बेकार विदेश आइएछ !

भिडियो सहित हेर्नुहोस !
Advertisement


खाडीमा आएर हातपाखुरा बजार्न थालेको पनि बर्षौं भयो । सकेसम्म काम गरिरहेको छु । र, सकीनसकी घरमा रेमिट्यान्स पठाइरहेको छु । म र मजस्तै साथीहरुले पठाएको रकमले मेरो घरपरिवारलाई मात्रै होइन्, देशको अर्थतन्त्रमा सानोतिनो सहयोग गरिरहेको छ । तर, आजकल नेपालको (अ)राजनीति हेर्दा त आफूलाई बेकारमा विदेश पो आइएछ कि जस्तो पो लाग्न थालेको छ ।

नेपालमै यति राम्रोसँग राजनीतिक उद्योग फस्टाएको छ कि राजनीतिमा लागेपछि सबैकुरामा क्षमा पाइने । जे गर्दा पनि छुट पाइने । धनदौलत, इज्जत पनि तिनकै हुने । अझ मान्छे मार्नेलाई त झन् ठूलो पुरस्कार । हेर्नुस् त रेशम चौधरी । एउटा पार्टीमा लागेर आठ दश जना पुलिस मार्ने अनि आफ्नो गोठमा आगो लगाएर डेढ करोडको सम्पति जलाइदिए भनेर दाबी गर्ने । अनि राज्यले त्यही पत्याएर डेढ करोड क्षतिपूर्ति पनि दिने । मान्छे मारेर छिमेकी भारतमा लुकेर बस्ने अभियुक्तलाई राज्यले पीडित भनेर क्षतिपूर्ति पनि दिने । कस्तो गज्जबको लोकतन्त्र पो ल्यायौँ हामीले । वाह शेरतन्त्र । वाह प्रचण्डतन्त्र । रातारात मालामाल हुने राजनीतिक उद्योग छाडेर खाडीमा हातपाखुरा बजार्न आउने हामी मुर्ख होइन् त ?


एउटा पार्टीको झोले भएपछि जे भन्यो, त्यही हुने रहेछ । अनि किन आउने हामी ५० डिग्रीको गर्मी खान अरबमा ?

अझ रमाइलो कुरा त मान्छे मारेपछि फरार भएका व्यक्तिले देशकै प्रधानमन्त्रीसँग पनि भेट गर्न पाउँछ, हाम्रो नेपालमा । प्रधानमन्त्री हुँदा पुष्पकमल दाहालले दिल्लीमा हत्या अभियुक्त रेशम चौधरीलाई भेटेको कुरा त्यतिबेलै सार्वजनिक भएको थियो । जबकी उनले होइन्, भनेर झुट बोलेका थिए । उनले भेट्नु, अनि अहिले पौने २ करोड क्षतिपूर्ति दिनु योजनाबद्ध नै थियो भन्ने खुलस्त भइसकयो । एउटा पार्टीको झोले भएपछि जे भन्यो, त्यही हुने रहेछ । अनि किन आउने हामी ५० डिग्रीको गर्मी खान अरबमा ?

खाडीमा काम गर्ने श्रमिकको भन्दा कम तलब खाने सरकारी कर्मचारीले गाडी बंगला सबथोक जोड्न भ्याएका छन् । अरबमा काम गर्ने मजदुरको जति नै तलब खाने नेपालका सभासद् झन् पजेरो चढछन्, महलमा बस्छन् । तर, हामी हातपाखुरा खियाउँदा पनि पजेरो जोड्नु त कहाँ हो कहाँ श्रीमतीलाई राम्रो कपडा पनि फेरिदिन सक्दैनौँ । अनि किन आउने बेकार खाडीमा काम गर्न ?

मलाई त आजकल यस्तो पो लाग्दैछ, कुन दिन शेरबहादुर देउवाको सरकारले सेन्टर जेल र देशैभर रहेका अपराधी र फरार अपराधी खोजेर पुरस्कृत गर्न र क्षतिपूर्ति दिन अधिकार सम्पन्न छुट्टै छानबिन आयोग गठन गर्न बेरछैन् । देउवा सरकारले नै अपराधीलाई पुरस्कृत गर्न क्षतिपूर्ति दिनबाट कोहीलाई छाड्दैन होला सायद ।

ए साँच्चै, माओवादी युद्धमा पुलिस र आर्मी मार्नेहरु पनि आज मन्त्री भइ सके क्यारे। माओवादी लडाकु दुस्मन हुन् भनेर ब्यारेकमै गायब पार्नेहरु आइजीपी भइसके । राजनीतिमा सोझा साझाको होइन्, अपराधीहरुको भबिष्य रहेछ । धन्य छ, मेरो देश ।

मर्ने पुलिसले भन्दा मार्ने अपराधीले १० गुणा बढी रकम पाए । कसैले भन्न सक्छ, टीकापुरमा ८ जना पुलिस मारिएनन भनेर ? दुधे बालकलाई कसले मार्यो ? एम्बुलेन्सबाट पुलिस थुतेर कस्ले मार्यो ? तिनलाई कारबाही गर्न खोज्दा उल्टै संरक्षण, उल्टै भेटवार्ता, उल्टै क्षतिपूर्ति ।

अपराधीलाई बचाउन खोज्ने झन महान अपराधी भएनन र ? नियम र कानुन स्वार्थसँग बेचेर किन खाँदैछन् नेताहरु ? तर, देशका रक्षक पुलिसको आत्माले तिमीहरुलाई सराप्छ । पाप धर्मको पनि ख्याल गर । कुनै पनि बहानामा राजनीतिमा अपराध गर्ने छुट छैन् । राजनीतिक आवरणमा गरिने अपराधलाई आममाफी दिनु भनेको संविधानको पनि गम्भीर उल्लंघन हो । देशघाती सरकार किन चाहियो हामीलाई ? सरकार संविधान संसोधन गरेर हत्यारालाई फासी किन नदिने ? अपराधीलाई डर, त्रास र सजाय देउ, देशसेवकलाई होइन ।

नत्र अपराधीलाई के को क्षतिपूर्ति ? अदालतमा मुद्दा चलेपछि निर्दोष भए छुटछन् र दोषी भए जेल जान्छन । ठीक छ, अदालतले नै अन्याय भएछ, अब राज्यले यति क्षतिपूर्ति देउ भनेर भन्छ भने त्यतिखेर सरकारले क्षतिपूर्ति दिनुपर्दछ । क्षतिपूर्तिको निर्णय गर्ने अदालतले हो कि सरकारले हो ? ८ जना पुलिस मारिँदा कसले मार्यो भनेर प्रत्यक्ष देख्ने र तमासा हेर्ने सशस्त्रका इन्स्पेक्टर र जवान जिउँदै छँदैछन् । यदि गलत तरिकाले कसलाई फसाइएको छ भने छानबिन गर्ने अधिकारीलाई कारबाही गरेर पुनः उच्चस्तरीय छानबिन गर । सरकारले निजी स्वार्थ पूरा गर्न गैरजिम्मेबार पूर्ण र एकपक्षीय निर्णय गर्छ भने समाजमा कस्तो नजिर बस्ला ? देश र जनताको रक्षा गर्ने पुलिस, आर्मीको मनोविज्ञानमा कस्तो असर पर्ला ? सत्ता र शक्तिमा पुग्नेले जे निर्णय गर्यो, त्यही हो लोकतन्त्र ? बरु लोकतन्त्रको परिभाषा नै फेर्ने हो कि ? सरकार नै दण्डहिनतालाइ प्रशय दिन्छ भने यस्तो पाराले कसरी होला दण्डहिनताको अन्त्य ? कसरी कायम होला शान्ति सुरक्षा ? कसरी आउला पीडित आफन्तको आँखामा खुशी ?

लोकतन्त्र र गणतन्त्रले जनताका लागि केही गर्न सकेन, त्यसैले एउटा ठूलो चिन्तामा छु, सारा नेपाली खुशी र सुखी हुने अन्तिम उपाय के होला ? गरिब नेपाली खुशी हुन् खाडी नै आउनु पर्ने हो त् ? अपराधीलाई सरकारले मालामाल बनाएको देख्दा त बेकार विदेश आइएछ जस्तो पो लाग्दैछ । (व्यंग्तात्मक लेख)

Related Posts: