गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।
मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका सवारीसाधनले शुक्रबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यार्थीलाई गन्तव्यमा पुर्याउनु पर्नेछ । उहाँले विद्यालयले अन्य सवारीसाधन प्रयोग गर्न नपाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छुट्टै राज्य गोर्खाल्यान्ड नहुन्जेल आन्दोलन जारी रहने भएकाले हामीले यहाँ रहेका विद्यार्थीलाई घर जान सजिलो होस् भनेर २३ जुनका लागि विद्यार्थी बोक्न अनुमति दिएका हौं ।’
भारत, नेपाल, भुटान लगायतका देशबाट दार्जीलिङ आएर पढने विद्यार्थीको संख्या ठूलो छ । यसपटक अचानक शुरु भएको बन्दले विद्यार्थी घर जान नपाई छात्रावासमै रहन बाध्य भएका छन् ।
बंगाल सरकारले राज्यआतंक मचाएको आरोप लगाउँदै आएका गोर्खाल्यान्ड पक्षधर दलले बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो । बंगाल सरकाले मोर्चा अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको उहाँले बताउनुभयो । केही दिनअघि प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको निवासमा छापा मारेपछि नेताहरू भूमिगत भएका छन् ।
यसअघि शनिबार प्रहरीसँग भएको झडपमा तीन नेपाली भाषीको मृत्यु भएको थियो । चार दिनदेखि इन्टरनेट बन्द छ । आन्दोलनका पक्षमा सिक्किममा पनि प्रदर्शन भएको खबर छ ।हेर्नुस गोर्खाल्यान्ड आन्दोलन भिडियोमा ।