हरेक दर्शकको मुटु धड्काउने हजार सपनाको एउटै मञ्च ‘नेपाल आइडल’

भिडियो सहित हेर्नुहोस !
Advertisement


विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट सुजाता पाण्डे, प्रताप दास, सागर आलेमगर, निशान भट्टराई र बुद्ध लामा ‘टप फाइभ’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् । उनीहरूका गायनयात्रा, अनुभव र अपेक्षा यस्ता छन् :

‘नेपाल आइडल’ का उत्कृष्ट ७ मध्ये एक प्रतियोगी बाहिरिनेवाला थियो । गाला राउन्डको यो तीव्र प्रतिस्पर्धा हेर्नेकै मुट कत्ति धड्किइसकेको हुन्थ्यो, भिड्नेको हाल के होला ! २७ साउनको यो रोमाञ्चक भिडन्तमा प्रमिला राई, सागर आलेमगर र प्रताप दासले गाए, ‘उकालीमा जाँदाजाँदै दाहिने पर्‍यो वर..।’ सांगीतिक माहोलको एकैछिनपछि प्रमिला राई नेपाल आइडलबाट बाहिरिएको घोषणा भयो । गाउन्जेल ठिकठाकै थिए । भरमार दर्शक झुमाएकी प्रमिलाको स्नेहमा दर्शकहरूको आँशु बग्न थालिसकेको थियो । मञ्चमै रहेका सागर र प्रताप त रुनै थालिसकेका थिए ।

आइडलको ‘टप सिक्स’ बाट बाहििरएका सुरज थापा भन्छन्, ‘लामो समय सँगै बस्दा हामी एकै परिवारझैं भइसकेका छौं । कोही पनि टाढा नहोस् भन्ने हाम्रो चाहना हुँदा पनि प्रत्येक साता एकजनाले छोडेर जाँदा आँखा रसाउँछ ।’ त्यसो त, एकपछि अर्को गर्दै प्रतिस्पर्धी बाहिरिँदा नेपाल आइडलका निर्णायकलाई पनि न्यास्रो लाग्छ । प्रतियोगितामा संगीतकारद्वय न्ह्यु बज्राचार्य र कालीप्रसाद बाँस्कोटा अनि गायिका इन्दिरा जोशी निर्णायक छन् । आशलाग्दा प्रतिभा प्रतियोगिताबाट बाहिरिँदा दुःख लाग्ने बताउँछन्, निर्णायक मण्डलका सदस्य बास्कोटा । तर, यसलाई प्रतिस्पर्धाको नियमको रूपमा मात्र बुझ्दा सहज हुने उनको भनाइ छ । ‘यो प्रतिस्पर्धा गायनमा मात्र होइन । यसको मुख्य लक्ष्य नेपाल आइडल बनाउने पनि हो,’ उनले भने, ‘सबैको प्रतिभा एकदमै उत्कृष्ट छ । खेलको नियमअनुसार मात्रै बाहिरिनु परेको हो ।’
परिवारजस्तै साथीहरू
नेपाल आइडलको अन्तिम छनोटका क्रममा हरेक साता एक जना बाहिरिन्छन् । त्यो क्षण, परिवारको एक सदस्य गुमाएको जस्तै अनुभव हुने बताउँछन्, सहभागी निशान भट्टराई । भन्छन्, ‘अनायासै आँशु आउँछ । तर, आफू एक स्टेप अगाडि बढेँ भन्ने कुराले चित्त बुझाउनुपर्छ ।’ बिदाइमा रुनेहरूमा निशान मात्रै पर्दैनन्, सागर आले मगरलाई त साथीहरूले रुन्चे भनेर जिस्काउन थालेका छन् । साथीसँग छुट्टिँदा उनको आँशु बगिहाल्छ । ‘यस्तो अवस्थामा म सम्हालिनै सक्दिनँ,’ उनले भने । आइडलका साथीलाई परिवारजस्तै ठान्छन्, प्रताप दास । ‘साथी बाहिरिएको घोषणा हुँदा ऊसँग बिताएका पलहरू सम्झना हुन थाल्छन् । र, आँशु आउँछ,’ उनले थपे, ‘अबका ‘पर्फमेन्स’मा ऊ मसँग हुँदैन, उसका गीतहरू सुन्न पाइँदैन, मेरो छेउमा अब ऊ बस्ने छैन, जस्ता कुराहरू सोचिन्छ । साँच्चै, त्यो क्षण पीडादायी हुन्छ ।’

Related Posts: