अब रसुवागढी-केरुङ नाकाबाट अब भारत र अमेरिकाका नागरिक पनि चीन जान र फर्कन पाउने भएका छन्। सो नाकालाई चीनले अन्तराष्ट्रिय नाकाका रुपमा बुधबारदेखि रुपान्तरण गरेपछि तेस्रो मुलुकका नागरिकले समेत आवतजावत गर्न सक्ने भएका हुन् ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयका अनुसार सो नाकालाई बुधबारदेखि अन्तराष्ट्रिय नाकामा स्तरोन्नती गरिएको हो। अन्तराष्ट्रिय नाकाको रुपमा रुपान्तरण भएपछि अब रसुवागढी-केरुङ नाकाबाट नेपाली र चिनियाँ नागरिकका साथसाथै तेस्रो मुलुकका नागरिक समेत आवत जावत गर्न सक्ने महावाणिज्यदूतको कार्यालयले जनाएको छ। चिनियाँले रसुवागढी-केरुङ नाका भविष्मा चीनलाई दक्षिण एशियासँग जोडने महत्वपूर्ण नाका हुने बताएका छन्। महावाणिज्यदूतावासका अनुसार नाकालाई अन्तराष्ट्रिय नाका बनाउनका लागि सन् २०१७ को जुनमा नेपाल र चीनका परराष्ट्र मन्त्रालयका बीच कुटनीतिक पत्र आदान प्रदान भएको थियो। सो अन्तराष्ट्रिय नाकाको रुपमा सञ्चालन भएको घोषणासहित पत्रकारलाई जानकारी गराउन चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीको उपस्थितिमा बुधबार ल्हासामा पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा तिब्बत सरकारका सहायक अध्यक्ष ल्यो मेइले ल्हासास्थित नेपाली महावाणिज्यदूतको उपस्थियितमा रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसीले लागेको बताइन्। उनले चीन तर्फ सो नाकाको भौतिक पूर्वाधार पुननिर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र नाकालाई अन्तराष्ट्रिय नाकामा रुपान्तरण गरेबाट दुई देशबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिवृद्धि हुने र यसबाट चीनको ‘वान वेल्ट वान रोड’ इनिसियटिभ कार्यान्वयनमा समेत सहयोग पुग्ने बताइन्।
पत्रकार सम्मेनलमा ल्हासास्थित महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले रसुवागढी-केरुङ नाकालाई अन्तराष्ट्रियस्तरको बनाइएबाट दुई मुलुक बीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने बताए। नेपालले चीनको ओवीओर इनिसियटिभमा हस्ताक्षर गरिसकेको स्मरण गराए। दुई मुलुकले कनेक्टीभिटी एवं व्यापार, पर्यटन र लगानी प्रवद्धनलाई जोड दिएको उल्लेख गर्दै कार्कीले ०७२ वैशाखमा आएको भूकम्पले अवरुद्ध हुन पुगेको नेपाल र चीनबीचको ऐतिहासिक तातोपानी खासा नाका पुन सञ्चालनमा ल्याई दुबै मुलुकको सहमति थप नयाँ नाकाहरु खोल्दै जानु पर्ने बताए। पत्रकार सम्मेलनमा तिब्बत सरकारका अन्य पदाधिकारीहरुले रसुवागढी केरुङ नाका अन्तराष्ट्रिय स्तरमा सञ्चालनमा आएपश्चात व्यापार तथा पर्यटन प्रवद्र्धन भइ दुवै मुलुकलाई फाइदा हुने बताएका थिए। नेपाल र चीनका स्वशासित क्षेत्र तिब्बत क्षेत्रबीच रहेको रसुवागढी नाका ०७१ मंसिर १५ गतेदेखि द्विपक्षीय नाकाको रुपमा सञ्चालन हुँदै आएको थियो। सो नाकाबाट नेपाली र चिनियाँ नागरिकहरु वैधानिक रुपमा राहदानी र भिसा लिएर एक अर्का मुलुकमा आवत जावत गर्दै आएका थिए।