भिडियो सहित हेर्नुहोस !
Advertisement
आश्विन १, २०७४-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आफ्नै अहंकारले तेस्रो हैसियतमा सीमित हुन पुगेको बताएका छन् । पार्टीको पूर्वी रुकुम कमिटीले शनिबार रुकुमकोटमा आयोजना गरेको जनसभामा उनले यस्तो धारणा राखेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको माओवादी दम्भकै कारण २०७० सालको निर्वाचनमा तेस्रो पार्टीमा झरेको दाहालको भनाइ छ । ‘२०६४ को निर्वाचनबाट हामी सबैभन्दा ठूलो बनेका थियौं,’ उनले भने, ‘त्यति बेला कांग्रेस–एमाले मिल्दा पनि हामी जति थिएनन् तर २०७० सालसम्म आइपुग्दा हाम्रो दम्भ बढी भयो, त्यसैले तेस्रो शक्ति बन्नु परेको हो ।’ पार्टी सानो हुनुमा टुटफुट र अहंकार कारण रहेको दाहालले बताए । साबिक रुकुम तथा पूर्वी रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादीले जितेको भन्दै दाहालले अहंकार र दम्भ त्यागेर काम गर्न निर्वाचित पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘अब माओवादी पुन: ठूलो पार्टी बनेर आउँदै छ,’ उनले भने, ‘हामी टुटेफुटेकाहरू मिल्दै आएका छौं, सच्याएर अघि बढाउँदै छौं ।’