नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा मंगलवार संसदबाट नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुँदैछन् । प्रधामनन्त्री चयनका लागि मंगलवार दिउसो संसदका दुइवटा बैठक बस्दैछन् । संसदको दोस्रो बैठकबाट देउवा प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तै छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित भएमा उनको कार्यकाल साढे सात महिनाको हुने भएको छ । २०७४ माघ ७ गते वर्तमान संसदको कार्यकाल सकिने भएकोले देउवाको कार्यकाल जम्मा २ सय ३० दिनको हुने भएको हो । संविधानको धारा २९६ मा संसदको कार्यकाल संवत २०७४ साल माघ ७ गतेसम्म कायम रहने स्पष्ट व्यबस्था गरिएको छ ।
जेठ २३ देखि माघ ७ गतेसम्म देउवा प्रधानमन्त्री रहनेछन् । २०७४ माघ ७ अगावै संसदको निर्वाचन गर्नुपर्ने सम्वैधानिक बाध्यता छ । गैर संवैधानिक ढंगले संसदको कार्यकाल थप गरिएमा देउवाको कार्यकाल लम्बिन सक्छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले लोकान्तरसँगको अन्तर्वार्तामा माघ महिनामा चुनाव सम्भव नहुने भएकोेले संसदको कार्यकाल केही समय थपगर्ने बताएका थिए ।