फेरि चितुवाको त्रास

भिडियो सहित हेर्नुहोस !
Advertisement


बैतडी : शिवनाथ गाउँपालिकास्थित लोजनीका मानसिंह साउद र पार्वती साउदलाई फेरि चितुवाको आक्रमणमा पर्ने त्रासले सताउन थालेको छ । बिहीबार चितुवा आक्रमणबाट मेलौली-९, असुरकी ४० वर्षीया कुन्धादेवी भट्टलाई घाइते बनाएको सुनेपछि साउद दम्पतीमा दिवंगत छोराको यादसमेत बढेको छ । २०६८ सालको एक साँझ आँगनमा खेल्दै गरेका सुशीललाई चितुवाले लगेको घटना सम्झिँदा उनीहरूलाई पीडा लागिरहेको छ ।
‘आँखा अगाडि नै छोरालाई चितुवाले लग्यो, फेरि आतंक मच्चाउन थालेछ', मानसिंहले भने, ‘चितुवा नियन्त्रणको पहल सरकारले गर्नुपर्छ । मान्छे खाँदै हिँड्ने चितुवालाई सरकारले कहिलेसम्म पालिराख्छ? ' चितुवाले फेरि आक्रमण गर्न थालेपछि तल्लोसोराडवासी त्रसित बनेका हुन् । चितुवा आक्रमणबाट छोरी गुमाएका हीरा चन्दले फेरि तल्लोसोराडवासी चिन्तित भएको जानकारी दिए । ‘चितुवाले बस्तीमै पसेर आक्रमण गर्न थालेको छ । अहिलेसम्म २३ जनाको ज्यान लिइसकेको छ', उनले भने, ‘यस्तो चितुवा नमार्ने हो भने फेरि मानवीय क्षति हुन सक्छ ।'
चितुवा आक्रमणबाट आठभन्दा बढी घाइते भइसकेका छन् । उनीहरूमा पनि मनोवैज्ञानिक त्रास रहेको उदयदेव स्वास्थ्य चौकीका अहेव नरेन्द्र महताले बताए । ‘चितुवा आक्रमणबाट बचेकाहरू कालको मुखबाट बचेको भन्छन्', अहेव महताले भने, ‘उनीहरूमा मनोवैज्ञानिक त्रास कायमै छ ।' बिहीबार बिहान एक महिला घाइते बनेको र साँझ चितुवा बस्ती पसेकाले स्थानीयमा त्रास थपिएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताए ।


मेलौली नगरपालिकाले चितुवा मार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । स्थानीय वस्तुस्थिति बुझेर चितुवा मार्न आग्रह गरेको नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए । ‘नगरपालिकाका तर्फबाट हामीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छौं', उनले भने, ‘चितुवा बस्तीमा पस्न थालेको छ । अब भने मार्नुको विकल्प छैन् ।'

Related Posts: