नेपालका प्रशिक्षक सुनील श्रेष्ठ फाइनललाई महत्त्वपूर्ण अवसरका रूपमा लिन्छन् । ‘हामी उपाधि जित्नकै लागि मैदानमा उत्रने छौं ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र ११, २०७४- नेपाल र भारत आइतबार साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा भिड्दै छन् । चौथो संस्करणसम्म आइपुग्दा नेपाललाई भारत बाहेक कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । यसअघिका तीनै संस्करणमा नेपालको यात्रा भारतले टुंग्याएको छ ।
जारी प्रतियोगिताको समूह चरणमा पनि नेपाली टिम भारतसँग २–१ ले पराजित भइसक्यो । नेपाली युथ टिमलाई भारतसँग बदला लिने अवसर मिलेको छ । त्यो हो फाइनल प्रतिस्पर्धा । भारतलाई पराजित गरे नेपालका लागि पहिलोपल्ट उपाधि जित्नुका साथै अहिलेसम्मका हारको बदला पनि हुनेछ । समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेको नेपाल बंगलादेशलाई ४–२ ले पराजित गर्दै फाइनल पुगेको हो । समूहको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६–० को सहज जित दर्ता गरेको नेपाल दोस्रोमा भने भारतसँग पराजित भएको थियो ।
नेपालका प्रशिक्षक सुनील श्रेष्ठ फाइनललाई महत्त्वपूर्ण अवसरका रूपमा लिन्छन् । ‘हामी उपाधि जित्नकै लागि मैदानमा उत्रने छौं । उपाधि जित्ने र भारतसँग बदला लिने अवसर जुरेको छ । खेलाडीहरूले पनि निरन्तर प्रदर्शनमा सुधार ल्याइरहेका छन् ,’ उनले भन,े ‘भारत निकै राम्रो टोली हो । पछिल्लो खेलमा पनि हामी भारतसँग पराजित भइसकेका छौं । तर फाइनल भने हामी बेग्लै उत्साहका साथ खेल्नेछौं ।’
प्रशिक्षक श्रेष्ठले समूह चरणमा हार्दा गरेको गल्ती सुधार्ने लक्ष्य राखेका छन् । ‘समूह चरणमा हाम्रो रणनीति सफल हुन सकेन । तर सेमिफाइनल नतिजाले टोलीको मनोबल बढेको छ । फाइनलमा हाम्रो योजनाहरू सफल हुन्छन् भन्ने आस छ,’ उनले भने ।
खेलेका सबै खेल जितेको भारतले सेमिफाइनलमा भुटानलाई ३–० ले हराएर उपाधि भिडन्त पक्का गरेको हो । समूह चरणमा माल्दिभ्सविरुद्ध ९–० को फराकिलो जित पाएको भारत नेपाललाई हराएपछि समूह विजेता बनेको थियो ।
भारतीय प्रशिक्षक बिबियानो फर्नान्डेजले अपराजित रहेर उपाधि जित्ने लक्ष्य राखेका छन् । ‘कुनै पनि टोलीलाई लगातार दुईपल्ट पराजित गर्न गाह्रो हुन्छ । प्रतियोगिता अवधिभर गरेको राम्रो प्रदर्शनलाई फाइनलमा पनि निरन्तरता दिन्छौं । यद्यपि नेपालले राम्रो चुनौती दिने आस राखेको छु,’ उनले भने, ‘फाइनलमा दुवै टोली उपाधि जित्न उत्रन्छन् । त्यसमा एक टोली सफल हुन्छ । पछिल्लो खेलको तुलनामा फाइनल फरक हुनेछ ।’
नेपालका कप्तान रोशन रानामगरले प्रत्येक खेलमा नेपालको प्रदर्शन सुधारिएकाले फाइनलमा त्यसलाई निरन्तरता दिएर उपाधि जित्ने लक्ष्य रहेको बताए । भारतीय कप्तान विक्रमप्रताप सिंहले भने उपाधि जित्दा आफूहरूलाई अर्को महिना हुने एएफसी छनोटमा ठूलो सहयोग पुग्ने बताए । समूह चरणमा दुवै कप्तानले एकअर्काविरुद्ध गोल गरेका थिए ।

Related Posts: