आफूचाहिँ ढाड फर्काएर हिँड्ने अनि विरक्तलाग्दा गालीले देशलाई धारेहात बनाउँदै सामाजिक सञ्जाल रङ्ग्याउनेहरू यहाँ धेरै छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
जेष्ठ २४, २०७४- मुख्य सचिव डा. सोमलाल सुवेदी एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक कार्यकारी निर्देशक नियुक्त भएको तीन महिना भइसक्यो । मन्त्रिपरिषदले फागुन तेस्रो साता उनको रहरलाई अनुमोदन गरिदिएको थियो । साउनदेखि मात्र उता जानुपर्ने भएकाले उनमा अर्को लोभ पलायो, त्यसअघि मुख्य सचिव किन छाड्ने ? उनी त्यसमा झुन्डिइरहेकै छन्, सरकारले त्यो मौका पनि दिएकै छ । अर्कातिर सरकारले अति जिम्मेवार ठानेर जिम्मा दिएको पदलाई बीचैमा लात हान्ने, अन्यत्र नियुक्ति लिइसकेर कर्मचारीतन्त्रको सबैभन्दा ठूलो पदमा टाँसिइरहने उनै अधिकारी ‘प्रसिद्ध प्रबलजनसेवाश्री’ द्वारा विभूषित भएका छन् । त्यो पनि आफैंले आफैंलाई तोकेर ।
नेपाल सरकारको स्केलअनुसार मुख्य सचिवले मासिक ५४ हजार ५ सय ८८ रुपैयाँ तलब पाउँछन् । सुवेदीले एडीबीमा खाने जागिरमा महिनाको १८ हजार अमेरिकी डलर (कम्तीमा १८ लाख रुपैयाँ) हुनेछ । यो खाईपाई आएभन्दा करिब ३३ गुणा बढी हो । सहसचिवसम्मले नै प्रतिस्पर्धा गर्न पाउने उक्त पद ताक्ने धेरै थिए । तर, सुवेदीले स्वयं इच्छा देखाएकाले सरकारले इन्कार गर्न सकेन । गजबचाहिँ यो छ– आफूलाई आकर्षक पद तोक्ने उनी, विभूषण तोक्ने उनी ।
मुख्य सचिव मन्त्रिपरिषदको सदस्य सचिवसरह हो । देशहित प्रतिकूल र नियम–कानुनविरुद्ध सरकार जान लागेको अवस्थामा रोक्ने/देखाउने पद यही हो । सरकारलाई ‘आचार’ भित्र बाँध्न कानुन र नैतिकता ठेली पल्टाएर सचेत गराउने मुख्य सचिवले नै हो । तर, ठीक उल्टो– धेरै गुणा बढी तलब पाउनासाथ पदै छाडेर हामफाल्ने मुख्य सचिव पाएको छ देशले । अन्यत्र छानिइसकेपछि पनि त्यही पदमा राखिरहने संयमित सरकार पाएको छ नेपालले । देशले उपल्लो पदमा पुर्‍याएकाहरूले त्यो भूमिका पूरा नगरी गतिलो सुविधाका नाममा धोका दिन्छन् भने सरकारले खासमा तिनलाई ‘कालोसूची’ मा राख्नुपर्ने हो । तर, उल्टै काम गरिरहने मौकादेखि विभूषणसम्म टक्य्राइरहेको छ ।
नियम कानुनको कुरा छाडौं, नैतिकता थियो भने सुवेदीले पूरा कार्यकाल मुख्यसचिव चलाउनु पथ्र्यो । किनभने, उनलाई यहाँसम्म पुर्‍याउन देशले ठूलो लगानी गरेको छ । त्यसो गरेनन् । ठीकै छ, नियुक्ति लिएकै दिन राजिनामा दिनुपथ्र्यो । त्यो पनि गरेनन् । कम्तीमा आफ्नै मर्जीले ‘प्रसिद्ध प्रबलजनसेवाश्री’ थाप्नु हुने थिएन । त्यो पनि भ्याइदिए । आफ्नो फाइदाका लागि जता पनि पुगिहाल्ने व्यक्ति कसरी यति गतिलो विभूषणधारी भए ?
म हिजो ट्राफिक एफएम सुन्दै थिएँ, एउटा विज्ञापन बज्यो । छोरीले फोन गरेर सोध्छिन्, ‘बाबा, तपाईं गाडी चलाउँदै हो ?’ ‘हो’ भन्ने उत्तर आएपछि सावधानीपूर्वक चलाउन सल्लाह दिन्छिन् । बाबाले आफू सावधानीपूर्वक र ट्राफिक नियम पालना गरेर गाडी चलाइरहेको जवाफ दिन्छन् । सन्देशका हिसाबले यो ठीकै हो । तर, गाडी चलाउँदै गर्दा मोबाइल फोन उठाउन हुँदैन भन्ने ट्राफिकले नै भन्छ । त्यसमा जरिवानासमेत लाग्छ । तर, गाडी ड्राइभ गरिरहेको व्यक्तिसँग फोनमा कुरा गरेको विज्ञापन उसैले निर्माण गर्छ । कस्तो विरोधाभाष ? हाम्रा काम गराइका दुइटा पाटा हुन्छन्– एकातिर छोप्दा अर्कातिर उदांगिने । मुख्य सचिव पनि यस्तो पद हो, जसले देशको नुनको सोझो गर्नैपर्छ । विदेशमा नियुक्ति लिइसकेर मन्त्रिपरिषद् बैठकको ‘माइन्युट’ गरिरहँदा कुनै हदसम्म ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुन सक्छ । एकै व्यक्तिका यी दुई भूमिका त्यत्तिकै विरोधाभाषपूर्ण हो । यसलाई सामान्य रूपमा लिनु हुँदैन । नजिरकै हिसाबले पनि यो राम्रो होइन । भोलि कुनै बहालवाला मन्त्रीले गतिलो अवसर पाएर विदेश पलायन भएको खण्डमा के हुन्छ ? मुख्य सचिवलाई समेत त्यसभन्दा कम हैसियतमा राख्नु हुँदैन । त्यसमाथि अहिलेका मुख्य सचिव त बर्सेनि ‘गरिमामय’ विभूषण लिँदै आएका व्यक्ति हुन् । ती विभूषणको गरिमा बचाउन पनि उनमा उच्च नैतिकता हुनुपर्ने हो ।
यो कुनै व्यक्ति विशेषको कुरा होइन । कर्मचारी प्रशासन नेतृत्वको राज्यप्रतिको लगाव, पदीय मर्यादा र नैतिकताको सबाल हो । सरकारी छात्रवृत्तिमा पढ्न गएका कर्मचारीहरू विदेशमै हराउने घटना बढ्दो छ । राज्यले जागिर, तालिम र अन्य क्षेत्रमा धेरै खर्च गरेकाहरू ग्रिनकार्ड र पीआरमा भुल्ने गरेका छन् । यो देशमा केही छैन/हुँदैन भन्ने भावना व्याप्त छ । देशलाई दिएकाहरू होइन, देशले दिएकाहरू नै यो देशलाई दोष दिइरहेका छन् । आफूचाहिँ ढाड फर्काएर हिँड्ने अनि विरक्तलाग्दा गालीले देशलाई धारे हात बनाउँदै सामाजिक सञ्जाल रङ्ग्याउनेहरू यहाँ धेरै छन् । जसले देशलाई चुसेर निचोरेको निबुवाजस्तो छोक्रामात्र फालिदिन्छौं, समृद्धि भएन भनेर उही कुर्लिन्छौं । नागरिकको करबाट आफ्नो ‘करिअर’ बनाएकाहरू बढ्ता यसमा इमानदार छैनन् । मुख्य सचिवको निर्णयले तिनैलाई बल पुगेको छ ।

Related Posts: