जानी राखौं, वास्तुशास्त्र अनुसार कुन व्यवसायका लागि कुन दिशा उत्तम ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


सामान्यतया कुनै पनि व्यक्तिले आफ्नो क्षमता, योग्यता तथा चाहनाअनुसार एउटा न एउटा पेसा अपनाइरहेको हुन्छ । सोही पेसामा सफल हुँदै गएपछि जग्गाजमिन खरिद गर्ने तथा घर बनाउने गर्छ । आफ्नो व्यवसायमा सफल भए पनि जग्गाजमिन खरिद तथा भवन निर्माण गर्दा गलत दिशा छनोट गर्न पुग्यो भने त्यसले व्यावसायिक तथा निजी जीवनमा नै असर पुर्‍याउन सक्छ । नयाँ सहर तथा बस्ती निर्माण गर्दा पेसाकर्मी तथा व्यवसायअनुसार सही दिशाको जमिन छुट्याउनु आवश्यक पर्छ ।

यसले सहर तथा जनताको समृद्धिमा लाभ पुग्छ । त्यसैले जमिन तथा घर खरिद गर्नुअगाडि वास्तुशास्त्रको नियम जान्नु फाइदाजनक हुन्छ । त्यसका लागि धेरै खर्च गरेर विज्ञ अथवा ज्योतिषकहाँ धाउनु पनि पर्दैन । कर्मअनुसार आफ्नो पेसा छानिसकेपछि पेसा परिवर्तन गर्न सम्भव हुँदैन । कर्मको आधारबाट नै लक्ष्य तयार हुन्छ । यस कारण कर्मको आधारमा आफ्ना लागि उपयुक्त बसोवास÷व्यवसाय गर्न उत्तम दिशा छनोट गर्नु महत्वपूर्ण हुन्छ ।कुनै पेसा गर्ने पेसाकर्मीका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने सिद्धान्त प्राचीन सभ्यतामा पहिले नै निर्धारण गरिएको हुन्थ्यो । सोही कारण निश्चित दिशामा सीमित व्यवसाय मात्रै गर्ने प्रचलन थियो । वास्तुको सिद्धान्तअनुसार आफ्नो पेसालाई उपयुक्त दिशा कुन हो भन्ने जानकारी प्राप्त गर्नु महत्वपूर्ण हुन्छ ।

उत्तर–पश्चिमदेखि उत्तर–पूर्वसम्म
यो दिशा भएको क्षेत्रमा शिक्षक, गुरु, प्रोफेसर, ज्योतिष, परामर्शदाता तथा शिक्षा व्यवसायीलाई उपयुक्त हुन्छ । कुनै पनि विषयमा शैक्षिक मार्गबाट विज्ञता हासिल गरेका व्यक्तिलाई यो दिशा लाभदायक हुन्छ । यस्ता व्यक्तिहरूले उत्तर फर्केको घर बनाउनु आफू र परिवारका सदस्यहरूलाई पनि लाभ हुन्छ ।

पूर्वदेखि पूर्व–दक्षिणसम्म
सञ्चारकर्मी, राजनीतिज्ञ, सरकारी कर्मचारी, गैरसरकारी संस्थामा काम गर्नेहरू, खाद्यान्न व्यवसायीहरू, सेना तथा सशस्त्र प्रहरीहरू, हस्तकलासम्बन्धी काम गर्नेहरूका लागि यो दिशामा घर बनाउनु उत्तम हुन्छ । सो स्थानको जग्गामा घर बनाउँदा मूल ढोका भने पूर्व फर्केको हुनुपर्छ ।

पूर्व–दक्षिणबाट दक्षिणसम्म
वकिल, ठूला घरानाका उद्योगी व्यवसायी, होटेल र रेस्टुरेन्ट, मासु व्यवसायी, चालक, नृत्य कलाकार, निजी संस्थाका उच्च ओहोदाका व्यक्तिहरूलाई यो दिशामा घर बनाउनु फाइदाजनक हुन्छ । यस्ता व्यक्तिहरूले दक्षिण मोहोडा भएको घर बनाउने या खरिद गर्नु उपयुक्त हुन्छ ।

दक्षिण–पश्चिमदेखि पश्चिम
मध्यमवर्गीय व्यक्तिहरू विशेषगरी मजदुर, हतियारसम्बन्धी व्यवसाय, मेसिनका उपकरणहरू, फर्निचर व्यवसायी, छालाको व्यवसायी, अटो सर्भिस सेन्टर, ड्राइ क्लिनर, टेलर, जनपथ प्रहरी, नगर प्रहरी, निजी सुरक्षाकर्मीलगायतलाई यो दिशा लाभदायक हुन्छ । आफ्नो निवासस्थान बनाउँदा यो दिशा छनोट गर्नुका साथै पश्चिम मोहोडा भएको घर बनाउनु लाभदायक हुन्छ ।

पश्चिमदेखि उत्तर–पश्चिम
औषधि व्यवसायी, डिस्टिलरी तथा अल्कोहल व्यवसायी, अस्पतालका कर्मचारी, सरकारी गोदाम, आयात निर्यात व्यवसायी, ग्यारेज, कारागारलगायतका लागि यो दिशामा भवन बनाउनु उपयुक्त हुन्छ । त्यस्तै, कपडा व्यवसायी, ख्याति प्राप्त कलाकार तथा प्रहरी अफिसरहरूका लागि पनि यो दिशा उपयुक्त हुन्छ । तर, भवन निर्माण गर्दा मोहोडा भने पश्चिम फर्केको बनाउनु लाभदायक हुन्छ ।

उत्तर–पूर्व
फलफूल व्यवसायी, दुग्धजन्य व्यवसाय, कृषि फार्महरूलगायतका लागि यो दिशा छनोट गर्नु उत्तम हुन्छ । यो दिशा आवासीय घर बनाउँदा भने उत्तर–पूर्व मोहोडा बनाउनु राम्रो हुन्छ ।

मन्दिर
नयाँ नगर स्थापना गर्दै गर्दा सकेसम्म नगरको बीचमा विष्णु भगवान्को मन्दिर बनाउनु उपयुक्त हुन्छ । त्यस्तै, पूर्व दिशामा इन्द्रको, उत्तरमा कुबेर र ब्रह्मदेवको मन्दिर बनाउनुपर्छ । दक्षिणमा यम, कालीको उपयुक्त हुन्छ । वास्तुशास्त्रअनुसार सीमित मन्दिर बनाउँदा अकाल मृत्युलाई कम गराउँछ । सहरको पश्चिम दिशामा कुमारको मन्दिर बनाउँदा सहर सुरक्षित राख्न मद्दत पु¥याउँछ । शिवको मन्दिरमा भने उत्तर–पूर्वमा बनाउनु उपयुक्त हुन्छ । एउटै सहरमा धेरै मन्दिर बनाउँदा परिणाम प्रत्युत्पादक पनि हुन सक्छ ।

Related Posts: