जेष्ठ ६, २०७४- ‘ल्याइदिउँला तिलहरी ल्याइदिउँला बुलाकी आगौंको सालैमा धपक्कै पियारी’ देश चुनावी सरगर्मीले तातेको बेला, त्यो पनि जम्माजम्मी २ हजार सब्सक्राइबर भएको युट्युब च्यानलबाट सार्वजनिक भयो यो गीत २९ वैशाखमा । तैपनि अपलोडको पर्सिपल्टबाटै युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थानमा छायो । मनीष ढकालको स्वर रहेको यस गीतको भिडियोमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवालाई देख्न पाइन्छ । अनि शब्द र संगीत उही कालीप्रसाद बाँस्कोटाको । जो नेपाली संगीतको ‘ट्रेन्ड सेर्टस’ का रूपमा स्थापित भइरहेका छन् । ‘ल्याइदिउँला तिलहरी...’ को कथा उप्काउनु पहिल्यै बाँस्कोटालाई नियालौं । बितेको वर्ष उनका जम्माजम्मी चार गीत रिलिज भए, ‘निर जहिल्यै रिसाउने...’, ‘ठमेल बजार...’, ‘साइँली...’ र ‘पन्छी...’ । संख्यात्मक रूपमा निकै कम हो यो तर सबै एकसेएक हिट अनि भाइरल । अर्थात् यी चार गीत उनलाई संगीत क्षेत्रमा राज गर्न पर्याप्त भयो । त्यो कसरी पनि भने, ‘निर जहिल्यै रिसाउने...’ ले फिल्म पुरानो ढुंगालाई लोभलाग्दो हाइप मात्र दिलाएन, दर्जनौं कभर भिडियो युट्युबमा अपलोड भए । लुट २ मा समाविष्ट आइटम नम्बर ‘ठमेल बजार...’ युट्युबमा १ करोड ५८ लाखपटक हेरिसकिएको छ भने उनकै शब्द/संगीतमा हेमन्त रानाको स्वरमा सजिएको ‘साइँली...’ को भिडियोले १ करोड १२ लाख र अडियोले ५१ लाख भ्युज बटुलिसकेको छ । अनि यही लोकप्रियतालाई निरन्तरता दिने भरपर्दो संकेत दिएको छ, ‘ल्याइदिउँला तिलहरी...’ ले । यही गीतका कारण चार दिनमै उनको युट्युब च्यानलको सब्सक्राइबर ७ हजार पुगिसकेको छ । भ्युजले पनि रफ्तार पक्डिरहेको छ । बिना बाँस्कोटाले यस गीत ‘साइँली...’ सँगसँगै कम्पोज गरेका थिए । ‘साइँली...’ मा कामको खोजीमा परदेश भासिन बाध्य तन्नेरीको पीडा पोखिएको थियो भने यस गीतमा एक फौजी आफ्नी पियारीलाई अर्को वर्ष छुट्टी मिलाएर घर फर्कने, तिलहरी र बुलाकी ल्याइदिने अनि बिहे गर्ने वाचा गर्दै छ । भनिएकै छ, ‘राइफलको सिरानी, मन भने मारुनी’ । सामाजिक यथार्थलाई शब्द, ट्युन र संगीतमा सरलता आत्मसाथ गर्दै पस्कनु बाँस्कोटाको पहिचान बनिसकेको छ, सकेसम्म बोलीचालीको भाषा र भावना टिपेर । तर ‘ल्याइदिउँला तिलहरी...’ को भिडियोमा भने बाँस्कोटाको चित्त बुझेको रहेछ । माथि भनिएजस्तै, उनले फौजीको प्रेमको कथा भन्न खोजेका थिए तर भिडियोमा ‘साइँली...’ कै झल्को आउने गरी वैदेशिक रोजगारीकै विषयलाई उठाइएको छ । नेपाल आइडियल पहिलो संस्करणको निर्णायकसमेत रहेका बाँस्कोटा भन्छन्, ‘गीत र भिडियोको तालमेल नमिल्दा सर्जकको चित्त दुख्दोरहेछ ।’ तर जे होस्, गीत दर्शक/श्रोताले रुचाएकै छन्, कम्पोजरका रूपमा फेरि एकपटक उनले आफूलाई अब्बलता देखाए । हरेक गीत हिट बनाउने सूत्रचाहिं के होला ? उनले हाँस्दै भने, ‘भारइल वा हिट नै बनाउँछु भन्ने कहिल्यै हुन्न । सिर्फ इमानदार भएर सक्दो राम्रो गर्न खोज्छु ।’ प्रदर्शनका क्रममा रहेका दुई फिल्म मिस्टर झोले र ग्याङस्टार ब्लुजमा पनि बाँस्कोटाका गीत सुन्न पाइनेछ ।
चुनावी सभाका लागी महामन्त्री हेलिकप्टरमाकांग्रेस महामन्त्री शशांक कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा हेलिकप्टरको प्रयोग गरेर चुनावीसभा गर्दै हिँडेका छन् ।नवलपरासीको दुर्गम पहाडी ग…Read More