रेणुलाई जिताइएपनि भरतपुरका जनताले मेयर स्वीकार्दैनन्: देवी ज्ञवाली (अन्तर्वार्ता)

भिडियो सहित हेर्नुहोस !
Advertisement


० निर्वाचन भएको एक महिना भइसक्यो, परिणाम अझै आएको छैन, तनावमा हुनुहुन्छ होला हैन ?
– अब के गर्ने ? परिस्थितिले दिएको बाध्यतालाई बेहोर्नैपर्ने रहेछ ।
० भरतपुरको निर्वाचनको समग्र घटनालाई कसरी लिनुभएको छ, मानसिक पनि बढेको होला ?
– नेपालमा लोकतान्त्रिक संस्कार, लोकतान्त्रिक चरित्र र लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गर्ने चेतना, संस्कार र चरित्रको विकास नै नभएकोमा मलाई दुःख लागेको छ । हामीले नेपालका राजनीतिक दलहरूलाई कसरी लोकतान्त्रिक, आचरणयुक्त र चरित्रवान् बनाउने भन्ने चिन्ता नै अहिलेको चिन्ता हो ।
० पुनः मतदान गर्नुपर्ने निर्वाचन आयोगको निणर्यविरुद्ध अदालतमा परेको मुद्दालाई अदालतले प्राथमिकतामा राखेको देखिँदैन । यसलाई कसरी लिनुभएको छ ?

– अहिले जनप्रतिनिधिहरूबाट जनताले धेरै अपेक्षा गरेका छन् । जितेर आएका वडाध्यक्षहरूको पनि शपथ हुन सकेको छैन । यतिन्जेल कैयौं योजना लिएर जनतासमक्ष जानुपथ्र्यो । अर्को कुरा असार मसान्तभित्र महानगर र नगरपालिकाले आफ्नो बजेट पारित गरेर पठाइसक्नुपर्नेछ । कार्ययोजना बनाइसक्नुपर्ने छ । अझै पनि गणना कहिले हुने हो भन्ने कुरा टुंगिन सकेको छैन । यसमा अदालत त हामी सबैको सधैंको आस्थाको कुरा हो । हामी सबैको आशा र भरोसाको केन्द्र हो । अन्याय परेका स्थानमा केही न्याय दिन्छ भनेर विश्वास गर्ने केन्द्र हो । त्यो ठाउँमा पनि यस्तो महानगर पालिकाको निर्वाचनजस्तो विषयलाई गौण प्राथमिकता दिएको देख्दा मलाई दुःख लागेको छ । अदालतले यसलाई उच्च प्राथमिकताको सूचीमा राखेर यो मुद्दालाई सुनुवाइ गर्नुपर्ने थियो । यो मेरो अपेक्षा हो । अदालतका आफ्नै बाध्यता होलान् । विवशता होलान् । त्यो आफ्नै ठाउँमा होलान् ।
तर २ लाख ८० हजार जनताको प्रतिनिधित्व गर्ने एउटा महानगरपालिकाले निर्वाचन भइसकेको सन्दर्भमा परेको मुद्दालाई किनारा नलगाइँदा आमनगरवासीहरू निराश भएका छन् । उनीहरूमा उत्पन्न कुण्ठा र दुविधा हटाउने काममा अदालत लाग्नुपर्छ । यो मुद्दा पेसी सारिरहनुभन्दा छिटोभन्दा छिटो टुंग्याइदिए हुन्थ्यो भन्ने आमनगरवासीको चाहना छ ।

० चुनावअघि नै आममानिसले प्रधानमन्त्रीका छोरी उठेकाले दोस्रो लीलानाथ श्रेष्ठ बनाउँदै छन् देवी ज्ञवालीलाई भन्थे, अहिलेको चालामाला हेर्दा पनि कतै त्यस्तै दिशातिर उन्मुख भएको त होइन भन्ने लाग्दैन ?

– मलाई त मेरो पार्टी नेतृत्वले जुन ढंगले संसद्मा कडाइका साथ आवाज उठायो, उच्च प्राथमिकतासाथ बोल्यो, हाम्रो लिडरसिपले केन्द्रबाट जुन भूमिका निर्वाह ग¥यो, त्यो वास्तवमै प्रशंसालायक नै छ । संसद्मा भरतपुरको सवालमा एउटा प्रतिपक्षी नेताले आधा घण्टाभन्दा बढी समय बोल्नुभयो । देशका हरेक भागबाट ऐक्यबद्धताहरू प्रदर्शन भए । वास्तवमा केन्द्रबाट जुन गतिविधि भयो, त्यो प्रशंसालायक छ । पार्टी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नैपर्छ । नेपाल भन्ने देशमा षड्यन्त्रको चलखेल हुन्छ । अनेकौं खालका तानाबानाहरू बुनिन्छन् । खासगरी सत्तासीन दलहरू आफूले हार्न कहिल्यै नजान्ने, जनताले उनीहरूलाई कहिल्यै नपत्याउने तर उनीहरूले जित्नैपर्ने गलत मानसिकताले घर गरेका कारण राष्ट्रले दुर्भाग्य बेहोरेको छ । छोरी भएकै कारण एकातिर हारेका उम्मेदवारलाई अन्ततिर अनेक तिकडम गरेर स्थापित गर्ने षड्यन्त्र गरिँदै छ ।

० अब के गर्नुपर्छ त ?
– भरतपुरमा मतगणना सुचारु राख्न निकै ढिलाइ भइसकेको छ । अन्तर्राष्ट्रिय प्रचलनले देखिइसकेको छ कि एक अपराधी मान्छेले गलत मनशायका साथ केही मतपत्र च्यात्यो भन्दैमा त्यो सिंगै जनताको मतदानलाई तिरस्कार गर्ने, घृणित गर्ने र बदर गर्नेजस्तो कार्य विकसित देशहरूमा कहीँ हुँदैन । श्रीलंका, सियारलोनलगायतका अन्य देशहरूमा पनि यस्ता घटनाहरू भएका छन् । त्यस्तो स्थितिमा त्यहाँ पुनः मतगणना नै भएको छ । रिपोलिङको स्थितिमा पु¥याइएको छैन । अन्तर्राष्ट्रिय प्रचलन, हाम्रो देशको कानुन, विधिशास्त्रअनुरूप मतगणना नै हुनुपर्ने हो । तर यो चाँडै गर्नुपर्ने हो । सिरहामा घटेका घटनाहरू अपवादका रूपमा मात्रै रहुन् । यो थप नजिर नबनोस् भन्ने हाम्रो चाहना छ । व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मैले त जितिसकेको छु । आमजनताका बीचमा देवी ज्ञवालीले जितेको भन्ने कुरा भएको छ । प्राविधिक ढंगले जालझेल गरेर हराउने कुरा अर्को ठाउँमा छ, भरतपुरका जनताले ‘हाम्रो मेयर देवी ज्ञवाली नै हो, जालझेल गरे, रोके’ भन्नुभएको छ । अब कथंकदाचित् ठूलो षड्यन्त्रबाट रेणु आए पनि त्यहाँका नागरिकले मेयरका रूपमा रेणुजीलाई स्वीकार गर्न सक्दैनन् ।

० स्थानीय बासिन्दाले यो प्रकरणलाई कसरी लिएका छन् ?
– उहाँहरू ‘गणना नै हुनुपर्छ, पुःन मतदान होइन’ भन्छन् । उहाँहरू अत्यन्तै दुखित हुनुहुन्छ । म प्रत्येक घरदैलोमा पुगेको छु । उहाँहरूको भावना बुझ्ेको छु । हामीले त्यस्तो चर्को घाममा बसेर, बिहान ४ बजे उठेर लाइनमा गएर गरेको मतदानको अवमूल्यन भयो भन्नुहुन्छ । मनको दान हो मतदान भनेको । त्यसलाई च्यात्ने हाम्रो मन नै च्यात्नेहरू हुन् । हाम्रो मन च्यात्नेहरूलाई हामी कसरी फेरि भोट हाल्ल सक्छौं भन्ने आमनागरिकको भावना छ । अहिले जसले मतपत्र च्याते, तिनीहरूले जनताको भावनालाई भड्काएका छन् । हिजो जति मत प्राप्त गरेका थिए, त्यो पनि गुमाएका छन् ।

० फेरि चुनाव नै हुँदाको तपाईंको स्थिति के छ ?
– त्यसो हुँदा पनि स्थिति राम्रो छ, जनताले ‘तपाईं अन्यायमा पर्नुभएको छ, तपाईंलाई हराउन राज्य नै लागेको छ, त्यो हामीले बुझेका छौं, फेरि मतदान भए पनि हामी तपाईंलाई जिताएरै छोड्छौं’ भन्ने कुरा १९ नम्बर वडाका जनताले भन्नुभएको छ ।
० पुनः चुनाव गर्ने र वडा कांग्रेसले लिने अनि मेयरमा कांग्रेसले रेणु दहाललाई भोट हाल्ने सहमति भएको छ रे नि त ?

– पहिले पनि त मेयरमा माओवादीलाई नै त हालेको हो नि कांग्रेसले । हिजो कांग्रेसले नहालेको त पक्कै होइन । हिजो पनि रेणुलाई हालेकै हुन्, आज पनि हाल्छन् नै । के फरक पर्छ र ? अहिले कांग्रेसकै साथीहरूमा पनि आक्रोश उत्पन्न भएको छ, हाम्रो प्रजातान्त्रिक छवि सकियो भनेर । हामीमाथि पनि माओवादीको संगतले मतपत्र च्यातेको आरोप आयो भनेर उनीहरू चिन्तित छन् । सहकार्य गरेको नाताले आफूसँग पनि कलंक जोडिने भयो भन्नेमा उनीहरू तनावमा छन् । माओवादीसँग नेतृत्वले गरेको गलत फैसलाले वास्तवमा पीडा भएको छ भन्ने कुरा गर्दै हुनुहुन्छ । त्यसैले उहाँहरूले नागरिक समाजमै पनि पैसा, राज्य अनेकौं दुरुपयोग गरे पनि त्यो षड्यन्त्रलाई चिरेर चितवनका सचेत १९ नम्बरका वडावासी नागरिकहरूले राज्यको षड्यन्त्रलाई चिन्नुभएको छ ।
सत्य, निष्ठा र परिवर्तनकामी के हो, चिन्नुभएको छ । को राजनीतिमा चिनिएर आएको छ, जनताको सेवाको निम्ति लागेको छ भन्ने उहाँहरूलाई थाहा छ, त्यसैले यदि मतदान नै भएछ भने यहाँ १९ नम्बरका जनताले न्याय गर्नुहुनेछ । सत्यको पक्षमा मतदान गर्नुहुनेछ । न्यायको पक्षमा मतदान गर्नुहुनेछ । जालझेलको विरुद्धमा मतदान गर्नुहुनेछ ।

० मतपेटिका, गन्दागन्दैको मतपत्रको के अवस्था छ, अहिले पनि कुरिरहनुभएको छ ?
– रुँगिएकै छ । अघिल्लोपटक बदर मत छुट्ट्याउँदैखेरि तिनीहरूलाई केलाइएको छ । बदर छुट्ट्याइएर सदर मतहरू एउटा बाकसमा प्याक गरिएको छ । त्यसो भएकाले मतपत्र अहिलेसम्म सुरक्षित नै छन् । तर ढिलो भयो ।

० ढिलोले केही प्राविधिक खराबी होला कि ?
अवश्य, कमसल कागज छ । लामो समयसम्म जाँदा चितवन जस्तो बहुत गर्मी हुने ठाउँमा वाष्पीकरण हुने सम्भावना छ । त्यसले मतपत्रहरूमा चिस्यानको पन बढ्ने र कागजको गुणस्तर कम भएकाले केही वातावरणीय असर गर्छ कि भन्ने आशंका छ । तर यो पक्षलाई सर्वोच्च अदालतले आफ्नो न्यायिक कार्यसम्पादनमा ध्यान पक्कै दिनुपर्छ भन्ने मलाई लाग्छ । – बुधबार साप्ताहिकबाट


Related Posts: