जेष्ठ १७, २०७४- गोमा एयरलाइन्सको कार्गो विमान लुक्लामा दुर्घटना भएको ४ दिन नबित्दै मंगलबार नेपाली सेनाको कार्गो जहाज बाजुराको कोल्टीमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
‘नेपाल आर्मी ४८’ कलसाइन भएको स्काई ट्रकमा रहेकी कोपाइलट सहसेनानी अनिता आलेमगरको अवस्था गम्भीर छ । सैनिक प्रवक्ता झंकर कडायतका अनुसार कोपाइलट अनिताको नेपालगन्जस्थित शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । विमानको पछाडि बसेका स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते छन् । उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । सेनाले उनको अवस्था खतरामुक्त रहेको जनाएको छ ।