नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका। माओवादीको भोट ब्याङ्क। जिल्लाको शक्तिशाली पार्टी राप्रपाका जिल्ला अध्यक्ष दइन्द्र ठकुरी, एमालेका जिल्ला अध्यक्ष झम्क नेपालले उम्मेदवारी दिएको ठाउँ। कांग्रेसले कहिल्यै चुनाव नजितेको यो ठाउँमा यस पटक लामो समय आफ्नो थातथलोबाट टाढा रहेका एक ५६ वर्षका अधवैंशेले उम्मेदवारी दिएका थिए।
अमेरिका पलायन भइसकेका एक व्यक्ति फर्केर स्थानीय सरकार प्रमुखमा चुनिनु सजिलो पक्कै होइन। तर उनको जितको पृष्ठभूमि थाहा पाउन माओवादी जनयुद्ध सुरु भएको समयतिर जानु पर्ने हुन्छ।
त्यतिबेला सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका चर्चित नेताका सूचीमा वंशलाल तामाङको नाम पनि थपिएको थियो। १६ वर्षकै उमेरमा २०३६ सालमा ऐँसेलुखर्क माविमा नेपाल विद्यार्थी संघको इकाई सभापति भएका उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनबाट त्यतिबेलाको इलाका नम्बर ६ बाट जिल्ला सदस्यमा निर्वाचित भएका थिए।
त्यहीँबाट राजनीतिक उचाइ थप्दै आएका तामाङ २०५७ सालमा कांग्रेस जिल्ला सचिव बने। २०४२ सालको सत्याग्रह आन्दोलनमा जेल परेका उनले त्यतिखेर जिल्ला प्रशासनको ढिलासुस्ती र घुसखोरीविरुद्ध अभियान छेडेका थिए। राजधानी नजिक भए पनि सिन्धुपाल्चोक विकट पहाडी क्षेत्र भएको र त्यहाँका अधिकांश जनतालाई प्रशासनले दुःख दिने भएकाले धेरैजसो समस्याका पोका लिएर तामाङकहाँ धाउँथे।
त्यतिबेला विकासका विषयभन्दा पनि प्रशासनमा गर्नुपर्ने कामहरु र कर्मचारीको हेपाहा प्रवृत्तिबाट सर्वसाधारण त्रसित थिए। आफूकहाँ पुगेका समस्या सजिलै पन्छाइदिएपछि उनी जनतामाझ लोकप्रिय बन्दै गए। २०५६ सालको मध्यावधि निर्वाचनमा धेरैले क्षेत्र नम्बर २ मा कांग्रेसबाट उनैलाई टिकट दिनुपर्ने माग गरे। तर, पार्टीले पत्याएन।
यद्यपि उनको लोकप्रियता भने बढ्दो नै थियो। राजनीतिसँगै समाजसेवामा अगाडि देखिएपछि उनलाई माओवादीले अपहरणको प्रयास गर्यो। अपहरण असफल भएपछि तामाङलाई माओवादीले ज्यान मार्ने धम्की दियो।
‘मलाई २०५९ पुस २६ गते राति माओवादीले ज्यान मार्ने धम्की दिए, त्यही दिनबाट गाउँमा बस्न सकिनँ, जिल्ला छाड्नुपर्यो,’ तामाङले भने, ‘ज्यान जोगाउन काठमाडौंमा भूमिगत भएँ।’काठमाडौंमा पनि माओवादीको निगरानी बढ्यो। त्यसपछि उनी अमेरिका पलायन भए। उनले देश छाडेको केही वर्षमै युद्धविराम भयो। र, उनको थातथलोमा दुई पटक संविधानसभाको चुनाव भयो। दुवै पटक माओवादीका अग्नि सापकोटाले जिते।
त्यही क्षेत्रमा पर्ने इन्द्रावती गाउँपालिकामा माओवादीको विरासत तोड्दै, एमाले जिल्ला अध्यक्ष झम्कनाथ नेपाललाई हराउँदै झन्डै १२ वर्ष अमेरिका बसेर फर्केका तामाङ प्रमुखमा चुनिएका छन्। यसअघि राप्रपा, एमाले र माओवादीले जित हासिल गर्दै आएको ठाउँमा तामाङको आगमन र कांग्रेसको जितले बेग्लै किसिमको उत्साह छाएको छ।
कांग्रेसले कहिल्यै चुनाव नजित्ने ठाउँमा उम्मेदवारी दिने आँट कसरी आयो?मुख्यत जनताको माग थियो। म अमेरिका हुँदा पनि मलाई विभिन्न माध्यममार्फत गाउँलेहरुले फर्किन अनुरोध गरिरहनुभयो। त्यसैले म निर्वाचन घोषणा गर्नासाथ अमेरिकाबाट फर्केँ। गाउँ गएँ। हरेक गाउँ पुग्दा सबैले मलाई नेतृत्वमा देख्न चाहेको बुझेँ। म आए हुन्थ्यो भन्ने उहाँहरुको कुराले मलाई उम्मेदवारी दिने आँट आयो।’
त्यही आँटले फेरि उनलाई अमेरिका नै फर्कायो। अमेरिका पुगे। स्थानीय तह निर्वाचन ऐन अनुसार विदेशी मुलुकको ग्रिनकार्ड भए उम्मेदवारी दिन पाइँदैन। त्यसैले ग्रिनकार्ड त्यागे। अनि निर्वाचनमा होमिए। र, जिते पनि।इन्द्रावतीको प्रमुखमा चुनिएपछि तामाङले खुशी साटे, ‘२०५६ देखि मलाई जनताले पर्खी बसेका रहेछन्, अखिर सत्यको जित भएको छ, मैले नराम्रो गरी गाउँ छाडेको भए मलाई जनताले मत नै दिँदैनथे।’जनस्तरमा व्यक्तिगत प्रभाव जित्नुको मुख्य आधार भएको उनको दाबी छ। अखिर त्यस्तो प्रभावकारी काम के गरेका छन् त उनले?
तामाङ भन्छन्, ‘अमेरिका पलायन भए पनि विभिन्न माध्यमबाट गाउँका विकास निर्माणमा जोडिएँ। यही सिलसिलामा न्युयोर्कमा सन् २०१० मा सिन्धु वेलफेयर सोसाइटी स्थापना भयो। त्यही संस्थामार्फत गाउँका अनाथ, द्वन्द्वपीडितलाई नेपालीकै सहयोगमा आवासीय सुविधासहित पढाउने व्यवस्था गरेँ। हाल १३ जना यस्ता बालबालिका काठमाडौंको कपनस्थित माउन्ट कैलाश स्कुलमा विभिन्न कक्षामा अध्ययनरत छन्।’
यस क्षेत्रका विद्यालयहरुमा उनले विभिन्न कार्यक्रम ल्याए। स्थानीय स्रोतलाइ व्यवस्थापन गर्दै खानेपानीको व्यवस्थाका लागि पनि परियोजना ल्याए। भूकम्पको समयमा अमेरिकामा रहेर राहतका लागि सक्रिय रहे। आफ्नो गाउँ र निर्वाचन क्षेत्रमात्र होइन सिन्धुपाल्चोककै क्षेत्र नम्बर १ मा पनि सक्रिय रहे। जुरे पहिरोले ध्वस्त भएको वनसाँघु माविको आधुनिक भवन उनकै नेतृत्वमा निर्माण भयो। त्यही क्षेत्रका अरु विद्यालयहरुमा पनि उनले सहयोग पुर्याए।
कुनै लाभको पदमा नहुदाँसमेत गाउँको विकासमा लागेका उनबाट जनताले धेरै आशा गरेका छन्। यस गाउँलाई नमुना गाउँपालिका बनाउने र विश्वका विभिन्न नगरहरुसँग मितेरी सम्बन्ध गाँसेर प्रविधिमैत्री बनाउने उनको योजना छ।‘घरघरमा धारा पुर्याउने घोषणा पार्टीको हो, यो अवश्य पूरा हुन्छ, इन्द्रावतीमा चक्रपथ हाम्रो सपना हो, हामी पाँच वर्षभित्रमा यो सपना पूरा गर्छौ। तर, हाम्रो पहिलो प्राथमिकता पुनर्निमाण नै हुनेछ,’ उनले भने।
चुनाव अगावै झापामा बन्यो यस्तो रेकर्ड ! झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य…Read More
अमेरिकामा छानिदै नेपाली सुन्दरीअमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०…Read More