असार, कपिलवस्तु । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले निर्वाचन आचारसंहिता विपरित कपिलवस्तुमा चुनावी अभियान चलाएको भन्दै नेकपा एमाले लगायतका विपक्षी दलले आपत्ति जनाएका छन् ।
गत बुधबारदेखि शनिबारसम्म कपिलवस्तुमा रहेका उनले कांग्रेस उम्मेदवारहरुको पक्षमा भोट मागेको आरोप लागेको छ । उनीहरुका अनुसार राजदूत उपाध्याय बुधबार र बिहीबार गोरुसिंगे र वाणगंगा नगरपालिका लगायतका क्षेत्रमा कांग्रेसको चुनाव प्रचारमा सहभागी भएका थिए ।
त्यस्तै बिहीबार कपिलवस्तु नगरपालिकामा कांग्रेसको मेयर उम्मेदवार किरण सिंह र उपमेयर उम्मेदवार लक्ष्मी गुप्ता सहभागितामा रहेको तौलिहवाको कार्यक्रममा सहभागी भएका थिए । उपाध्याय शनिबारै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गोरखपुर पुगेका छन् ।
कपिलवस्तुका कांग्रेस नेता राजेश ज्ञवालीले भने राजदूत उपाध्याय कपिलवस्तुको विकासमा भारतीय सहयोग कसरी जुटाउने भन्ने सन्दर्भमा अन्तरक्रियामा सहभागी भएको अनलाइनखबरलाई बताए ।
एमालेका कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले राजदूत जस्तो व्यक्ति एउटा दलको चुनावी अभियानमा सहभागी भएर मतदाता प्रभावित पार्न खोज्नु आपत्तिजनक रहेको बताए । उनले यसबारे जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराइएको बताए ।
संघीय समाजवादी फोरम र माओवादीले पनि राजदूतले पदीय गरिमा विपरित गतिबिधि गरेको आरोप लगाएका छन् । उपाध्याय दिल्लीबाट कपिलबस्तु हुँदै पुनः गोरखपुरतर्फ लागेको बताइएको छ ।
उपाध्यायको गृहजिल्ला कपिलवस्तुनै हो । तीन पटक कपिलवस्तु क्षेत्र नम्बर १ बाट सांसद जितेका उपाध्याय २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।