तातोपानी नाका नखुल्दा युवा बिदेसिन थाले

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १२, २०७४- चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका बन्द भएपछि सीमाका युवा बिदेसिन थालेका छन् । भूकम्पपछि बन्द नाका दुई वर्ष बित्दा पनि सञ्चालनमा नआएपछि स्थानीय युवा रोजगारीको खोजीमा लागेका हुन् ।
एक वर्षयता यहाँका युवाहरूको बिदेसिने क्रम ह्वात्तै बढेको छ । भारी बोकेर दैनिक जीवन चलाउँदै आएका सयौं युवा बिदेसिएका छन् । ‘पहिला कमाएको पैसा सकियो,’ स्थानीय सरित थामीले भनिन्, ‘जीवन चलाउन पनि मुस्किल हुन थालेपछि साहुसँग ऋण गरेर श्रीमान् रोजगारीका लागि बिदेसिनुभयो ।’ सामान ओसारपसार गरेर तीनजनाको परिवार पालिएकामा तातोपानी नाका बन्दपछि उनीहरू बेरोजगार बनेको उनले सुनाइन् । उनले छिमेकका युवाहरू धमाधम विदेश जान थालेका सुनाइन् ।
उनका श्रीमान् दिलमान थामी २ लाख रुपैयाँ ऋण गरेर दुबई गएका छन् ।
यहाँ हुँदा उनले भारी बोकेर दैनिक २/३ हजार रुपैयाँसम्म कमाउने गरेको सरिताले बताइन् ।
सीमा गाउँ लिपिङका युकेश शेर्पा, सानु थामी, विकास तमाङसहित एउटै टोलका १० जना युवाको समूह कतार, दुबई र मलेसिया गएका छन् । स्थानीय शान्तमाया शेर्पाले भनिन्, ‘काम नभएपछि बालबच्चा पाल्नै कठिन भयो । त्यसैले विदेश जानुको विकल्प नै रहेन ।’
तातोपानी नाकामा जोडिएको लिस्ती, फुलपिङकट्टी, मार्मिन, गाती, घुमथाङलगायतका गाउँबाट बिदेसिने क्रम बढ्दो छ । नाका खुलेपछि रोजगारी पाइएला भन्ने आशा थियो,’ भोटेकोसी गाउँपालिकाका जित शेर्पाले भने, ‘व्यापार नखुल्ने भएपछि दाजु नोर्बु दुई महिनाअघि साउदी अरब जानुभयो ।’ नाकामा रहेको रोजगारी गुमेपछि उनी अन्योलमा छन् । ‘राहदानी बनाइसकेको छु,’ उनले थपे, ‘अब विदश नै जानुपर्ला ।’ नाकामा सामान ओसारपसार गर्ने सयौं युवाको रोजगारी गुमेको उनले सुनाए ।
भूकम्पले क्षतिविक्षत भएको नाकाको संरचनालाई गत असारमा आएको बाढीले थप क्षति पुर्‍याएको थियो । बाढीले मितेरी पुल नजिकैका ८० घर बगाएको थियो । सीमा क्षेत्रमा कार्यरत माइती नेपालका अनुसार नाका बन्दपछि पछिल्लो एक वर्षयता रोजगारीका लागि बिदेसिनेको संख्या ह्वात्तै बढेको छ । पुरुषभन्दा महिलाको संख्या बढी रहेको सामी परियोजद्वारा सञ्चालित सूचना तथा परामर्श केन्द्रले जनाएको छ । सीमा क्षेत्रका सबै होटल बन्द भएका छन् । स्थानीय दावा लामाले भने, ‘सानो चिया पसल खोलेर घर चलाउनेले हाल परिवार पाल्न सकेका छैनन् । सरकारले नाका सञ्चालनको पहल नगर्दा सयौं युवा बिदेसिएका छन् ।’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले भने, ‘भौतिक पूर्वाधार बनिसकेकाले नाका सञ्चालनका लागि समस्या छैन ।’ दैनिक करोडदेखि अर्ब रुपैयाँसम्म राजस्व संकलन गर्ने नाका बन्द भएको दुई वर्ष बितिसकेको छ ।

Related Posts: