आश्विन १, २०७४-म्युजिक रियालिटी सो ‘नेपाल आइडल’ को पहिलो कन्सर्ट शनिबार सम्पन्न भयो । सैनिक मञ्च टुँडिखेलमा भएको कन्सर्टमा सोका टप थ्री प्रतियोगीले प्रस्तुति दिएका थिए । उनीहरूलाई हेर्न दर्शक बेचैन देखिए । साधना कला केन्द्र, म्युजिक एसोसिएन अफ नेपाल र वेल डान्स सेन्टरले गरेको कन्सर्टमा प्रताप दासले सुरुमा गाए । ललितपुरका प्रतापले नेपथ्य ब्यान्डको ‘रेस्सम...’ बाट वार्म–अप गर्दै ‘लिकति स्विट...’, ‘मोटरसाइकलमा...’, ‘बाँझो खेतमा...’ लगायत गीत सुनाए । उनले नेपाल आइडल र दर्शक आफ्ना लागि आमाबाबुसरह भएको बताए । प्रतापपछि मोरङका निशान भट्टराई मञ्चमा आए । उनले पनि आफूलाई यहाँसम्म ल्याइपुर्याइदिएकोमा आफ्ना फयानलाई धन्यवाद दिए । दर्शककै इच्छाबमोजिम उनले बिनाट्रयाक ‘आमाभन्दा छोरी तरुनी...’ सुनाइदिएका थिए । कुमार बस्नेतको उक्त गीतपछि उनी ‘तुलसी आँगनमा रोपौंला...’ भन्दै दर्शक झुमाउन थाले । निशानले ‘यो मन त मेरो नेपाली हो...’ गाइरहँदा दर्शक राष्ट्रिय झन्डा फहराइरहेका थिए ।
पोखराका बुद्ध लामा स्टेजमा आउँदा उनीसहित प्रशंसक पनि बुरुक्कबुरुक्क उफ्रिए । उनले प्रशान्त तामाङको गीत ‘अरे क्यानम...’ मार्फत प्रस्तुति सुरु गरे । आइडलमा गाएको ‘ऊ जितेर गई...’ पनि गुनगुनाउन भ्याएका बुद्धलाई प्रताप र निशानले पनि साथ दिएका थिए । तीनै जनाले एकअर्काको प्रस्तुतिमा सहकार्य गरिरहेका थिए । सेप्टेम्बर २२ मा कतारमा हुन लागेको ग्रयान्ड फिनालेका लागि सबै प्रतियोगीले भोट मागे । टप थ्रीको कन्सर्टअघि वेल डान्स कम्पिटिसनका प्रतियोगीले पनि आ–आफ्ना नृत्य कला देखाएका थिए ।