भोजपुर : सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर बाजुराको कोल्टीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा हवाईजहाजचालक महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । कैलाशको मृत्यु भएको दुःखद समाचार सञ्चारमाध्यममा आएसँगै कैलाशका बालसखा आत्मीय साथी हरि राई स्तब्ध हुनुभयो ।
सामाजिक सञ्जालमार्फत अचानक यो खबर थाहा पाउँदा उहाँले बालापन सम्झनुभयो । ‘आज मैले मेरो असल र प्यारो साथी गुुमाएको छु’, भावुकतामा डुब्दै उहाँले भन्नुभयो, ‘लेखान्तले कहाँ पुर्याउँदो रहेछ, सपनाजस्तै लागिरहेको छ, उसले उडाएको जहाज क्र्यास भएको ।’ हरि अहिले एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ यो दुःखद समाचार थाहा पाउँदा स्थानीय तहको चुनाव प्रचारप्रसारमा व्यस्त हुनुहुन्थ्यो ।
भोेजपुरको पश्चिमी ट्याम्के मैयुम गाउँपालिका-२, छिनामखुको घोडेनागी नौलेगाउँमा जन्मिनुभएका कैलाश सानैदेखि मिहिनेती हुनुहुन्थ्यो । साथीभाइसँग मीठो बोल्ने उहाँ नराम्रा प्रवृत्तिबाट सधँै टाढा रहनुहुन्थ्यो । ०२७ सालमा भूपू ब्रिटिस गोर्खा आर्मी नरबहादुर गुरुङको माइलो सन्तानको रुपमा जन्मिनुभएका कैलाशका एक दाजु, दुई भाइ र चार दिदीबहिनी छन् । कैलाशलाई पनि बाबुजस्तै आर्मी हुने रहर थियो उहाँ सानैदेखि मिहिनेती र पढाइमा तेज रहेको उहाँका साथीभाइहरू भन्छन् । उहाँले धनकुटा-हिले हुँदै चतराबाट नुनको भारी पनि बोक्नुभएको थियो ।
घरबाट किताब-कापी च्यापेर, सामान्य सर्ट कट्टु र बकुला छाप फित्ते चप्पल लगाएर २÷३ घन्टा लामो बाटो हिँडेर विद्यालय धाउने गरेको हरि सम्झनुहुन्छ । ‘हामीसँगै एउटै कक्षामा पढ्दा उनले कहिल्यै कसैलाई बिझ्ने केही भनेनन्, न त झैझगडा नै गरे । साथीभाइसँग साह्रै मिल्थे’, हरिले सम्झनुभयो, ‘उनी अन्नपूर्ण माविबाटै ०४३ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौं गए । त्यहाँ उनले प्राविधिक शिक्षा अध्ययन र उत्तीर्ण गरी सेनामा भर्ती भए ।’ प्रतिभाशाली कैलाशको गीत÷संगीतमा पनि गहिरो लगाव थियो । उहाँले धेरै गीतमा संगीत भर्नुभएको छ भने गीत लेख्नु पनि भएको छ । एकान्त मन पराउने उहाँ गीत गुनगुनाइरहने हरिले बताउनुभयो ।
करिब १० वर्षअघि भोजपुर जिल्लामा पहिलो पटक सेनाको हेलिकोप्टरबाट ल्यान्डरोभर गाडी लगिएको थियो । सुवास नेम्वाङ सभामुख हुनुभएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको समन्वयमा क्याप्टेन कैलाशले नै गाडी हेलिकोप्टरबाट भोजपुर लग्नुभएको थियो । उहाँ आफ्नो जिल्लामा पहिलोपटक कच्ची सडकमा गाडी ल्याएर भोजपुरे जनतालाई यातायातको सुविधा अनुभूति गराउने पहिलो व्यक्ति हुनुहुन्छ । त्यसबेला उहाँ नेपाली सेनाको मेजर हुनुहुन्थ्यो ।
कैलाशको परिवार करिब १९ वर्षअघि नै गाउँको घरजग्गा बेचेर काठमाडौं बसाइ सर्नुभएको थियो । एकै सातामा दुई सपुत गुमाउँदा सिंगो भोजपुरे यतिबेला शोकमा छन् । सफल, कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएकोमा भोजपुर जिल्ला शोकसन्तप्त भएको स्थानीय भोला राईले बताउनुभयो । ‘यो साता भोजपुरले शनिबार साङपाङमा जन्मिएका वरिष्ठ क्याप्टेन पारसकुमार राई र मंगलबार छिनामखुमा जन्मिएका सेनाका महासेनानी क्याप्टेन कैलाश गुरुङजस्ता व्यक्तित्व गुमाएकोमा हामी सम्पूर्ण भोजपुरवासी शोकमा छौँ’, उहाँले गहिरो वेदनायुक्त शब्दमा भन्नुभयो ।
जिग्री र पाँडेको पहलमा २ सय घरमा उज्यालोकाठमाडौं, १६ जेठ । भद्रगोलका चर्चित पात्र जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे)को पहलमा सप्तरीका २ सय परिवारले बिजुली बाल्न पाउने भएका छन् ।जि…Read More