भाद्र १३, २०७४- बंगलादेशले दिने एमबीबीएस कोटामा छात्रवृत्ति मिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने मोहम्मद जौवाद अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अन्सारीलाई वीरगन्जबाट शनिबार पक्रेर काठमाडौं ल्याएको हो । तीन फरक–फरक विद्यार्थीलाई दूतावासले दिने एमबीबीएसको छात्रवृत्ति कोटा मिलाइदिने भन्दै उनले एक जनाबाट २० लाख, अर्कोबाट १२ र तेस्रो व्यक्तिबाट ७ लाख रुपैयाँ असुलेका थिए । ब्युरो स्रोतका अनुसार अन्य केही पीडित पनि ब्युरोको सम्पर्कमा आएका छन् । एमबीबीएसको तयारी कक्षा पढिरहेकी कागेश्वरी मनहराकी कृष्णा दाहाल काठमाडौंस्थित बंगलादेशी दूतावास पुगेकी थिइन् । एमबीबीएस पढ्न दूतावासले दिने छात्रवृत्ति कोटाको फारम भर्नका लागि दूतावास पुगेका बेला दाहालले अन्सारीलाई भेटेकी थिइन् । त्यही बेला अन्सारीले उनलाई आफूले दूतावासका कर्मचारी चिनेको र त्यसैका आधारमा नाम निकालिदिन पहल गरिदिने बताउँदै टेलिफोन नम्बर लिएका थिए । फारम बुझाएर फर्केको केही दिनपछि नै अन्सारीले दाहाललाई सम्पर्क गरी नाम निस्कने पक्कापक्की जस्तै भएको तर कन्र्फम गर्नका लागि दूतावासका कर्मचारीलाई पैसा खुवाउनुपर्ने बताएका थिए । यस्तै आश्वासनका भरमा उनले दाहालबाट सात लाख रुपैयाँ असुलेका थिए । दूतावासको छात्रवृत्तिमा नाम ननिस्केपछि भने अन्सारी सम्पर्कविहीन भएका थिए । एमबीबीएसको तयारी गरिरहेका अर्का विद्यार्थी प्रशान्तमणि पौडेलसँग १२ लाख र कमलनारायण रसतौलीसँग उनले २० लाख रुपैयाँ असुलेका थिए । यी दुवैलाई अन्सारीले दाहाललाई जस्तै आश्वासन दिएर पैसा असुलेका थिए र पछि सम्र्पकविहीन भएका थिए । बंगलादेशी भाषा जान्ने र बेलाबखत अनुवादकका रूपमा काम गर्ने भएकैले अन्सारी बंगलादेशी दूतावास आउजाउ गर्ने गर्थे । यही आउजाउलाई अन्सारीले ठगी धन्दाको माध्यम बनाएका थिए । अन्सारीका बाबु हमिद अन्सारी साउदी अरबका लागि पूर्वनेपाली राजदूत हुन् । राजदूत रहेका बेला मृतक कामदारका आफन्तले पाउनुपर्ने राहत रकम हिनामिना गरेको अभियोगमा उनलाई २०७२ चैतमा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । विशेषले उनलाई ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद सजाय सुनाएको थियो । स्रोतका अनुसार छोराको ठगी प्रकरणमा बाबुको भूमिकामाथि पनि अनुसन्धान सोझिने सम्भावना छ ।
गस्तीमा हिडेको सेनाको गोलि लागि मृत्युघोराही : दाङमा गस्तीमा हिँडेका नेपाली सेनाले बोकेको हतियारबाट स्वचालित गोली चल्दा एक जना नेपाली सेनाको मृत्यु भएको छ। रिपुमर्दन गण घोराही दाङमा कार्यर…Read More