भाद्र १२, २०७४- गौरा पर्वको सुरुआतसँगै यहाँको माहोल डेउडामय बन्न थालेको छ । सुदूरपश्चिमेलीहरूको प्रमुख चाडका रूपमा मनाइने गौराका अवसरमा गाउँदेखि बजारसम्मका युवायुवती तथा महिला र पुरुषहरू डेउडामा रम्न थालेका हुन् । महेन्द्रनगर बजारको मात्रै आधा दर्जन बढी थलोमा स्वस्फूर्त डेउडा नृत्य चलिरहेको छ । केही थलोमा विभिन्न संघसंस्थाले पहल गरेका छन् । महाकाली साहित्य संगमले खुला मञ्च र खप्तड समाजले संविधान चोकमा डेउडा आयोजना गरिरहेको छ । यसैगरी मदनचोक र गोलमार्केटसँगै अन्य थलोमा पनि डेउडा गीत र नृत्य जारी छ । केही समूह प्रतियोगितामै उत्रिएका छन् ।