न्यायपालिकाकी देवीमाथि महिषासुुरहरूको आक्रमण

भिडियो सहित हेर्नुहोस !
Advertisement


आँधी आउनुअघि प्राकृतिक वातावरण सुनसान भए झैं संसद् केही दिनलाई स्थगित भनेर सुनसान बनाइयो । संसद्मा चालचुल र हिँडडुल बन्द नै भयो । संसदीय क्षेत्रमा शून्यता नै छायो । वातावरण शान्त पारियो । तर अकस्मात संसद्को मूर्दा शान्ति चिर्दै एक हुल लोगोधारीहरू योजनाबद्ध रूपमा पुगे । जे नगर्नुपर्ने हो त्यही गरे । त्यसविरुद्ध बोल्ने सांसदहरू त्यहाँ कोही भएनन् । भएका भए तिनको गतिविधिबारे त्यहीं छलफल हुन्थ्यो र त्यो कार्य त्यहीं रोकिन्थ्यो ।



झुक्यानमा नपारीकन ती कार्य भएका भए संसदीय मर्यादा र परम्पराले सिञ्चित, संविधान र कानुनबाट दीक्षित, सदनको अभ्यासले पारंगत, संसदीय स्वतन्त्रताका पक्षपोषक मानिने राधेश्याम अधिकारीहरूले तरंग निकाल्थे होलान् । प्रधानन्यायाधीशविरुद्ध खराब नियत राखेर दर्ता गर्न ल्याइएको अधकल्चो महाभियोगको प्रस्ताव दर्ता नै हुन पाउन्नथ्यो तर राधेश्याम जस्ता मूर्धन्य सांसदको हस्ताक्षर किर्ते भयो । राधेश्याम जस्ता विधायकले लोगो नफुकाउन्जेल त्यस्तो कार्य कदापि हुन पाउने थिएन । त्यसको कुनै उपाय नै थिएन । किनभने राधेश्याम फलामको बार झैं त्यसविरुद्ध उभिने थिए । अहिले पनि राधेश्यामको लोगो नचुँडेसम्म त्यो महाभियोग पारित हुन भने सक्दैन । त्यसविरुद्ध राधेश्यामले हुँकार गरिसकेका छन् ।

राधेश्याम अधिकारी त संसद्मा भएका उज्याला नक्षत्ररूपी सांसदका प्रतिनिधि पात्र मात्र हुन् । उनको छविका कारण कतिपय सांसदहरू प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउन लागे पनि उनी संसद्मा छउन्जेल उनलाई डग्मगाउन कसैको बुता चल्नेवाला छैन । यिनी संसद्मा उपस्थित भएसम्म महाभियोगले छलफलमा प्रवेश पनि पाउनेवाला छैन । संसद् बसेको दिन राधेश्यामले त्यो महाभियोगको अवैध प्रस्तावलाई नारायणहरि बनाइदिनेछन् ।त्यसैले सचेत जनहरू ढुक्क भएर षड्यन्त्र हेरेर बसिरहे हुन्छ ।
को हुन् सुशीला ?

प्रधानन्यायाधीशविरुद्ध नेपालको इतिहासमा पहिलोपल्ट महाभियोग संसद्मा दर्ता गरिएको छ । वास्तवमा को हुन् सुशीला कार्की ? सुशीला कार्कीबारे छापा, रेडियो र टीभी मात्र होइन, सामाजिक सञ्जाल पनि भरिएको छ । तर उनलाई चिन्न अरू होइन, उनको भर्खरै बनेको घरबारेको समाचारबाट थाहा पाउन सकिन्छ । कार्कीको सानो घर र सम्पत्ति युवापुस्ताले चासोको रूपमा हेरिरहेका छन् । किनभने उनमाथि महाभियोग लगाउने बूढानीलकण्ठ र लाजिम्पाट दरबारहरू, तिनका रवाफ, खानपिन, बसउठ पनि युवा पुस्ताको नजरले हेरिरहेका छन् ।
सुशीलाका तीन आयाम

प्रधानन्यायाधीश सुशीला कार्कीलाई तीन आयामबाट हेर्‍यो भने अलिनजिकबाट चिन्न सकिन्छ । टाक रेकर्डः विद्यार्थी हुँदा सुशीला कस्ती थिइन ? वकिल बनेपछि कस्ती भइन् ? यसको लागि उनको रेकर्ड हेर्नुपर्छ । उनको जुझारुपना थाहा पाउनुपर्छ । उनको पेसा र प्रजातन्त्रप्रतिको निष्ठा अनुभूत गर्नुपर्छ । सादगी र सरल जीवनशैली अपनाएर परिवारलाई पनि त्यसैमा अभ्यस्त बनाउँदै उनले पेसा कायम गरिन् । तर उनीभन्दा कमजोरले धेरै आम्दानी, अनेक काम र आयआर्जन मनग्यै गरे । सुशीला भने निष्कपट रूपमा साधनारत रहेकीले नै यो पदमा विराजमान हुन पुगेकी हुन् । यही बलमा प्रधानन्यायाधीशको कार्यकालमा पनि चर्चाको शिखरमा पुगिन् ।
न्यायाधीश बनेपछि

सर्वोच्च अदालतमा न्यायाधीश बनेर प्रवेश गरेपछिको आयाम सुशीला कार्कीको अर्को आयाम हो । यो त्यतिखेरको कुरा हो, जतिखेर बहुदलीय व्यवस्था देशमा स्थापना भयो । त्यतिबेला निरंकुशकालको अन्त्य भए पनि शक्ति पृथकीकरण प्रस्टसँग छुट्टिइसकेको थिएन । न्यायालय संकटमा थियो । माओवादी द्वन्द्व, राजाको अधिनायकवादको बेला सूक्ष्मरूपमा अगाडि बढ्दै, लो प्रोफाइलमा बसेर, शालीनतापूर्वक कार्यसम्पादन गरेर उनले आफूलाई मात्र स्थापित गराइनन्, आफ्नो पहिचान पनि कायम गरिन् ।

न्यायपालिकालाई संरक्षण गर्न सकिन्छ र न्यायालयभित्र बसेर इमानदारीसाथ काम गरियो भने यसबाट कानुनी राज कायम गर्न सकिन्छ भन्ने उनमा दृढ विश्वास थियो । न्यायाधीश भनेको कमाउने, सुखसयल, मोजमस्ती गर्ने, सेटिङमा काम गर्ने, गाँठवाला सिकार खोजिरहने होइन, यो त स्वच्छ न्यायमूर्ति बस्ने ठाउँ हो भन्ने आभास दिन कहिल्यै चुकिनन् । उनी न्यायको तपस्वीको रूपमै रहेकीले नै छोटो समयमा त्याग, तपस्या, साधना, पेसाप्रतिको निष्ठा र अविचलित रूपमा न्याय क्षेत्रमा कार्यसम्पादन गरेकीले न्याय दिने सर्वोच्च पदमा विराजमान हुन पुगिन् । नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास पनि कायम गरिन् ।
प्रधानन्यायाधीश बनेपछि

करिब एक वर्षअघि प्रधानन्यायाधीश बनेपछि सुशीला कार्की न्याय र न्यायिक संरचनाको नेतृत्व गर्ने दुर्गा बनिन् । त्यसपछि न्यायपालिकाको प्रमुखको जिम्मेवारी उनले कसरी निर्वाह गरिन्, सबै अगाडि जगजाहेर छ । हरेकले उनका एकएक गतिविधि हेरिरहेकै छन् । नयाँ पुस्ता र महिलाले उनलाई रोल मोडेल बनाएका छन् । आफ्नो टिमप्रति विश्वास, भरोसा र व्यावसायिक इमानदारी कायम गरेकीले यो सम्भव भएको हो ।
निर्भीक, आँटिली, साहसी र आत्मविश्वास भएकी सुशीला अरूको दबाब र रवाफमा किञ्चित निहुरिनन् र कार्यसम्पादन गरिरहिन् ।

उनका अग्रज पुरुष प्रधानन्यायाधीशहरूले आँट गर्न, छिमल्न र प्रवेश नै गर्न नचाहेका मुद्दाहरूलाई कार्कीले काभ्रेको कार्की गाउँका खली खानेहरूले आगोको भुंग्रोमा टेकेर खली खाएर वायु उतारे झैं एकपछि अर्को मुद्दा पर्गेलिन् । छिमल्दै गइन् । निम्ट्याउँदै गइन र न्यायालयभित्रको फोहोरको डंगुर सफा पार्दै रहिन् ।

कानुनी राज, विधिको शासन, स्वतन्त्र न्यायपालिकाको अस्तित्वलाई दह्रिलो बनाउँदै गइन् । यस काममा यिनले साहसिलो टिम पाएकीले नै उनको कार्यकाल चर्चामा आएको हो । सुशीला जत्तिकै काविल र क्षमतावान्, लोभलालच नभएका सहयात्री न्यायाधीशहरू पाएकीले उनी सफल बनेकी हुन् । त्यसैले महाभियोग प्रस्ताव संसद्मा दर्ता हुँदा पनि किञ्चित नहिच्किचाउनुको कारण अरू होइन, उनलाई विश्वास छ, मेरा सक्सेसरहरूले अब न्यायालयलाई सजिलै अगाडि बढाउन सक्छन् र न्यायालय युवा पुस्ताको ‘फस्र्ट च्वाइस अफ क्यारियर' बन्न सक्छ र बनाउनुपर्छ भन्ने ट्रेन्ड सेट गरिन् ।

यिनको कामले गर्दा नै हो, पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझीले सुशीलाको साहस र कर्तव्यनिष्ठालाई अप्ठेरो बेलामा ऐक्यबद्धता प्रकट गर्दै साथ दिए । ती चारजना प्रधानन्यायाधीशले गर्व गर्ने लायककी प्रथम महिला प्रधानन्यायाधीश भेट्टाए ।

प्रधानन्यायाधीश भएको एक वर्ष नपुग्दै सुशीलाले एकतिहाइ भ्रष्टाचार मुद्दा किनारा लगाइन् । लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्ने फैसला गरिन् । माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेलको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्डलाई पत्र काटिन् । आईजीपी नियुक्ति प्रकरणमा नियमसंगत काम गर भनेर सरकारलाई सचेत गराइन् । सुडान घोटाला काण्डका तीन पूर्व प्रमुख बर्दीधारीहरूलाई कैद सजाय सुनाइन् । कार्यकालबाट बिदा बस्नुअघि नै यिनी जटिल र आलटाल गरेर झुलिरहेका मुद्दाहरू छिमोल्न, पर्गेल्न कटिबद्ध भएर लागेकी थिइन् ।

Related Posts: