नेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।
आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।
बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।
बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको छ ।
संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० किलो सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।