भाद्र १२, २०७४- बलिउड अभिनेत्री काजोल र निर्माता/निर्देशक करण जौहर गत वर्षको कुख्यात भनाभनअघिसम्म अति घनिष्ठ थिए । काजोल आफ्ना पति अभिनेता अजय देवगण र करणबीचको विवादमा नराम्ररी तानिइन् र त्यो मित्रता इतिहास बन्न बेर लागेन । तर, अब उनीहरू दुईबीच सम्बन्ध सुध्रिँदै गएको छ र यसमा अजयले ग्रिन सिग्नल दिएको बुझिन्छ । अजय र करणबीच विवाद उब्जिएको थियो, फिल्मका कारण । अजय निर्देशित ‘शिवाय’ र करण निर्देशित ‘ऐ दिल है मुस्किल’ एकै दिन रिलिज हुँदै थिए । त्यसअघि स्वघोषित फिल्म समीक्षक एकजना खानले ‘शिवाय’ का विरुद्ध सोसल साइटहरूमा दुष्प्रचारको शृंखला चलाए । अजय पक्षले बुझदा ती खानले यसका लागि आफूलाई करणले लाखौं रुपैयाँ दिएको बताएछन् । त्यसपछि के थियो, अजय–करण मौखिक युद्धमा भिड्न थाले । यस्तोमा स्वाभाविकै थियो, काजोल आफ्ना पतिको पक्षमा उभिइन् र करणले त्यस्तो गरेको सुन्दा आफू घोर आश्चर्यमा परेको प्रतिक्रिया दिइन् । आफूले खानलाई पैसा दिएर ‘शिवाय’ को बदख्वाइँमा लगाएको आरोप झूटो भएको भन्दै आएका करण पनि काजोलको व्यवहारबाट तिलमिलाए । हुँदाहँुदा दुईबीच बोलचालै बन्दै भयो । पछि आफ्नो बायोग्राफीमा काजोलसँग सम्बन्ध तोडिएको घोषणै गरे । तर, त्यस्तो अवस्था लामो समय रहन पाएन । करण केही महिनाअघि जुम्ल्याहाका डयाड बने, सरोगेसीका माध्यमले । उनले रक्षा बन्धनमा इन्स्टाग्राममा राखेको तिनको फोटामा काजोलले लाइक ठोकिदिइन् । यसबाट करण भावुक भए र काजोलले इन्स्टाग्राममा फलो गर्न थाले । हुँदाहुँदा उनी काजोलको बर्थडेका दिन उनको घरै पुगे । अब अजयले पनि यसलाई सामान्य रूपमा लिएको देखिन्छ । ‘व्यक्तिगत मुद्दाहरूमा मैले कहिल्यै बोलेको छैन,’ मुम्बईमा एउटा फिल्मको प्रोमोसनमा रहेका अभिनेताले काजोल–करण सम्बन्धबारेको प्रश्नमा भनेका छन्, ‘यो पनि त्यस्तै निकै व्यक्तिगत विषय हो र म फेरि पनि केही भन्न चाहन्नँ ।’