कुश्मा: नेपाली कांग्रेस पर्वत क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गंगाधर पौडेलले पदबाट राजीनामा दिनु भएको छ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदको आकांक्षी समेत रहनु भएका ६० वर्षीय पौडेलले नेपाली काँग्रेसले आइतबार कुश्मामा आयोजना गरेको विजयी सभामा पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो।
उहाँले आफ्नो राजीनामा पत्र कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल र केन्द्रीय सदस्य तथा सांसद अर्जुनप्रसाद जोशीलाई बुझाउनु भएको हो। स्थानीय तहको चुनावमा कुश्मा नगरपालिकाको प्रमुख पदमा आफु आकांक्षी हुँदाहुँदै पार्टीले कनिष्ठ र आफ्नै नातेदार भाइलाई टिकट दिएको भन्दै उहाँले राजीनामा दिएको बताउनु भयो। ४० वर्षभन्दा लामो आफ्नो राजनीतिक बलिदानीलाई लत्याउँदै उक्त हर्कत सहन नसकेर आफुले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उहाँले बताउनु भयो। उहाँले अब स्वतन्त्रपूर्वक रुपमा बाँकी जीवन बिताउने समेत बताउनुभयो।
आफ्नो योगदान र त्याग जिल्ला कार्यसमिति र कांग्रेस केन्द्रलेसमेत बेवास्ता गरेको भन्दै अब कांग्रेससँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नु भयो। उहाँले वैैशाख १८ गतेनै केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएको तर, जिल्लामा चुनावी वातावरण खल्बलिन्छ भनेर चुपचाप बसेको र विजयी भइसकेपछि कुश्मा नगरपालिकाको विजयी सभामा राजीनामा बुझाएको बताउनुभयो। सांसद अर्जुनप्रसाद जोशीका बाबु स्वर्गीय अमृत जोशीकै कार्यकालदेखि सक्रिय राजनीति गर्दै आएको भएपनि पार्टीले आफ्नो राजनीतिक योगदानमाथि खेलवाड गरेको आरोप लगाउनुभयो। पौडेलले आफ्नो अन्तिम इच्छा नगरपालिकाको प्रमुख हुने रहेको भएपति त्यो पूरा हुन नसकेपछि पदमा बसिरहन आवश्यक नठानेर राजीनामा दिएको बताउनुभयो।