लागेको खास कुरा चाँही के छ ? मानब अधिकार र विभेदरहीत समाज । म धेरै दिन अमेरिका घुमेको छु तर कसैले तँ कुन देशबाट आइस् भनेर सोध्दैन, उनले भने । जात धर्म त परैको कुरा हो भौगोलिक आधारमा पनि विभेद छैन । एसियादेखि अफ्रिका र अन्टार्टिका देखि अस्ट्रेलिया सम्मका मान्छेहरु अँटेका छन् । रैतीदेखि राजा सम्म र धनी देखि गरिबसम्म अट्न सक्ने देश अमेरिका नै हो ।
हामी नेपालमा कम्युनिजमको नारा लगाउछौं । पुँजिवाद र कम्युनिजमको आधारभूत बिशेषताहरु हेर्न अमेरिका जानु पर्छ । राज्यले नागरिकलाई शिक्षा र स्वास्थ्यमा बिभेद गर्दैन । आफ्ना नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिदिन्छ । राज्यले सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिएको छ । सामाजिक सुरक्षा भन्नाले आफ्नो र आफ्ना छोराछोरीका बसोबास, शिक्षा, स्वास्थ्यको जिम्मा राज्यले लिन्छ । बुढेसकालको भत्तामा कसैले राजनैतिक नारा लगाउन जरुरी छैन । त्यसैगरी नागरिकहरु पनि राज्यलाई कर तिर्छन् । राज्यप्रतिको उत्तरदायित्व जनताले उसै गरी निभाएका छन् । पूँजीवादको नाममा सरकारका कलकारखानाहरु कौडीका भाउमा बेचेर खाने नेताले राज्यले के कस्तो ब्यापार गर्न हुन्छ के कस्तो गर्न हुन्न भनेर हेर्न अमेरिका गए हुन्छ । मुलभूत रुपमा यिनै कारणहरुले गर्दा अमेरिका जान जो पनि मरिहत्ते गर्छन् । त्यसो त यूरोपमा पनि यी कुराहरुको उपलब्धता छ तर विश्वभर छाएको अमेरिकाको बैभव, विकास, एकछत्र हैकम आदि कारणले पनि धेरै जसोले अमेरिकाको सपना देख्ने गरेका छन ।
किन विषालु बन्यो रामकृष्णको ‘जजमेन्ट’ ?यतिबेला आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाललाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टरा…Read More