जेष्ठ १७, २०७४- हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा मंगलबार दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका क्याप्टेन कैलाश गुरुङ नेपाली सेनाभित्र मिलनसार मानिन्थे । भोजपुर छिनामखुका कैलाशले आफ्नो गाउँबाटै प्राथमिक शिक्षा लिएर २०४६ सालमा सेकेन्ड लेफिटनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका थिए । ‘हामी बच्चादेखिकै साथी हौं । पढ्नेदेखि पौडी खेल्ने र चराको पछिपछि दौडनेसमेत सँगै गर्यौं । ऊ साहित्यमा पनि राम्रो थियो र पढाइमा तेज,’ कैलाशका बालसखा कवि श्रवण मुकारुङ सम्झन्छन्, ‘आईए पास गरेपछि उसले सेनामा जाने निधो गर्यो । पछि सेनाबाटै पढ्न अमेरिका गयो ।’ ४७ वर्षको अल्पायुमै साथीको निधनले श्रवण स्तब्ध छन् । भन्छन्, ‘सेनामा जागिर खाएर पनि उसले देश सेवा गथ्र्यो नै साथमा साहित्यको क्षेत्रमा पनि क्रियाशील थियो । उसले देशप्रेम, सैनिक गीत र अन्य प्रेमसम्बन्धी थुप्रै गीत रचना गरेको थियो । ऊ सिरियस साहित्यकार थियो ।’ सेनाका अवकाशप्राप्त जर्नेल तथा राष्ट्रपति विद्यादेवी भण्डारीका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापाले कैलाशको निधनले मुलुक र नेपाली सेनालाई ठूलो क्षति भएको बताए । सेनाका क्याप्टेन समुन्द्र गुरुङ कैलाशलाई आफ्नो जिम्मेवारी पूरा गर्ने, मिलनसार र राम्रो व्यक्ति भएको सम्झन्छन् । तत्कालीन प्रधानपञ्चका छोरा नरबहादुर गुरुङका माइला छोरा हुन्, कैलाश । उनका दुई छोरी (१२ र ७ वर्ष) छन् । कैलाशकी पत्नी सावित्रीरत्न पनि नेपाली सेनामै कार्यरत छिन् । उनी प्राड (कानुन) विभागकी प्रमुख सेनानी हुन् । भोजपुरका पत्रकार मनबहादुर बस्नेत सम्झन्छन्, ‘सानो छँदा गाउँमा के बन्ने भन्ने कुरा हुँदा कैलाशजस्तो हुनुपर्छ भन्ने चर्चा हुन्थ्यो ।’ गायक तथा संगीतकार गणेश रसिक नाताले कैलाशका मामा हुन् । ‘सानै उमेरदेखि राम्रो गर्दै आएको र मिलनसार मान्छे थियो,’ उनी सम्झन्छन्, ‘उनको निधनले पीडा भएको छ ।’ उनका साथी कमल कैलाशको मृत्युको खबर सपनाजस्तो भएको बताउँछन् । ‘सेनामा मात्र काम गर्ने होइन, साहित्यमा पनि उत्तिकै राम्रा थिए,’ उनले भने, ‘आवश्यक पर्दा सबैलाई सहयोग गर्ने । सेनाभित्र पनि आफूभन्दा सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने व्यवहारले सबैको मन जितेका थिए ।’ फेसबुकमा कैलाशको एकाउन्ट छ, ‘धर्ती रक्षक’ का नाममा । खराब मौसमका कारण उनले जहाजलाई आपतकालीन अवतरण गर्दा आफ्नो ज्यान गुमाए पनि आफ्ना दुई साथीलाई बचाउन सफल भए । दुर्घटनामा विमानकी सहचालक मेजर अनिता आले र स्टेवार्ड पूर्णबहादुर खडका गम्भीर घाइते छन् । २०७१ को वैशाख १२ मा गएको महाभूकम्पमा पनि कैलाशले नेपाली सेनाको जहाज उडाउँदै सयौं घाइतेको उद्धार गरेका थिए । अरू आपतका बेला पनि उनले ‘धर्ती रक्षक’ झैं भएर मुलुकका विभिन्न स्थानमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।