काठमाडौं : नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी अन्तिम चरणमा पुगेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
दुई वर्षपछि नेपालले आयोजना गर्नुपर्ने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको लागि नियमित प्रक्रियामा रंगशाला पूनर्निर्माण कार्य गरे ढिलो हुने देखिएकोले द्रुत गतीमा निर्माण कार्य गर्न सेनालाई जिम्मा दिन लागिएको खेलकुद मन्त्री दलजित श्रीपाइलीले बताए।
खेलकुद मन्त्रालय र नेपाली सेनाका अधिकारीबीच यसबारे धेरै पटक छलफल भइसकेको बताइएको छ। तर सेनाले काम गर्नु अगाडि मन्त्रिपरिषद्को निर्णय चाहेकोले त्यसतर्फ मन्त्रालयको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता राम थपलियाले बताए।
दुई वर्ष अगाडि गएको महाभूकम्पमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको अधिकांश भागमा क्षति पुगेको थियो। दशरथ रंगशालाको अधिकांश भाग मर्मत गर्नुपर्ने विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय खेलकुद परिषदले दुई वर्षका बिच रंगशालाको क्षतिको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र रंगशाला भत्काउनका निम्ति बोलपत्र आह्वान पनि गरिसकेको जनाएको छ।
यता खेलकुद मन्त्रालयले द्रुत गतिमा काम गर्नका निम्ति सेनालाई पूनर्निर्माणको जिम्मा दिन निर्देशन दिएपछि काम स्थगन गरिएको परिषदका अधिकारीले बताएका छन्। रंगशालाको निर्माणको प्रक्रियागत अनुरोध आए त्यसलाई पुरा गर्न तयार रहेको सेनाका प्रवक्ता झंकरबहादुर कडायतले बताए। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन स्थल दशरथ रंगशालाको पुनर्निर्माण सन् २०१९ को मार्च महिनासम्ममा सम्पन्न गरिसक्ने सरकारको तयारी छ।