हेर्नुहोस् प्रमाण : सस्तो ब्याजको लोभमा प्रधानमन्त्री प्रचण्ड यसरी परे कालोधनको घेराबन्दीमा

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, जेठ ९ – दश वर्षसम्म सशस्त्र विद्रोह गरी समानान्तर सत्ता चलाउँदै आएका माओवादी सुप्रिमो ‘प्रचण्ड’ उर्फ पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री भएर राज्यसत्ताको सम्पूर्ण बागडोर आफ्नो हातमा आइसकेपछि कालोधनको चक्करमा फसेका छन् । विदेशी बैंकबाट तीन प्रतिशत ब्याजमा कर्जा मिलाइदिने र कर्जा लिएबापत पोलिटिकल फण्ड पनि दिलाउने भनी विवादास्पद केही व्यक्तिले प्रधानमन्त्री दाहाललाई ‘कन्भिन्स’ गरेपछि उनले उक्त रकम लिने व्यवस्था मिलाउन आफ्नो मन्त्रिपरिषद्का केही मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् र तीमध्ये एक मन्त्री सरकारबाट हटिसकेका छन् भने एक जना मन्त्री मन्त्रालय परिवर्तन भइसकेको छ ।

सरकारबाट हटेका मन्त्री हुन् पर्यटनमन्त्री दिलनाथ गिरी । मन्त्रालय फेरिएका मन्त्री हुन् जीवनबहादुर शाही । शाही पहिला पर्यटनमन्त्री थिए, अहिले खानेपानी तथा सरसफाइमन्त्री छन् ।तीन प्रतिशत ब्याजमा विदेशी बैंकबाट कर्जा जुटाइदिन प्रधानमन्त्री प्रचण्डलाई ‘कन्भिन्स’ गर्ने व्यक्तिहरुमध्ये एक जना अजयकेशर सिंह हुन् । सस्तो ब्याजको कुरा प्रधानमन्त्री प्रचण्डको कानसम्म पु-याउने व्यक्ति पनि उनै हुन् । तर, छोटो समयमै अजयकेशर सिंहको तीन जनाको समूहमा विवाद उत्पन्न भयो । अजयकेशरलाई सोही समूहका मनिन्द्रलाल रञ्जितकार र प्रवीर शमशेर राणा पम्पीले हटाइदिए । मनिन्द्रलालले सस्तो ब्याज दिलाउने योजनाको काम गर्न पहिला अजयकेशरलाई भनेका थिए र उनीहरुले सो प्रस्ताव प्रदीप राणासमक्ष राखेका थिए तर उनले हावादारी कुरा भनेर नमानेपछि उनीहरुले पम्पी राणालाई आफ्नो समूहमा लिएका थिए । अहिले सो प्रस्ताव चर्चामा आएपछि प्रदीप राणाले मेलम्ची प्रोजेक्टमा नेपाली बैंक डुबाइदिने चाइनिज बैंकबाट रकम आउने र त्यसको सबै व्यवस्था दक्षिण कोरियाका व्यक्ति र ताइवानको एउटा संस्थाले संयोजन गर्ने भनी ५ प्रतिशत ब्याजमा सरकारी संस्थालाई मागेजति रकम दिलाइदिने प्रस्ताव बोकेर हिँडेका छन् । तर, उनले लिखित प्रस्ताव कतै पनि पेस गर्न भ्याएको थाहा हुनसकेको छैन ।


अजयकेशरले ३ प्रतिशत ब्याजमा कर्जा दिलाइदिने प्रस्ताव बोकेर विभिन्न सरकारी अधिकारीहरुसमक्ष धाइरहेकै बेला सुबोध प्रधान नामका अर्का व्यक्तिले १ प्रतिशत ब्याजमै चाहेजति रकम दिलाइदिने प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । उनले लण्डनको एउटा बैंकबाट नेपाल राष्ट्र बैंकमा स्टर्लिङ पाउण्डमा रकम आउने बताएका थिए । सस्तो ब्याजमा सरकार र सरकारी संस्थानहरुलाई चाहेजति रकम दिन कबुल गर्दै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने ती सुबोध प्रधान नेपालको सुविख्यात औद्योगिक घराना पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठका भान्जा हुन् ।

सस्तो ब्याजको प्रस्ताव गर्ने व्यक्तिहरुको बारेमा खोजबिन गर्दै जाँदा विश्वसनीय नदेखेपछि अजयकेशर सिंह र सुबोध प्रधान अहिले निकै पछि परिसकेका छन् भने पम्पी राणाको प्रस्ताव चम्किएको देखेपछि प्रदीप राणा कोरियन, ताइवान र चाइनिजको संयुक्त पार्टीको नाममा नयाँ प्रस्ताव लिएर अघि सरेका छन् तर बजारमा चर्चाचाहिँ मनिन्द्रलाल रञ्जितकार र पम्पी भनिने प्रवीर शमशेर राणाको प्रस्तावकै छ । मनिन्द्रलाल रञ्जितकारले सरकारलाई सस्तो ब्याजमा रकम दिलाउन केही समयअघि मात्र सूर्य जेएमके इन्भेष्टमेन्ट प्रा.लि. दर्ता गरेका छन् । गत फागुन ९ गते मात्र उक्त कम्पनी दर्ता भएको हो तर सस्तो ब्याजको चक्करचाहिँ गत मंसिरदेखि नै चल्नथालेको थियो । रञ्जितकार र राणाका पछाडि गुजरातका दुई भारतीय नागरिक छन् । उनीहरु अमित कपुर र अमूल कपुर हुन् । दाइ अमित कपुर युएईमा बस्छन् भने भाइ अमूल कपुर केही समय यता नेपालमै बस्दै आएका छन् । उनीहरुले अमेरिकाको जेपी मोरगान बैंकबाट ३ प्रतिशत ब्याजमा चाहेजति रकम उपलब्ध गराउने प्रस्ताव राख्दै आएका छन् ।


Related Posts: