११, २०७४- एमाले अध्यक्ष केपी ओलीले चुनावपछि संविधान संशोधनबारे छलफल हुने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधन हुन सक्ने तर संसद्मा अहिले दर्ता प्रस्तावबाट त्यो सम्भव नभएको प्रस्ट्याए । ‘देश, जनता र लोकतन्त्रको पक्षमा संविधान संशोधन हुन्छ तर संशोधन प्रस्ताव उपयुक्त हुनुपर्छ,’ उनले भने, ‘अहिलेको प्रस्ताव उपयुक्त छैन ।’ संविधान संशोधन गर्छु भनेर कबोल गरेकाहरूबाट मैथिली, भोजपुरीलगायत भाषा मास्ने खेल भइरहेको ओलीको भनाइ छ । उनले परोक्ष रूपमा मधेसीलाई अधिकारको कुरा गर्दै झुक्याएर भाषा मास्ने काम भइरहेको आरोप लगाए । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक नभएको बताउँदै ओलीले उसलाई निषेधको राजनीति नगर्न आग्रह गरे । उनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियागत रूपमा हुने पनि बताए । स्वतन्त्र, निष्पक्ष र सबलाई न्याय प्राप्त हुने संस्थाका रूपमा विकास गर्ने र न्यायसम्पादनमा कतैबाट प्रभावित नहुने व्यक्तित्व प्रधानन्यायाधीशमा हुनुपर्ने उनको भनाइ छ । त्यसैगरी शनिबारै सुनसरीको इटहरीमा आयोजित चुनावी सभामा ओलीले एमाले अबका दिन राष्ट्रियता र स्वाधीनता रक्षाका लागि लड्ने बताए । ‘अब मुलुकमा एमाले छ, कुनै हालतमा प्रतिगमन हुन दिँदैन । पुर्खाले लडेर बचाएको देशलाई तलमाथि हुन दिँदैनांै, अब छिमेकीले नहेपे हुन्छ, यो मुलुकको छुट्टै स्वाभिमान र स्वाधीनता छ ।’ एमाले दुवै छिमेकीसँग सन्तुलित व्यवहार गर्ने पक्षमा रहेको पनि उनले प्रस्ट्याए । तिब्बतको किमाथांकादेखि विराटनगर रानीसम्म चार लेन सडकको कल्पना आफूले नै कार्यान्वयनमा लगेको उल्लेख गर्दै ओलीले भने, ‘अब किमाथांकाबाट आएको गाडी धरानमा रोकिनेछ र जोगवनीबाट आएका कन्टेनर भरिएर भारत जानेछन् ।’ आफूहरू मधेसविरोधी नभएको जिकिर गर्दै उनले एमाले सरकारकै पालामा मधेसका सदरमुकाम, नगरपालिकामा ५० लाख थप अनुदान पठाएको बताए । २० वर्षसम्म त्यतिकै रहेको हुलाकी सडकका लागि पनि आफूले बजेट विनियोजन गरेको ओलीको दाबी छ । ‘दलित, आदिवासी र पिछडावर्गका नानीहरूलाई उच्च शिक्षासम्म नि:शुल्क गर्ने पार्टी मधेसविरोधी हुनै सक्दैन,’ उनले भने, ‘यो प्रोपोगान्डा हो ।’