निजगढ (बारा) : राष्ट्रिय गौरवका आयोजनामध्ये बहुचर्चित र बहुप्रतिक्षित काठमाडौं-तराई जोड्ने फास्ट ट्र्याक (द्रुतमार्ग) को निर्माण कार्य आइतबारदेखि सुरु भएको छ । ७६.२ किलोमिटर लामो उक्त फास्ट ट्र्याक भिन्न भिन्न १० ठाउँबाट बनाइने भएको हो । मन्त्रिपरिषद्ले वैशाख २१ गते निर्णय गरी नेपाली सेनालाई जिम्मा दिएको उक्त काम चार वर्षभित्रै सक्ने भएको छ फास्ट ट्र्याक निर्माण आयोजनाका प्रमुख योगेन्द्रबहादुर खाँडले नेपाली सेनाले फास्ट ट्र्याकलाई निर्धारित समय चार वर्षभित्रै सम्पन्न गर्न भिन्न भिन्न १० स्थानबाट एकैसाथ निर्माण कार्य अघि बढाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परामर्शदाताको छनोट कार्य अघि बढाइसकेका छौं । निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि भएकाले यसलाई समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्नेछौं ।’ छिमेकी मुलुक चीन र भारतको ट्रान्जिट प्वाइन्टका रूपमा फास्ट ट्र्याक रहने उल्लेख गर्दै निर्माणपछि काठमाडौंबाट निजगढ ५९ मिनेटमा पुगिने उहाँको भनाइ थियो ।
सेनाको पूर्वअध्ययनअनुसार, सवारीसाधन ढिलोमा ६५ र छिटोमा एक सय २० किलोमिटरको गतिमा सञ्चालन गर्न सकिनेछ । फास्ट ट्र्याकको चौडाई पहाडमा २३ र तराईमा २५ मिटरको हुनेछ भने यो ललितपुरमा ८, काठमाडौंमा ४, मकवानपुरमा ५६.६ र बारामा ७.६ किलोमिटर पर्नेछ । उहाँले भन्नुभयो, ‘फास्ट ट्र्याकमा ९९ वटा पुल, ६ वटा आकाशे पुल, ६ ठाउँबाट प्रवेशद्वार र ५.५ मिटर उचाईका ९.५ मिटर चौडाईका १.३ किलोमिटरका दुईवटा सुरुङ हुनेछन् ।’ सडकमा सूचना दिने पाटी प्रत्येक दुई किलोमिटरको दूरीमा रहनेछन् । सडकमुनि फाइबर, ग्याँस पाइप र विद्युत् आदिका तारसमेत बिछ्याइने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बाराको निजगढमा बनाइएको स्तम्भ आइतबार विहान अनावरण गरी फास्ट ट्र्याकको शिलान्यास गर्नुभएको हो । सेनाको धर्मसंस्कृति हेर्ने टोलीले धार्मिक विधिअनुसार पूजा गरेपछि प्रधानमन्त्रीले स्तम्भ अनावरण गरी शिलान्यास गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले इमान्दारिताका साथ काम गर्न सके देशमा चामत्कारिक रूपमा विकास गर्न सकिने बताउनुभयो । नेपाली सेनालाई विश्वास गरेर दिएको राष्ट्रिय गौरवको आयोजना सेनाका लागि गौरव र चुनौती दुवै भएकाले निर्धारित समयमै गुणस्तरीय काम गरी सम्पन्न गर्न नसके दाग लाग्ने उहाँको भनाइ थियो ।
‘देश निर्माणका निम्ति राष्ट्रिय अठोटको आवश्यकता र ऐतिहासिक संकल्पको खाँचो थियो त्यो जनताले आज प्राप्त गरेका छन्’, आफू केयर टेकर प्रधानमन्त्रीको भूमिकामै रहँदा पनि शिलान्यास गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै प्रचण्डले थप्नुभयो, ‘यसले मधेससँग पहाड र हिमालका मनहरू जोड्ने काम गरेको छ, समग्र नेपाली जनतामा नयाँ आत्मविश्वास र एकता पैदा गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले वनमन्त्री शंकर भण्डारीले फास्ट ट्र्याक, विद्युत्लगायतका कामका लागि सहज हुने गरी हालै गरेको निर्णय आफूभन्दा पनि क्रान्तिकारी भएको टिप्पणी गर्नुभएको थियो । उहाँले सेनालाई देश र जनताको भविष्यसँग जोडिएको योजनाको काम सोचेजस्तो हुन नसके सेनाको इतिहासमा दाग लाग्न सक्ने भन्दै समयमै गुणस्तरीय काम गरी आँखामा नबिझाउने र गौरव गर्न सक्ने ठाउँ दिन पनि सुझाव दिनुभयो ।
द्रुतमार्गले समय र दूरीमात्रै नघटाउने र यसले अनेक महत्वव बोकेको प्रष्ट पार्दै उहाँले थप्नुभयो, ‘फास्ट ट्र्याक सक्नासाथ सरकारले सेनालाई विशेष सम्मान र पुरस्कार प्रदान गर्नेछ ।’ राष्ट्रियता र विकास निर्माणको पक्षमा सधैं प्रतिबद्ध भएर लाग्ने नेपाली सेनाले तोकिएको मितिमा काम सम्पन्न गरेर देखाउन जरुरी रहेकोमा पनि उहाँले जोड दिनुभयो । शिलन्यास कार्यक्रमलाई १५ मिनेट सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले देशलाई समृद्धितर्फ अघि बढाउनका निम्ति गुरुयोजनासमेत पारित गरिसकेको बताउनुभयो । लोडसेडिङबाट आक्रान्त भएका जनतालाई राहत दिन उज्यालो नेपालको अभियान ल्याएर देशलाई लोडसेडिङमुक्त गर्नेदेखि ७.५ प्रतिशतले आर्थिक वृद्धिदरका हिसाबले सरकारले काम गरेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले १० महिने सरकारको नेतृत्वमा रहँदा आर्थिक समृद्धिलाई ध्यानमा राखेर काम गरेको र सोहीअनुरूप फास्ट ट्र्याकको शिलन्यास गरेको बताउनुभयो । चार लेनको हुने फास्ट ट्र्याक ललितपुरको खोकना, चाल्नाखेल, गढी, छतिवन हुँदै बाराको निजगढस्थित महेन्द्र राजमार्गलाई जोड्नेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अबको चार वर्षमा राजधानी र मधेसको दूरी करिब एक घण्टाको हुने बताउनुभयो । द्रुतमार्ग निर्माण गर्ने जिम्मेवारी पाएको सेनाले समयमै काम सम्पन्न गर्नेमा सरकार आशावादी रहेको भन्दै मन्त्री लेखकले नेपाली जनताले अब धेरै प्रतिक्षा गर्न नपर्ने बताउनुभयो ।
‘अबको चार वर्षमा एक घण्टाको सडक यात्राले हामी मधेसबाट काठमाडौं पुग्नेछौं’, उहाँले थप्नुभयो, ‘फास्ट ट्र्याकलाई प्रश्नै प्रश्नको घेरा र अनिश्चितताभित्र राख्न नहुने निष्कर्ष निकाल्दै सरकारले सेनामाथि पूर्ण भरोसा गरेर निर्माणको काम सुम्पिएको हो ।’ उक्त सडकले छिमेकी राष्ट्र चीन र भारतलाई समेत जोड्ने भन्दै त्यसबाट नेपालले लाभ लिन सक्नेमा समेत आफू आशावादी रहेको उहाँले बताउनुभयो । प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सबैले गर्व गर्न सक्ने गरी नेपाली सेनाले फास्ट ट्र्याक बनाउने र कामको गुणस्तरीयतामा कुनै कमी आउन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थिय।
रक्षामन्त्री बालकृष्ण खाँडले महत्ववपूर्ण योजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समयमा काम सम्पन्न गरेर सेनाको गरिमा थप उचो पार्नेमा आफू ढुक्क रहेको बताउनुभयो । द्रुतमार्ग निर्माणको काम सुम्पने सरकारी निर्णय सेनाका लागि अत्यन्त खुसी र चुनौतीको विषय रहेको भन्दै मन्त्री खाँडले देशको समृद्धिसँग जोडिएको आयोजना निर्माणमा सेना गम्भीरताका साथ लाग्ने बताउनुभयो । फास्ट ट्र्याक निर्माणका लागि सरकारले बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको अध्यक्षतामा अधिकार सम्पन्न निर्देशक समिति गठन गरेको थियो । समितिका अध्यक्ष रथी थापाले वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणका लागि सेनालाई सुम्पिने भन्दै निर्णय गरेपछि आफूहरु निकै उत्साहित भएको बताउनुभयो ।
उहाँले २०६७ सालमै करिब ९४ करोड रुपैयाँमा नेपाली सेनाले नै ट्र्याक खोलेको जानकारी दिँदै भन्नुभयो, ‘फास्ट ट्र्याक सिभिल इन्जिनियरिङबाट बनाउनेछौं । सबैखालका हस्तक्षेपबाट मुक्त रहने वातावरण बने चार वर्षभित्रै बन्नेछ ।’ यसअघि भारतको एक कम्पनीले गरेको डीपीआर (विस्तृत अध्ययन प्रतिवेदन) ले फास्ट ट्र्याक निर्माण सम्पन्न गर्न करिब एक सय १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । फास्ट ट्र्याकको निर्माण सम्पन्न भएपछि वार्षिक १० अर्बको इन्धन बचत हुने र वार्षिक सवारी मर्मतबापत १५ अर्ब रुपैयाँ जोगिने अनुमान गरिएको छ ।
जसमा दैनिक पाँच हजार सवारीको चाप हुने पनि अनुमान गरिएको छ । फास्ट ट्र्याकले कलकत्ता बन्दरगाहदेखि काठमाडौंसम्मको दूरी छोट्याएर धुवानी सहज बन्न मद्दत पुग्ने अपेक्षा सरकारले गरेको छ । चार लेनको हुने फास्ट ट्र्याक ललितपुरको खोकना, चाल्नाखेल, गढी, छतिवनहुँदै बाराको निजगढस्थित महेन्द्र राजमार्गलाई जोड्नेछ । शिलान्यास समारोहमा बाराबासीले बाजागाजासहित र्याली निकालेका थिए ।
मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत
नेकपा (माओवादी केन्द्र)ले मधेसमा एक लाख वढी मत वढाएको छ।अघिल्लो संविधानसभा निर्वाचनमा दुई नम्वर प्रदेशका आठ जिल्लामा प्राप्त गरेको कुल मत भन्दा अहिले…Read More