पराष्ट्रमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमणमा सँगै गए । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । परराष्ट्र मन्त्री महरा ‘फ्रन्टलाइन’मै थिए । तर देउवालाई दिल्लीमै छाडेर उनी शनिबार काठमाडौँ फर्के, जब कि अर्को दिन अर्थात आइतरबार प्रधानमन्त्री पनि फर्कंदै थिए । प्रधानमन्त्रीलाई छाडेर महरा एक दिन अगाडि नै किन आए काठमाडौँ ? अवश्य पनि यो प्रश्नले केही उत्तर खोज्छ र केही सङ्केतहरू दिन्छ ।
बेइजिङ र दिल्लीलाई सधैँ ‘गुमराह’मा राख्न सक्ने क्षमता मानिए पनि परराष्ट्रमन्त्री महरामाथि दिल्लीको शङ्का कायमै छ । प्रधानमन्त्रीले भ्रमणका क्रममा दिएको अभिव्यक्ति विवादमा आउनु र परराष्ट्रमन्त्री एक्लै काठमाडौँ फर्कनु संयोग मात्रै हो वा यसभित्र केही असन्तुष्टि छ, विस्तारै सतहमा आउनेछ । महराले देउवाले दिएको विवादास्पद अभिव्यक्तिबाट आफू बच्न एक दिन अगाडि नै काठमाडौँ फर्कने योजना बनाएका पनि हुन सक्छन् । यो भ्रमणदलभित्रै रहेको विवादको एउटा पाटो हो । प्रधानमन्त्री देउवाले लिखित भाषणमा नरहेको संविधान संशोधनको नेपालको आन्तरिक विषय त्यहाँ राखेका थिए, जसले दिल्लीदेखि काठमाडौँसम्म तरङ्ग पैदा गर्यो । देउवाले भनेका थिए– ‘यहाँले उल्लेख गरेजस्तै संविधान कार्यन्वयन गर्ने क्रममा केही मुद्दाहरू अझै अल्झिरहेका छन् । हामी चाहन्छौँ, हाम्रो संविधान स्वीकार्य र संशोधन होस्, जसले गर्दा सबै क्षेत्रका मानिस, दक्षिणमा बस्ने, राजपा र अन्य जातीय समुदाय चुनावमा सहभागी हुन सकून् । धन्यावाद भगवान, उहाँहरू चुनावमा जान सहमत भइसक्नु भएको छ । तर पनि हामी संविधान संशोधनमा प्रयासरत रहनेछौँ, जसले संविधान सर्वस्वीकार्य हुनेछ । हामीले संसदमा दुई तिहाई मत हासिल गर्न सकेनौँ र संविधान संशोधन गर्न सकेनौँ । मलाई लाग्छ, भविष्यमा हामीले दुई तिहाई मत ल्याउनेछौँ र संविधान संशोधन गर्न सक्नेछौँ, जसले उत्तरी र दक्षिणी भेगका, पूर्व–पश्चिम सबैतिरका नागरिकले संविधान स्वीकार गर्नेछन् ।’ देउवाको यो अभिव्यक्ति आउनु अघिल्लो दिन देउवा र मोदीबीच आधा घण्टा वान टू वान वार्ता भएको थियो । जसलाई उच्च स्तरीय वैठक अगाडिको ‘वार्म अप’ बैठकका रूपमा पनि हेरिएको थियो । देउवाको यही अभिव्यक्ति हो, जसले उनलाई विवादमा तान्यो । मिडियाले ठूलो इस्यु बनाए । विपक्षीले यसैको जगमा हमला जारी राखेको छ । विपक्षीले यस्तो मौका गुमाउने पनि भएन, किन भने उसलाई लागेको छ, देउवा सरकारको सूत्रधार दिल्ली नै हो । यसैकारण उपचारका लागि बैङ्कक उड्नु अगाडि ओलीले क्यामरासँग भेट गरे र भने– ‘देशको स्वाभिमानको वास्ता नगरी असान्दर्भिक ढङ्गले उहाँले संविधानसभाबाट जारी भएको नेपालको संविधानको विरोध गर्नुभएको छ । नेपालको गरिमामय संसदले गरेको फैसलको विदेशमा गएर धज्जी उडाउनु भएको छ । क्षमायाचनाको भाषा बोल्नु भएको छ– प्रभु, मैले कोशिस गरेको थिएँ, तर सकिनँ । उहाँको हाउभाउ र अभिव्यक्ति लज्जाजनक छन् । उहाँले प्रस्तुत गरेका विषयवस्तुले देशको शिर निहुरिएको छ ।’ अध्यक्षको अभिव्यक्तिमा मात्र एमालले चित्त बुझाएन । संस्थागत निर्णय लिएर प्रधानमन्त्रीमाथि हमला गर्यो । शनिबार बसेको स्थायी समिति वैठकले प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा मुलुकको संविधान संशोधनको विषय उठाइनुले नेपालको आन्तरिक मामलामा बाह्य पक्षलाई संलग्न गराउने काम भएको भन्दै आपत्ति जनायो । प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनमा सहमति जुटाउने प्रयास जारी रहेको अभिव्यक्ति दिएर संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको एमालेको ठहर आयो । एमालले ‘भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका विषयमा गम्भीर छलफल गरी दिगो समाधान खोज्न, नेपालका कृषि तथा औद्योगिक उत्पादनलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, वर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन हाम्रो पार्टीलगायत विभिन्न राजनीतिक दलले दिएको सुझाव र आम नेपाली जनताको भावनाको यथोचित सम्मान प्रधानमन्त्रीबाट हुन नसकेको’ निष्कर्ष निकाल्यो । अर्थात विपक्षीको नजरमा भ्रमण पूर्णत असफल भयो ।