सवारी साधनसँगै स्पेयर पार्टसमा पनि उत्तिकै भीडभाड छ । हाम्रो मुख्य उद्देश्य ब्रान्डिङ भए पनि बुकिङ उल्लेख्य रूपमा बढेको छ,’ महासचिव दुलालले भने ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १५, २०७४- नाडा अटो मोबाइल एसोसिएसन अफ नेपाल आयोजनामा सुरु अटो प्रदर्शनी दुई दिनमा २२ हजारले अवलोकन गरे । आयोजकका अनुसार सर्वसाधारणको आकर्षण बढ्दै गइरहेको छ । सहभागीको संख्याबाट आफूहरू उत्साहित भएको प्रदर्शनी आयोजकले जनाएको छ । ‘अवलोकनर्ताको संख्या दैनिक बढेको छ । सवारी साधनको बुकिङ पनि सोहीअनुसारले बढेको छ,’ प्रदर्शनीका सयोजक शम्भु दाहालले भने, ‘सहभागीको संख्याबाट उत्साहित छौं ।’ आयोजकका अनुसार पहिलो दिनमा १० हजार (टिकट र पाससहित) ले अवलोकन गरेका थिए । दोस्रो दिनमा १२ हजार टिकट बिक्री भएको जनाएको छ ।
प्रदर्शनीको मुख्य आकर्षण नै नयाँनयाँ ब्रान्डसहितका कम्पनीको सहभागिता रहेको आयोजकको दाबी छ । प्रदर्शनीमा अधिकांश नयाँ उत्पादन राखिएका छन् । जसमा नयाँ मोडलसमेत प्रदर्शनीमा राखिएको आयोजक दाहालको भनाइ छ । ‘प्रदर्शनी प्रवेशका लागि सर्वसाधरणलाई २ सय र विद्यार्थीलाई १ सय ५० रुपैयाँ निर्धारण गरेका छौं । पैसा तिरेर पनि सवारी मेला अवलोकन गर्न आएका छन्,’ उनले भने, ‘अवलोकनकर्ताहरू उत्साहित छन् । व्यवसायीमा थप उत्साह ल्याएको छ ।’आयोजकका अनुसार अघिल्लो वर्ष ७४ कम्पनीको सहभागिता थियो । यस वर्ष ९० कम्पनी सहभागी छन् । दाहालका अनुसार नेपालमा बिक्री वितरणका लागि अनुमति लिएका एजेन्सीहरूमध्ये ९९ प्रतिशत अटो व्यवसायीको सहभागिता छ । ‘प्रदर्शनीमा कम्पनीसँगै बुकिङ पनि धमाधम भएको छ,’ उनले भने । ग्राहकले दसैंका लागि अहिले नै बुकिङ सुरु गरेको जनाएको छ । हाल बुकिङको संख्या यकिन नभए पनि प्रदर्शनी अवधिमा २ सय ९० करोड रुपैयाँको बुकिङ हुने आयोजकको दाबी छ ।
नाडा मेलाबाटै दसैं सुरु हुने हुँदा प्रदर्शनीले धेरै उत्साह ल्याएको नाडाका महासचिव कृष्ण दुलालले बताए । मेलामा बुकिङ गर्नेको संख्या बढे पनि मुख्य उद्देश्य ब्रान्डिङ रहेको आयोजकले जनाएको छ । ‘सवारी साधनसँगै स्पेयर पार्टसमा पनि उत्तिकै भीडभाड छ । हाम्रो मुख्य उद्देश्य ब्रान्डिङ भए पनि बुकिङ उल्लेख्य रूपमा बढेको छ,’ महासचिव दुलालले भने । प्रदर्शनीमा सर्वसाधारणहरू दुईपांग्रे सवारीमा भीड बढेको आयोजकले जनाएको छ । दुईपांग्रे सस्तो र सबैको पहुँचका कारण मोटरसाइकल/स्कुटर अवलोकनकर्ताको भीड बढेको हो । यही अवसरमा कम्पनीहरूले आकर्षक छुटको योजना पनि सार्वजनिक गरेका छन् । छुट र अफरले सर्वसाधारण आकर्षित भएको आयोजकको दाबी छ । आयोजकका अनुसार प्रदर्शनीमा सहभागी सबै कम्पनीले केही न केही छुट र अफर दिएका छन् । ‘कम्पनीहरूले लाखौं रुपैयाँसम्म छुट दिएका छन् । बिमा र बैंकको सुविधा पनि एकै थलोमा छ,’ संयोजक दाहालले भने, ‘सबै प्रकारको सुविधा एकै थलोमा हुँदा आकर्षण बढेको छ ।’
प्रदर्शनीमा प्राय: सबै ब्रान्डका सवारी साधन राखिएका छन् । व्यवसायीका १ सय ३० स्टल छन् । आयोजकका अनुसार प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, ६ ब्रान्डका हेबी इक्विपमेन्ट र ८ ब्रान्डका लुब्रिकेन्टहरू सहभागी छन् । ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्विपमेन्ट पनि राखिएको जनाइएको छ । १० वटा बैंक तथा वित्तीय संस्था, दुईवटा बिमा कम्पनीको पनि सहभागिता छ ।
प्रवेश टिकटमा आकर्षण बढाउन ‘आईएमई अटोमोटिभद्वारा यूएन रेनोगेट कमान्डौ २३० सीसी’ को मोटरसाइकल डोर प्राइसका रूपमा व्यवस्था गरेको जनाइएको छ । यो वर्ष ब्रान्ड एम्बेसडरका रूपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई नियुक्त गरेको आयोजकले जनाएको छ । प्रदर्शनीभरि ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Related Posts: