भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं महानगरका पराजित मेयर किशोर थापा भन्छन्, ‘राजनीतिमा अनुभव र विज्ञताभन्दा भावना, संवेग र ग्लेमर बढी बिक्ने चीज रहेछ भन्ने लागेको छ।’
जेष्ठ १७, २०७४- काठमाडौं चोभारमा ५८ वर्षअघि जन्मेका किशोर थापाको पहिलो चिनारी बन्यो—एसएलसी बोर्ड फस्ट (२०३१)। त्यसपछिको अर्को चिनारी बन्यो— ३२ वर्ष लामो निजामती सेवा। अहिले आएर अर्को चिनारी जोडिन आएको छ— पराजित मेयर, काठमाडौं महानगरपालिका।
‘तपाईलाई कस्तो लागिरहेको छ?’ कुपन्डोलको साझा पार्टी कार्यालयमा भेटिएका साझा नेता थापालाई पहिलो प्रश्न गर्नासाथै उनी सतर्क देखिए।
‘यस पटकको चुनावी गतिविधि, तरङ्ग र दौडधुप हेरिरहेकी मेरी ८१ वर्षीया आमाले अस्ति मेयरको चुनावी नतिजा आएपछि सोध्नुभएको थियो, ‘तँ पास भइस् कि फेल?’ थापाले राजनीतिक भाषाको जवाफमा आमालाई भनेका रहेछन्, ‘हो, आमा म पास भएँ, दाग नलागिकन।’
राजनीतिमा आएको र त्यसमा पनि काठमाडौं (राजधानी) मा राजनीतिक नेताको चिनारी बनाएको एक महिनामै किशोरले नसोचेकै परिणाम यसपाला आएको छ। उनकै शब्दमा भन्नुपर्दा कुनै जालसाजी, ललाइ–फकाइ अथवा सपनामुखी हर्कतभन्दा बाहिर उभिएर पाउन सकिने ‘विश्वासको मत’ उनले पाएका छन्। कुल मतदाता २ लाख ७१ हजार २ सय २१ मध्ये ९ दशमलव ३८ प्रतिशत अर्थात १८ हजार ४ सय ९६ मतदाताको मत पाएर किशोर हक्की स्वरमा भन्नसक्ने भएका रहेछन्, ‘म दाग नलागी पास भएँ।’
स्थानीय निकायको चुनावमा मेयर प्रत्यासी बनेपछि किशोरले काठमाडौं महानगरका ३२ वटा वाडमध्ये आधाजसो मात्रै घुम्न पाएका थिए। यो बाहेक केहीसँग फोनवार्ता र कतिपयसँग हाय–हेल्लो मात्रै भइरहँदा पनि किशोरले जनचासो र सरोकार खुट्याउनसकेका रहेछन्। ‘महानगरबासीसँग ठूलो सपना र योजनाको कुरा मैले पाइन, ठूला माग र प्रस्ताव पनि थिएनन्,’ पराजित मेयर किशोरले सम्झिए, ‘सुशासन, पूर्वाधार र राजनीतिक नयाँपनमा धेरैले सरोकार जनाएका थिए।’ तत्कालै मेट्रो रेलदेखि मोनो रेलसम्म कुदाइहाल्ने भनेर ‘उडनतस्तरी सपना’ बाँडिरहने राजनीतिक नेतामाझ किशोरले आफूलाई अलिक भिन्न देखाउन चाहिहेरे। मोनो अथवा मेट्रो कुदाइहाल्ने भन्दा पनि अबको ५ वर्षमा यसको ‘डिटेल प्रोजेक्ट रिपोर्ट’सम्म तयार गर्न सकिने प्रतिबद्धता उनले मतदातासामु जनाएका रहेछन्।
सुशासन अर्थात दैनिक प्रशासनमा सहज सेवा प्राप्त हुन सकोस्, पूर्वाधार अर्थात सडकको खाल्डाखुल्डी पुरियोस् र धुवाँ–धुलो हटोस् भन्ने तहको मनोकांक्षा मात्रै किशोरले मतदातामा पाएका रहेछन्। यसैगरी राजनीतिमा नयाँपनको खोजी गर्ने क्रममा ठूला राजनीतिक दलको ‘सिन्डिकेट’ हटाउन मतदाताले नसोचेको मत दिएको किशोरको बुझाइ छ। भन्नलाई दलीय संयन्त्र भनिए पनि एक/दुई नेताले पर्दा पछाडि बसेर गर्ने निर्णयको भरमा सिंगो शासन पद्धति चल्ने गरेकोमा आम नागरिकको ‘आक्रोश’ बढ्दो रहेको महसुस पराजित मेयरले राम्रैसँग गरेका रहेछन्।
हुनलाई किशोर थापा विचार, अनुभव र योग्यताका आधारमा पनि यस पटकको मेयर भिडन्तमा सबैभन्दा अब्बल रहेको भनेर टिकाटिप्पणी आइरहेकै छ। मेयर प्रत्याशी छँदै र पराजित भएपछि पनि किशोरको चर्चा यथावत छ, गुणवत्ता आधारमा। ‘तर राजनीतिमा सधैं तर्क (लजिक) नचल्ने रहेछ,’ उनी भन्छन्, ‘मेरो बोर्ड–फस्टको योग्यता पनि राजनीतिमा सधैं नचल्ने हो कि भन्ने लागेको छ। अनुभव र विज्ञताभन्दा पनि राजनीतिमा भावना, संवेग र ग्लेमर बढी बिक्ने चिज रहेछ।’ यी मामलामा आफू कमजोर प्रत्यासी रहेको स्वीकार्दै ‘फाल्तु सपना बाँडेर अबको समय सधैं बिक्न मुस्किल हुने’ किशोरलाई लागेको रहेछ।
विगतमा आफू काठमाडौं सहरी विकास परियोजनामा रहेको, विष्णुमती करिडर योजना, मेलम्ची परियोजना अथवा वागमती सफाइ अभियानमा जोडिएको बारे र यसले ढिलो–चाँडो परिणाम दिनेबारे बारम्बार बताउँदै ‘आफूलाई प्रमाणित गर्नुपर्ने’ मुस्किलको बिन्दुमा आफू उभिएको किशोर सुनाइरहेका थिए। ‘जसले अहिलेसम्म केही काम गरेकै छैन। कुनै काम अथवा योजनाको सिद्ध सावित भैसकेको प्रमाणै जोसँग छैन, उसले किन आफूलाई ‘प्रमाणित’ गरिरहनु र?’ कहीं कतै लक्षित नभैकन किशोर आफ्ना कुरा सुनाइरहेका थिए, ‘म भने आफ्नो बायोडाटामा आफैंसँग ढुक्क थिएँ, ढुक्क छु।’
किशोर पनि अरु निजामती सेवामा जोडिएका केही दिग्गज पात्रहरूझैं अवकाशप्राप्त जीवनमा पनि राम्रैसँग कमाइ हुनसक्ने अवसरमा जानसक्ने मध्येका एक पात्र हुन्। ‘यत्ति भनौं, मेरा लागि राजनीति कुनै पेसा होइन (जस्तो अहिले देखिन्छ)’, उनी भन्छन्, ‘फेरि अब अवकाशको उमेर भनेर ऐसआराम लिन चाहेको उपाय पनि यो होइन। अब अरु राजनीतिक दलले जस्तो नचाहिँदो भ्रम र ठूला सपना नछरी सही धरातलमा उभिएर गर्न सकिने काम देखाउने बेला आएको छ। म त्यही धरातलमा उभिएर बोल्दैछु।’
‘पराजित मेयर’सम्मको चिनारी बनाएपछि पनि अहिलेसम्म किशोर आफूलाई पुरापुर राजनीतिक प्राणी भनेर चिनाउन चाहँदैनन्। उनीसँग राजनीतिको एजेन्डा पनि छैन। बरु विकास समृद्धिका एजेन्डामा उनी बहस चाहन्छन्। केही पात्र र प्रवृत्तिको सकारात्मक ट्रेन्डका कारण देशमा ‘लोडसेडिङ’ अन्त्य भएको पछिल्लो उदाहरणजस्तै व्यवहारमा उनी देखिन चाहन्छन्, देखाउन चाहन्छन्। भित्री सन्तुरमा १ सय तोला सुन राखेर बाहिर १ तोला सुनको सम्पत्ति विवरण देखाउने संस्कारको प्रतिरोधी बन्न उनी चाहन्छन्।
नेपाली समाजमा एकाएक छाएको ‘आम आदमी’ शैलीको राजनीतिक तरंगमा जोडिएर चिनिएका किशोर थापासँग भएको यो कुराकानी अहिलेका लागि ‘अमिलो अंगुर’जस्तो मात्रै हो। हिजोसम्म भिन्न चम्किलो छायाछवि लिएर उभिएका किशोर अहिले भने आम समुदायले चिन्ने ‘पराजित मेयर’मात्रै हुन्। ‘तपाईलाई कस्तो लाग्छ नि यो बदलिएको परिचयमा?’ फेरि सतर्क बन्दै ‘हुन नसकेका मेयर’ थापा भन्छन्, ‘जीवन भनेकै दु:ख–सुख हो, अँध्यारो–उज्यालो हो, जय–पराजय हो। म आफूले आफूलाई पराजित महसुस गरेको छुइन, अरुले पराजित भनिराख्दा मलाई फरक पर्दैन।’