कानमा कुण्डल, कमिजका टाँक खुला राखेका रवाफिला एक हुल युवा विशेष अदालत छिरेपछि प्रहरीहरू सतर्क भए । ती युवाहरू छरिए । चनाखो मुद्रामा चारैतिर हेरे । लगत्तै फिल्मी शैलीमा कालो चश्मा लगाएका चक्रे मिलन प्रवेश गरे । सेतो टिसर्ट र कालो जिन्स पाइन्टका साथ दुई वटा मोबाइल खेलाउँदै उनी अदालत परिसर छिरेर सबैको ध्यान खिचे । ५ भदौ मध्याह्न विशेष अदालतमा देखिएको दृश्य हो, यो । चक्रे मिलनलाई देखेपछि सहकर्मी अशोक दुलालले क्यामरा क्लिक गर्न लाग्दा उनले मुख बिगारे । दायाँ हातले मुख छोप्दै बोले, ‘लौ, फोटो खिच्छ, यार ! अवैध रूपमा सात करोड कमाएको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दा पेसीमा चढेपछि उनी सुनुवाइका लागि अदालत पुगेका थिए । काठमाडौंमा अकुत धन कमाएका ‘डन’मध्येका शक्तिशाली पात्र हुन्, चक्रे मिलन । अघिल्लो दिन ४ भदौमा उनका प्रतिद्वन्द्वी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतले सफाइ दिएको थियो । चक्रे पनि सफाइ पाउने अभिलाषामा छन् । विशेष अदालतका न्यायाधीशहरू पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको संयुक्त इजलासले आरोप पुष्टि हुन नसकेको भन्दै मनाङेलाई सफाइ दियो । आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले चार वर्ष लगाएर डनहरूको सम्पत्ति खोजविन गरी मुद्दा दायर गरेपछि धेरैको टाउको दुखाइ भएको छ । कहलिएका गुण्डाहरूको सम्पत्ति अवैध रहेको दाबीसहित विभागले मुद्दा दायर गरेपछि उदाउन लागेका अन्य गुण्डाहरू पनि तनावमा छन् । सबेैको सम्पत्ति एकीकृत गर्ने हो भने करिब ६३ करोड अवैध ढंगले कमाएको देखिने अनुसन्धानमा संलग्न अधिकृतको दाबी छ । ‘डन’हरूको प्रमुख दलका शीर्ष नेतृत्वसँग ‘कनेक्सन’ छ । गणेश–गच्छदार कनेक्सन गुण्डागर्दीबाट १७ करोडभन्दा बढी अकुत सम्पत्ति कमाउने गणेश लामा काभ्रेली समूहका नाइके हुन् । ठमेललाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका गणेश काठमाडौंमा शुरुमा सोल्टी क्यासिनोका बाउन्सर थिए । गुण्डानाइके दीपक मनाङेसँग सहकार्य गरेपछि उनको आर्थिक हैसियतको ग्राफ उकालियो । चक्रे मिलनका प्रतिद्वन्द्वी ठानिएका उनले नक्सालमा चक्रेमाथि खुकुरी नै प्रहार गरेका थिए । मनाङेसँग उनले सहकार्य गरी डान्सबारमा लगानीसमेत गरेका थिए । उनले कमाएकामध्ये करिब १७ करोड रुपैयाँ अवैध भएको दाबी विभागको छ । उनको काभ्रेमा ३६ रोपनी र भक्तपुरमा सात आना जग्गा छ । काठमाडौंमा पत्नीका नाममा उनको करिब चार आनामा बनेको भव्य घर छ । उनले भाइका नाममा १५ रोपनी जग्गा राखेका छन् ।