केपी ओलीले मतदातालाई नै प्रश्न गरेछन् कि जनता किन भोट हाल्छन्, कांग्रेसलाई ? तर यो प्रश्न कांग्रेसलाई मात्र किन ? ठिक यही प्रश्न एमालेका सन्दर्भमा पनि त सोध्न सकिन्छ । एमालेलाई भोट हाल्ने के कारण छ, जनतासँग ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १६, २०७४- स्थानीय निर्वाचन २०७४ को पहिलो चरण सकियो । अनिश्चितता र अन्योलबीच पत्तै नपाई वैशाख १९ गते आयो । हतार–हतारमा उम्मेदवारहरूको मनोनयन भयो । हतार यति धेरै कि कतिपय उम्मेदवारलाई आफ्नो उम्मेदवारीबारे १८ गते रातिसम्म थाहा थिएन । त्यसपछिका बाँकी १० दिन ढोगभेटमै बित्यो र वैशाख ३१ गते पनि आइहाल्यो । अन्तत: चुनाव भयो । गजब भयो । यद्यापि भन्नैपर्छ, चुनावमा के–के नपुगे जस्तो भयो । सीमित समय, राजनीतिक अन्योल र आशंकाका कारण चुनाव उत्सव बन्न सकेन । मूलत: चुनावी अभियानले जनतालाई गहिरो राजनीतिक सचेतना र इतिहास बोध गराउनुपथ्र्यो, त्यो भएन । चुनाव त भयो, तर यसले राजनीतिक ‘डिस्कोर्स’ निर्माण गरेन । नत मतदाताहरूले उम्मेदवारको परख गर्न पाए, न विकल्पमाथि गम्भीर बहस नै भयो । परिणाम स्थानीय तहमा परम्परागत सत्ता र संस्थापनको बर्चस्व यथावत रह्यो । यसलाई तोड्ने वैकल्पिक शक्तिहरूको तयारी पुगेन ।
मतगणना चलिरहँदा एमाले अध्यक्ष केपी ओलीको निकै गहिरो कटाक्ष सुन्नमा आयो । धुलिखेल वनेपातिरको कुनै सभामा उनले मतदातालाई नै प्रश्न गरेछन् कि जनता किन भोट हाल्छन्, कांग्रेसलाई ? निश्चय नै कांग्रेसलाई भोट हाल्नुपर्ने कुनै कारण छैन । यसो भन्नका लागि अनेकौं जीवित तथ्य सामुन्ने छन् । तर यो प्रश्न कांग्रेसलाई मात्र किन ? ठिक यही प्रश्न एमालेका सन्दर्भमा पनि त सोध्न सकिन्छ । एमालेलाई भोट हाल्ने के कारण छ, जनतासँग ? २०४६ पछिका अनेकौं घटनाहरू साछी छन्, जसले एमालेलाई समेत हतकडी भिराउँछन् । ठिक यही कुरा माओवादीमा पनि त लागु हुन्छ । तर भयो, उही इतिहासको निरन्तरता । उही गतिहीनताको निरन्तरता । यो घटनाले नेपाली राजनीतिमा केही प्रश्न पुनर्निर्माण गर्छ । के नेपाली मतदातामा युगबोध गर्ने चेतना र साहस छैन ? अथवा के नेपाली राजनीतिमा पुरानो बर्चस्वको अन्त्य भएको छैन ? अवथा के नेपालमा अझै वैकल्पिक राजनीतिक युग सुरु भएको छैन ? यी प्रश्न नयाँ शक्तिहरूको महत्त्व पुष्टिका लागिमात्र आवश्यक छैनन् । बरु नयाँ र वैकल्पिक शक्तिहरूको सीमा, संकीर्णता र चुनौती बोध गर्नका लागिसमेत आवश्यक छन् ।

वैकल्पिक राजनीतिको कुरा गर्नु परम्परागत राजनीतिक बर्चस्वको सत्तोसराप गर्नु होइन । यो नत एमाले, कांग्रेस र माओवादीहरूको विरोध गर्नु हो, न वैकल्पिक राजनीतिको सानो र शुद्ध चौघेरा बनाउनु । बरु यो त यस्तो ब्यापक राजनीतिक पहल हो, जसले भविष्यका लागि अनेकौं सुन्दर सम्भावना सिर्जना गरोस् । प्रश्न आउँछ, के हामीसँग यस्तो राजनीतिका लागि जमिन छ ? निश्चय नै । यसका लागि हामीसँग निकै मजबुत प्रश्न र बलियो वस्तुगत आधार छ । जस्तो– हामी किन गरिब छौं ? हामी किन कमजोर छौं ? आधासरो नेपाली किन गाँस, बास र कपासको अभावमा छन् ? थोरै दूरदराज बस्तीहरू चहार्दा देखिन्छ, हाम्रा केटाकेटी स्कुल हैन, गोठालो जाँदैछन् । हामीसँग अस्पताल छैन, औषधी छैन, खानेपानी छैन । सिंचाइको अभावमा खेत बाँझै छन् । दैनिक १५ सय आसपास युवा विदेशमा श्रम गर्न जान्छन् । सडकमा परेको खाल्डो पुर्न वर्षौं लाग्छ । तीन वर्ष भयो, भूकम्पले भत्किएका घरहरू अझै उठेका छैनन् । भ्रष्टाचार चर्को छ । सरकार अस्थिर छ । शान्ति सुरक्षा छैन । लोकतन्त्रका नाममा भद्दा सिन्डिकेट छ । अहंकारी नेताहरू छन् । विभेद र विभाजनको राजनीति हुर्कंदो छ । हरेक मान्छे आफ्नो भविष्यप्रति चिन्तित छन् । किन यस्तो छ ? किनभने हाम्रो परम्परगत राजनीतिले दिएको उपहार नै यही हो । के यो सबले वैकल्पिक राजनीतिको आवश्यकता पुष्टि हुँदैन ? तर फेरि किन हामी २० वर्षपछि पनि जहाँको तहीं फन्को मारिरहेका छौं ? हामी फेरि किन शेरबहादुर, केपी र प्रचण्डको अंकगणितलाई तोड्न सक्दैनौं ? जब इतिहास बोध गर्ने बेला आउँछ, हाम्रा विश्लेषक, बुद्धिजीवी र सचेत नागरिक सधंै अलमल गर्छन् । अन्यथा खराब इतिहासलाई निरन्तरता दिन केले बाध्य पार्छ, हामीलाई ? यो पुराना दलहरूको, मतदाताको, हाम्रो मनोविज्ञानको समस्या त हो नै, तर समस्या वैकल्पिक पार्टीहरूमा पनि त देखियो । बलियो विकल्प नदिनुको समस्या । आशा गरौं, पछिल्लो चुनावी शिक्षा, अनुभव, अभ्यास र अंकगणितमाथि वैकल्पिक शक्तिहरूले गम्भीर समीक्षा गर्नेछन् ।

व्यावहारिक कमजोरी
नयाँ शक्ति पार्टी, साझा पार्टी र विवेकशील पार्टीलाई नेपालका वैकल्पिक पार्टीहरू भन्ने हो भने यी तीनवटै पार्टी यो निर्वाचनमा अलमलमा देखिए । मुख्यत: पछिल्लो राजनीति यति धेरै दुविधा, अन्योल र अस्तब्यस्त बन्यो कि त्यसलाई छिमल्ने गम्भीर प्रस्ताव वैकल्पिक पार्टीहरूले दिन सकेनन् । स्वभावत: पुरानाहरू सत्ता र शक्तिको स्वार्थमा थिए नै, नयाँहरूको अलमल आफैमा निकै निराशाजनक बन्यो । चुनाव हुन्छ कि हुन्न ? संविधान संशोधन के होला ? मधेस समस्याको समाधान कसरी गर्ने ? यी प्रश्नमा वैकल्पिक पार्टीहरू साक्षी त बने, तर राजनीतिक निकासका पहलकर्ता बन्न सकेनन् । यसको अर्थ उनीहरूको पहलले परिणाम दिन्थ्यो भन्ने होइन । तर यसले उनीहरूको वैकल्पिक नेतृत्व ‘क्षमता र इमेज’ स्थापित हुने थियो ।
वैकल्पिक पार्टीहरू केही व्यावहारिक संकटमा फँसे । पहिलो, चुनाव चिन्हको संकट । दोस्रो, मधेसको दुविधा । तेस्रो, सहकार्यको अलमल । चौथो, वैकल्पिक पार्टीको जमिन निर्माण । पाँचौं, स्रोत परिचालनका सीमा । चुनावको मुखैमा आइपुग्दा पनि नयाँ शक्ति पार्टीले चुनावको तयारी गरेन । त्यो अलमलले कार्यकर्तामा दुविधा सिर्जना गर्‍यो । विवेकशील राजधानी केन्द्रित र सानो इकाइबाट अगाडि बढ्ने रणनीतिमा देखापर्‍यो । त्यो उसका लागि सजिलो उपाय थियो । साझा पार्टी ‘थोरै तर राम्रो’को सिद्धान्तमा गयो । उसले समकालीन राजनीतिका पछिल्ला संकटमा यति धेरै तटस्थता देखायो, जुन आश्चर्यजनक थियो । यस्तो चरित्र एउटा राजनीतिक पार्टीका लागि सुहाउने कुरै थिएन । सधैं ‘कम्फर्ट जोनमा’ बसेर राजनीति गर्छु भन्नु यात राजनीति नबुझ्नु हो अथवा नगर्नु हो । यी आ–आफ्नै खाले सीमा थिए । जसलाई वैकल्पिक पार्टीहरूले तोड्न सकेनन् । परिणाम जनताले यात विकल्प के छ, थाहा पाएनन् अथवा पत्याएनन् ।
हिजो कम्युष्टिहरूमा विचित्र विश्व चेतना देख्न पाइन्थ्यो । उनीहरू चीन, सोभियत संघ, फिलिपिन्सदेखि पेरुसम्मको कम्युनिष्ट आन्दोलनसँग रमाउँथे । उनीहरू उताको जितमा यता अविरजात्रा गर्थे । तर यताको जितसँग उनीहरूको कुनै लगाव र उत्साह हुन्थेन । यो संकट नेपालका वैकल्पिक पार्टीहरूमा पनि देखा पर्दैछ । उनीहरू कहिले दिल्लीमा आपको सफलताबाट फुरुंग हुन्छन् त कहिले डेनमार्कको अल्टरनेटिभ पार्टीसँग मख्ख पर्छन् । फ्रान्सको पछिल्लो निर्वाचनले उनीहरूलाई मखलेल बनाउँछ । तर जब आफ्नै घरभित्रको कुरा हुन्छ, उनीहरूको उदासी र सम्वादहीनता ताज्जुबलाग्दो बन्न पुग्छ । जस्तो, हाम्रा वैकल्पिक पार्टीहरूले आफैभित्रको सहकार्य र प्रतिस्पर्धाका क्षेत्र निर्माण गर्न सकेनन् । नत साझा ज्ञानको संश्लेषण गरे, न सद्भावको सम्प्रेषण । एउटाले अर्कोलाई सहयोग गर्ने क्षेत्र के हुन् र कहाँ प्रतिस्पर्धा गर्ने ? यस्ता प्रश्नमा हाम्रा वैकल्पिक पार्टीहरू थोरै पनि ‘ओपन र एक्टिभ’ भएनन् ।
यस्तो किन भयो ? किनभने आफूमात्र वैकल्पिक पार्टी हुनुको आत्मरति नयाँ दलहरूमा देखा पर्दैछ । जसरी दर्जनांै कम्युनिष्ट पार्टीहरू आफू शुद्ध कम्युनिष्ट पार्टी भएको आत्मरतिमा रमाउँछन् । ठिक यही भ्रम वैकल्पिक पार्टीहरूमा जन्मँदैछ । अन्यथा सद्भावकै लागि पनि नयाँ शक्ति पार्टीले विवेकशील र साझा पार्टीलाई सहयोग गर्न सक्थ्यो । अथवा विवेकशील र साझा पार्टीमा सहकार्य हुनसक्थ्यो । अथवा अरुले नयाँ शक्तिलाई सहयोग गर्न सक्थे । यदि तीनवटै पार्टीको सहकार्य हुँदो हो त काठमाडौंमा निकै सुखद परिणाम आउने देखियो । सायद यस्तो अवसर दोस्रो चरणमा पनि देखापर्न सक्छ । भनिन्छ, अँध्यारोको साम्राज्यलाई तोड्न चाहने जुनकिरीहरूले मिलेर उज्यालो छर्नुपर्छ । यो सत्यलाई वैकल्पिक पार्टीहरूले आत्मसात गरेनन् । अब गर्नुपर्छ ।

राजनीतिक दुविधा
नयाँ शक्ति निश्चय नै वैकल्पिक शक्ति हो । यसले अझ गहिरो लोकतन्त्र, समावेशीकरण, सुशासन, विकास र समृद्धिको जुन प्रस्ताव गरेको छ, त्यो नेपालको सन्दर्भमा नयाँ र महत्त्वपूर्ण छ । तर यो पार्टीमा अझै दुइटा द्विविधा छन् । पहिलो, यो पार्टीमा परम्परागत कम्युनिष्ट मोह सुस्त तर जब्बर्जस्त छ । दोस्रो, त्यसबाट मुक्त भएकाहरू पहिचानको प्रेममा छन् । कम्युनिष्ट हुनु र पहिचानमा मात्र अल्झिनु दुवै वैकल्पिक कुरा हुँदै होइन । यो दुविधाबाट नयाँ शक्ति निस्किनुपर्छ र आफू स्पष्टत: वैकल्पिक पार्टी भएको पुष्टि गर्नुपर्छ । अन्यथा आफ्नो जमिनको रक्षा गर्न नसक्ने हो भने उभिनका लागि कसैले एक इन्च जमिन पनि दिनेवाला छैन ।
यसैगरी विवेकशील असाध्यै शुद्ध विकासवादी पार्टी देखियो । विकास र राजनीतिको बहुआयामिक साइनो र अन्तरसम्बन्धमा यो पार्टी गम्भीर देखिँदैन । केही असल शुद्ध मान्छेहरू मिलेर राजनीतिको बेडा पार लगाउन सकिन्छ भन्ने उसको शैली युटोपियन समाजवादीहरूको कल्पनाजस्तै लाग्छ । साझा पार्टीको खतरा मध्यमवर्गीय आदर्श र शैली हो । यो पार्टी कुनै पनि विवाद, मुद्दा र संकटमा नफँस्ने मनोविज्ञानबाट ग्रसित छ । राष्ट्रिय राजनीतिका मूल मुद्दामा तटस्थ बसेर कसरी हुन्छ ? सधैं आरामदायी क्षेत्रमा बस्नेहरू लोकप्रिय त हुन्छन्, तर बलियो हुँदैनन् । लोकप्रियताको राजनीति वैकल्पिक हुनसक्दैन ।

गाडी नछुटोस्
विगत ७० वर्षदेखि चलनचल्तीको राजनीति गर्ने ठूला शक्तिहरूसँग चलनचल्तीकै ढाँचामा प्रतिस्पर्धा गर्नु सम्भव छैन । उनीहरूसँग सबैथोक छ । लामो राजनीतिक विरासत, सत्ता, शक्ति, समय, स्रोत । वैकल्पिक पार्टीहरूसँग आफू विकल्प हुनुको बलियो आधार बाहेक अरु केही पनि छैन । जे छ, त्यही चिज नै गुम्यो भने के हुन्छ ? यसर्थ नै वैकल्पिक पार्टीहरूले आफ्नो जमिनको रक्षा गर्नु बाहेक अर्को बाटो देखिँदैन । किनभने वैकल्पिक हुनुको जमिन रह्यो भने उभिनका लागि त फेरि पनि समय आउँछ । राजनीति एउटा चुनावमा सकिँदैन । किनभने चुनाव त पटक–पटक आउँछन् । आजै आत्तिनुपर्ने कोही बात छैन । मात्र एउटा कुरा अँध्यारोमा जुनकिरीझैं बलिरहनुपर्छ, यो आसमा कि भोलि उज्यालो हुनेछ । अन्यथा फेरि पनि थकान, दुविधा र अलमल गरे इतिहासको गाडी छुट्नेछ । त्यसपछि भने बुझ्नुपर्छ, वैकल्पिक राजनीतिको लामो यात्रा गोरुगाडाबाट पार लाग्दैन ।

Related Posts: