विश्व चर्चित मिडफिल्डर डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकप अन्तर्गत क्वार्टरफाइनलमा गरेका दुईवटा गोलको अहिले पनि उत्तिकै चर्चा छ । उनले इंग्ल्यान्डविरुद्ध पहिलो गोल हातले गरेका थिए, जसलाई 'ह्यान्ड अफ गड'का रूपमा विश्वले सम्झिँदै आएको छ । त्यस्तै, दोस्रो गोल मैदानको मध्य भागबाट इंग्ल्यान्डका ६ खेलाडीलाई छक्याउँदै एक्लै गरेका थिए, जुन अहिलेसम्म पनि शताब्दीकै उत्कृष्ट गोलमा दरिएको छ । यी दुवै गोलका विषयमा म्याराडोनाले सन् २००० मा प्रकाशित आफ्नो आत्मवृत्तान्त अल डिएगोमा विस्तारपूर्वक चर्चा गरेका छन् । त्यसैको अनुवादित अंश ः
के हो 'भगवान्को हाते गोल' भनेको ? त्यो म्याराडोनाको हात थियो । मलाई अहिले पनि पत्यार लाग्दैन, म त्यति माथिसम्म उफ्रिन सक्दो रहेछु भनेर । मैले हातले गोल गर्दा सुरुमा गोलकिपर पिटर सिल्टन (इंग्ल्यान्ड)ले पत्तै पाएनन् । मेरो हातले जाली चुम्दा अपिल गर्ने पहिलो खेलाडी थिए, फेनविउ । उनी मसँगै कभरमा दौडिरहेका थिए । जब मैले लाइन्सम्यानतर्फ हेरेँ, उनी गोलको मान्यता दिँदै सेन्टरतर्फ दौडिरहेका थिए । मैले आफूलाई सम्हाल्न सकिनँ । म फरक्क फर्किएँ । आफ्ना बाबु र ससुरा बसेको स्थानतिर मलाई अब उत्सव मनाउनु थियो, उनीहरूका लागि गरेको गोलका लागि । म जब गोलको उत्सव मनाउन दर्शकदीर्घातिर दौडिएँ, पूरै इंग्लिस टोली विरोधमा उत्रिसकेको थियो । भाल्डोना (अर्जेन्टिनी प्रशिक्षक)ले आफ्नो औँला मुखमा राखेर मलाई चुप बस्न इसारा गरे । खेल सकिएपछि एक पत्रकारले त्यो गोलको विषयमा मलाई प्रश्न पनि गरेका थिए । त्यतिबेला मेरो उत्तर थियो, 'मैले रेफ्रीको इमानदारीमाथि शंका गर्न मिल्दैन ।'
जब म विश्वकप सकेर व्यावसायिक फुटबल खेल्न इटाली फर्किएँ, त्यहाँ पनि मेरो हाते गोलको चर्चा रहेछ । त्यहाँ मेरा लागि अर्को अविस्मरणीय घटना भयो । सिल्भिया पियोला, सन् १९३० को विश्वकपमा इटालीका महान् स्ट्राइकर, मलाई हेर्न आएका रहेछन् । उनले म नजिकै आएर भने, 'सबै इटालीवासी तिमीले हातले गोल हान्दा इमानदार नभएको आरोप लगाइरहेका छन् । बताइदेऊ उनीहरूलाई इटालीमा कुनै बेला एक जना कम इमानदार व्यक्ति पनि थियो । किनभने, मैले पनि इंग्ल्यान्डविरुद्ध हातले गोल हानिसकेको छु । त्यतिबेला त सबैले खुसी मनाएका थिए !'
इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल हाम्रा लागि यस कारण पनि महत्त्वपूर्ण थियो किनभने फकल्यान्ड युद्धको चार वर्षपछि हामी एकअर्काका अगाडि थियौँ, त्यो पनि फुटबल मैदानमा । हामीलाई थाहा थियो, कति बहादुर अर्जेन्टिनीहरूले फकल्यान्ड युद्धमा ज्यान गुमाए। अंग्रेज सेनाले चरा भुटेझैँ त्यहाँ अर्जेन्टिनी जनता भुटेका थिए ।
त्यो २३ जुनको दिन थियो, मैले इंग्ल्यान्डविरुद्ध यादगार दोस्रो गोल गर्दा । मैले दोस्रो गोल मेरै भाइ अल टुले भनेजस्तै हिसाबमा गरेको थिएँ । १३ मे १९८१ मा मैले यस्तै तरिकाले गोल गरिसकेको थिएँ । त्यतिबेला यस्तै प्रकृतिको गोल गर्दा भाइ मसँग खुब रिसाएको थियो । भन्थ्यो, 'तिमी काम नलाग्ने मान्छे । गोलकिपरलाई आफ्नो नजिक आउन दिने प्रयत्न पनि गरेनौ । तिमीले यो गोललाई रोचक बनाउनुपथ्र्यो ।'
त्यति भनेर ऊ मसँग फन्कियो । म चकित परेँ । उसलाई गाली गर्न थालेँ, 'तँ घटिया । टेलिभिजन हेरेपछि थाहा पाउँछस्, मैले कस्तो गोल गरेँ ?' तर, टेलिभिजन हेरेपछि उसको सोचबाट म आफँै प्रभावित बन्न पुगेँ । ऊ त्यतिबेला सात वर्षको थियो ।
र, उसले मलाई सम्झायो, 'होइन फ्लु (म्याराडोनालाई भाइले सम्बोधन गर्ने नाम), यदि तिमीले गोलकिपरलाई आफूनजिकै आउन दिएको भए, पोल र तिमीबीचको रिक्तता छोटो हुने थियो । यस्तो बेला गरेको गोल दर्शनीय हुने गर्छ । यस्तो स्थितिमा तिमीले जहिले पनि देब्रे खुट्टाले गोल गर्नू ।' मैले इंग्ल्यान्डविरुद्धको दोस्रो गोल त्यसरी नै गरेँ, जसरी मेरो भाइले मलाई सुझाएको थियो ।
सन् १९८६ को विश्वकप फाइनल खेल पनि मेरा लागि बिर्सनै नसक्ने दिन हो । २९ जुनमा हामी जर्मनीसित फाइनल खेल्न अज्टेका रंगशालामा उत्रिएका थियौँ । यहाँ हामीले सुरुमा दुई गोलको अग्रता लियौँ । पहिलो गोल टाटा ब्राउनले हेडद्वारा गरे । उनलाई फाइनलमा पासारेलाको स्थानमा उतारिएको थियो । तर, ८० मिनेटमै खेलले कोल्टे फेर्यो । जर्मनी दुई गोल फर्काउन सफल भयो । कुनै पनि टिमका लागि यो माफ गर्न नसक्ने गल्ती हो । तर पनि म त्यतिबेला अत्तालिएको थिइनँ । मलाई खेल जित्ने विश्वास थियो ।
यस्तैमा जर्जे बुरुचागाले गोल गर्दै खेल सकिन ६ मिनेट बाँकी हुँदा हामीलाई ३-२ को अग्रता दिलाए । हामी यतिबेला विश्व च्याम्पियन बनिसकेका थियौँ । हामी विश्वकप खेल्न पहिले मेक्सिको पुगेका थियौँ र अन्तिममा फर्कियौँ विश्वकप ट्रफी बोकेर ।