सबैको घोषणापत्रमा रोजगारी मुद्दा

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ २४, २०७४- बैजनाथ गाउँपालिका नौबास्ताका मानबहादुर बुढा हालै मात्र कतारबाट फर्किएका छन् । आसन्न स्थानीय तहको निर्वाचन माहोलले उनलाई पनि छोएको छ । विदेशको पीडा खेपिसकेका उनले दलहरूले तयार पारेको घोषणापत्रलाई गहन अध्ययन गरेका छन् । दलहरूले पत्रमा प्राथमिकताका साथ उठाएको गाउँका बेरोजगार युवालाई रोजगारी दिने एजेन्डा उनलाई साह्रै मन परेको छ । तर, व्यवहारमा कार्यान्वयन हुने शंका भने हट्न सकेको छैन ।
‘घर छोडेर विदेश जाने रहर कसैलाई छैन तर रोजगारी छैन । दलहरूले चुनावमा गरेको प्रतिबद्धता कार्यान्वयन भए कोही पनि विदेश जाँदैनन्,’ उनले भने, ‘नेताहरूले भनेजस्तै बेरोजगार युवालाई स्वरोजगार बनाउने प्रयास गरून् ।’ स्थानीय तहको निर्वाचनमा मतदाता आकर्षित गर्न राजनीतिक दलहरूले घोषणापत्रमा गाउँस्तरबाटै रोजगारीका कुरा उठाएका छन् । गाउँपालिका, नगरपालिका तहबाटै प्राविधिक शिक्षा, स्वरोजगारमुलुक तालिम, कृषि, सामूहिक तरकारी खेतीलाई प्राथमिकतामा पारी युवालाई स्वरोजगार बनाउने मुद्दा दलहरूको घोषणापत्रमा छ । त्यससँगै खानेपानी, सिँचाइ, कृषि, विद्युत्, पुल, सडक कालोपत्रे, शिक्षा, पुल र कल्भर्टलगायत विकास योजनालाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । तर, युवाले भने गाउँमै रोजगारी दिने एजेन्डालाई चासोसाथ लिएका छन् । विदेश जान खुट्टा उचालिसकेकी बैजनाथ गाउँपालिका ३ सुतैयाकी एलिसा थापाले गाउँमै रोजगारका अवसर खुल्नुपर्ने बताइन् । उनले आर्थिक अभाव टार्न नेपालीहरू विदेश जानुपर्ने बाध्यता रहेको उनको धारणा छ । ‘गाउँमा काम पाइँदैन । उद्योगधन्दा नभएपछि बेराजगारी बढेको हो,’ उनको सुझाव छ, ‘गाउँपालिकास्तरबाटै बेरोजगार युवा, महिलालाई साना उद्योग स्थापनामा सहयोग हुनुपर्छ । यहीँ काम पाए किन घर छोड्ने ?’
उनलाई विदेशमा रहेका दुई दाजुभाइले विदेश नजान सुझाएका छन् । त्यसपछि मात्रै विदेश जाने योजना रोकेको उनले बताइन् । चुनावका क्रममा दलहरूले गरेको प्रतिबद्धता कार्यान्वयन भए आफूजस्तै थुप्रै बेरोजगारले रोजगारी पाउने उनको बुझाइ छ ।
बैजनाथ नौबास्ताका घरघरका युवा वैदेशिक रोजगारीमा छन् । विदेश जाने महिलाको संख्या पनि उत्तिकै छ । घर फर्किसकेका महिला समूह नै बनाएर विदेशमा भोगेका दु:ख र समस्याबारे जानकारी गराउँदै हिंडेका छन् । तर, विदेश जाने क्रम भने अझै रोकिएको छैन । ‘सबैभन्दा ठूलो समस्या रोजगारीकै हो । विदेशमा दु:ख पाइन्छ भन्ने जानेर पनि बाध्यताले जानैपर्नेछ,’ उनको बुझाइ छ, ‘गाउँपालिकास्तरबाटै पनि युवालाई क्रमश: रोजगारी दिन सकिन्छ । तर, राजनीतिक इच्छा आवश्यक पर्छ ।’
बढ्दो बेरोजगारी समस्या देखिरहेका दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा उक्त मुद्दा अगाडि सारेका हुन् । त्यसले बेरोजगारीको समस्या झेलिरहेका युवामा तरंग पैदा गरेको छ । उनीहरूले घोषणापत्रको प्रतिबद्धता व्यवहारमा लागू भएको देख्न चाहेका छन् ।

Related Posts: