ललितपुर महानगरको मतगणनामा पनि भाँडभैलो, चलखेल गरी काँग्रेसको भोट बढाएको भन्दै एमालेद्धारा बहिष्कार

भिडियो सहित हेर्नुहोस !
Advertisement


ललितपुर, ९ जेठ । भरतपुर र पोखरा महानगरपछि ललितपुर महानगरपालिकाको जारी मतगणनालाई लिएर पनि विवाद सिर्जना भएको छ । मतगणना पारदर्शी नभएको भन्दै एमालेले मतगणनास्थलबाट बाहिरिएको छ । मतगणनामा चलखेल गरी काँग्रेसको भोट बढाइरहेको अवस्थामा भेटिएका कर्मचारीलाई समेत भगाएर ढाकछोप गरेको, वडा नम्बर ९, ४ र २२ लगायतको पुनः मतगणना गर्न गरिएको माग अस्वीकार गरिएको लगायतका विषयमा विरोध जनाउँदै एमालेले मतगणना बहिष्कार गरेको हो ।

नेकपा एमालेले निर्वाचन आयोगमा लिखित पत्र बुझाएर बहिष्कार गरिएको एमालेका मेयरका उम्मेदवार एवं ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले जानकारी दिए । एमालेले पटकपटक निर्वाचन अधिकृतलाई मतगणनामा भएका कमजोरीका बारेमा जानकारी गराउँदा पनि काँग्रेसको दबाबमा निरन्तर पेलिएपछि बहिष्कार गर्न बाध्य भएको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृत तिमिल्सिनाले जानकारी दिए । ललितपुर महानगरपालिकाको मतगणना सकिनै लाग्दा काँग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरबाबु महर्जन एमालेका हरिकृष्ण व्यन्जनकार भन्दा २ सय ३ मतले मात्र अगाडि छन् । काँग्रेसका महर्जनले २३ हजार ५ सय ३९ मतका साथ अग्रता लिइरहेका छन् भने एमालेका ब्यञ्जनकारले २३ हजार ३ सय ३६ मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा काँग्रेसकी गीता सत्याल अगाडिको जित पक्कापक्की भएको छ । उनले १८ हजार ५ सय ८७ मत पाएकी छिन् । दोस्रो स्थानमा रहेकी साझा पार्टीकी शोभा शाक्यले १३ हजार २ सय ७४ मत पाएकी छिन् ।२५ वडाको परिणाम आइसकेको छ अब चार वटा वडाको मात्र मतगणना बाँकी छ ।


Related Posts: