यार्साबाट १ करोड राजस्व

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १३, २०७४- यार्सागुम्बुको छोडपुर्जी दिएबापत जिल्ला वन कार्यालय बझाङले १ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत वर्षभन्दा झन्डै ४० लाख रुपैयाँले बढी हो ।
यार्साको उत्पादन बढेसँगै वन कार्यालयले उठाउने राजस्वमा वृद्धि भएको हो । विगत ४/५ वर्षदेखि यार्साको उत्पादनमा ह्रास आइरहेकामा यस वर्ष बढेको छ । वन कार्यालयले जिल्ला बाहिर यार्सागुम्बु लैजाने अनुमति दिँदा प्रतिकिलो २५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । यस वर्ष करिब ४ सय किलोग्राम यार्साको संकलन अनुमति लिएकामा ३ सय ६८ किलो निकासी भइसकेको छ । यसबाट ९२ लाख रुपैयाँ राजस्व संकलन भइसकेको वन कार्यालयले जनाएको छ । बाँकी यार्सा पनि यसै महिनाभित्र जिल्ला बाहिरिइसक्ने र राजस्व १ करोड रुपैयाँको हाराहारीमा पुग्ने वन कार्यालयका नायब सुब्बा गजाधर जोशीले जानकारी दिए । यार्सागुम्बुबापत संकलन भएको यो राजस्व ६ वर्षयताकै बढी हो । ०७० सालमा ३ सय ८२ किलो यार्साको राजस्व ९५ लाख ५० हजार रुपैयाँ संकलन गरेको तथ्यांक छ ।
यार्साको उत्पादनमा आएको गिरावटले बझाङ हिमाली भेगका बासिन्दाको जनजीवनमा पनि असर परेको थियो । झन्डै १० वर्षसम्म मजदुरीका लागि भारत जान बन्द भएका काँडा, सुर्मा, दौलीचौर, दहबगर, दाँतोलालगायतका बासिन्दाहरू भारतको मजदुरीमा जान सुरु गरेका छन् । कोही खेतीपाती र पशुपालनतिर लागेका छन् । कतिपयले सदरमुकाममा बनाउन सुरु गरेका घरहरूसमेत २/३ वर्षदेखि अधुरै छन् । यार्साका कारण एकाएक अकासिएको सदरमुकामको जग्गाको मूल्य पनि पछिल्लो समय सस्तिन थालेको थियो ।
यस वर्ष यार्साको उत्पादनमा वृद्धि भएपछि संकलकहरू खुसी छन् । गत वर्ष ३ सय ग्राम यार्सा पाएका दौलीचौरका गणेश बोहराको परिवारले यस वर्ष १ किलो ५ सय ग्राम भेटिएको बताए । ‘सबैले यो वर्ष पहिलाभन्दा बढी यार्सा भेट्टाएका छन्,’ बोहराले भने, ‘यो वर्ष ४/५ वर्ष पहिले जस्तै गरी यार्सा पाइएको छ ।’ यो वर्ष काँडाको राइढुंगी, माझा, फरालखेत, स्याङवन र सुर्मा गाउँपालिकालगायतका क्षेत्रमा यार्सागुम्बु राम्रो पाइएको संकलकले बताए । ‘गत वर्ष दिनभर खोज्दा धेरै भेट्टाउनेले २० वटा मात्र पाउँथ्यो,’ सुर्माका लखन बोहराले भने, ‘यो वर्ष एकैदिन १ सयसम्म पनि भेटाए ।’
हिउँ पर्न पुस महिनादेखि नै सुरु भएर वैशाखसम्म बेलाबेलामा परेकाले यस वर्ष यार्सा सप्रिएको संकलकको अनुमान छ । गत वर्ष बर्खामा वर्षा राम्रै भएकाले यार्सा उत्पादन बढेको हुन सक्ने काँडाका वसन्त बोहराले बताए

Related Posts: