पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस निल भएको छ ।
शुक्रबार राति सम्पन्न मतपरिणाममा एमालेको एकल प्यानल निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णका अनुसार, पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएका छन् ।
त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन् । ३३ वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए ।
गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली काँग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो ।