जेष्ठ १७, २०७४- दुई दिनमा उपत्यकामा जथाभावी बाटो काट्ने ६ हजार ९ सय ४० यात्रु ट्राफिक कारबाहीमा परेका छन् । जसमध्ये ४ हजार ३ सय ४४ जनाले दुई सय रुपैयाँको दरले जरिवाना तिरेका छन् भने बाँकी २ हजार ५ सय ९६ ले ट्राफिक सचेतनाको कक्षा लिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न सुरु गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार हाललाई जेब्रा क्रसिङ भएको ठाउँमा र आकाशे पुल भएको ठाउँमा मात्रै कारबाही सुरु गरिएको हो । दुई दिनमा पैदल यात्रुबाट जरिवाना बापत मात्रै महाशाखाले ८ लाख ६८ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।