जेष्ठ ८, २०७४- आर्थिक वर्ष ०७४/७५ का लागि जेठ १५ मै पूर्ण बजेट आउने भएको छ । जेठ ३१ गते दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको मिति तय भएपछि जेठ १५ गते बजेट आउने/नआउने विषयमा अन्योल भइरहेको बेला उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले यस्तो बताएका हुन् ।
‘संवैधानिक व्यवस्था अन्तर्गत तोकिएको समयममा विगतमा आए जस्तै सामान्य बजेट आउँछ,’ उनले भने । आर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिने क्रममा सोमबार राजधानीमा आयोजित कार्यक्रममा महराले सो कुरा बताएका हुन् ।
आगामी आर्थिक वर्षका लागि पूरा बजेट आएपनि निर्वाचनका लागि आचार सहिंता लागु हुने भएकाले नयाँ कार्यक्रमहरु भने नआउने उनले स्पष्ट पारे । ‘उच्च आर्थिक वृद्धि र आर्थिक स्थायीत्व हुने खालको बजेट आउँछ, विगतका राम्रा कार्यक्रमहरुले निरन्तरता पाउँछन्,’ उनले भने, ‘नयाँ कार्यक्रमहरु हुँदैन ।’
अर्को वर्षदेखि स्थानिय निकायले आफैं बजेट बनाउने भएकाले यो वर्ष सरकारलाई संघिय संरचनाको बजेट बनाउने अवसर तथा चुनौती दुवै रहेको उनले बताए ।