अमेरिकाको टेक्सास राज्यमा आँधीका कारण भएको भीषण वर्षाले व्यापक क्षति गरेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


भाद्र १२, २०७४- अमेरिकाको टेक्सास राज्यमा आँधीका कारण भएको भीषण वर्षाले व्यापक क्षति गरेको छ । ‘हार्भी’ आँधीले टेक्सासको तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएपछि भारी वर्षा भएको हो । आँधी २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो ।
टेक्सास राज्यका गभर्नर ग्रेग अब्बटले आँधीको विध्वंसभन्दा वर्षाका कारण आउनसक्ने बाढीेले ठूलो क्षति पुर्‍याउने चिन्ता व्यक्त गरे । आँधीको मार्गमा रहेका ह्युस्टन र कर्पस क्रिस्टी सहरमा ५० सेन्टिमिटरभन्दा बढी वर्षा भएको छ ।
मौसमविद्हरूले अझै केही दिन पानी पर्ने बताएका छन् । उनीहरूले १ मिटरसम्म पानी पर्ने पूर्वानुमान गरेका छन् । अब्बटले वर्षाका कारण ‘नाटकीय बाढी’ आउन सक्ने भन्दै

चिन्ता व्यक्त गरे ।
उनले रकपोर्ट नगरमा दुईजनाको मृत्यु भएको पुष्टि गरे । उनीहरूमध्ये एकको घरमा आगलागी भएपछि मृत्यु भएको हो । अर्की एक महिलाको ह्युस्टनको सडकमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । अब्बटले उद्धार तथा मर्मतका लागि १ हजार ८ सय सैनिक परिचालन गरिएको जनाए ।

अमेरिकाको चौथो ठूलो सहर ह्युस्टनका मेयर सिल्भेस्टर टर्नरले एक घण्टामा साढे सात सेन्टिमिटर वर्षा भएको बताए । उनले करिब ५ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको बताए । नजिकैको हबी सहरका दुई विमानस्थल पानी जमेका कारण बन्द गरिएका छन् । हार्भी अमेरिकाको १३ वर्षयताकै ‘शक्तिशाली आँधी’ भएको अधिकारीले जनाए । उनीहरूले क्षतिका आधारमा यसलाई ‘क्याटेगोरी फोर’ अर्थात् चौथो वर्गमा राखेका छन् ।
उनीहरूले हार्भीले विनाशकारी प्रभाव निम्त्याउन सक्ने चेतावनी दिएका छन् । आँधीका कारण कतिपय स्थानमा भारी वर्षा भएको छ । भत्किएका घरहरूमा सर्वसाधारणहरू फसिरहेको अनुमान गरिए पनि उद्धारमा कठिनाइ भएको छ ।

अधिकारीले केही मानिसहरू हताहत भएको हुन सक्ने बताए । कतिपय स्थानमा मानिसहरू छेमेकीको अवस्था बुझ्न समूहमा हिँडेको जनाइएको छ ।

आँधीले विद्युत् प्रसारण अवरुद्ध भएका कारण लाखौं घरमा बिजुलीबत्ती छैन । विद्युत् सेवा प्रदायकहरूले करिब ३ लाख मानिसहरू बिजुलीबिना बसिरहेको जनाएका छन् । आपतकालीन सेवाका अनुसार केही विद्यालय, होटेल तथा आवासीय भवनमा क्षति भएको छ । दस हजार जनसंख्या भएको रकपोर्ट सहर बढी प्रभावित भएको छ । रूखहरू ढलेर सडक अवरुद्ध छन् भने भत्किएका घरमा मानिसहरू पुरिएको आशंका छ ।
आँधीका कारण अमेरिकाका विभिन्न भागका करिब दस लाख मानिस प्रभावित भएको बताइएको छ । कतिपय स्थानमा आँधीका कारण अझै तीव्र वर्षा भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीमा फसिरहेका मानिसहरूको उद्धारलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै विपत् प्रभावित क्षेत्रमा संघीय सहायता पुर्‍याउन निर्देशन दिएका छन् । उनले आगामी हप्ता टेक्सासका आँधी प्रभावित क्षेत्रको अवलोकन गर्ने जनाइएको छ ।

ट्रम्पले मानिसहरूलाई सकुशल उद्धार गर्न सबै सरकारी निकायले पूर्णरूपमा क्रियाशील रहने विश्वास व्यक्त गरे । उनले आपतकालीन राहत र उद्धार कार्यमा लाग्नेहरूलाई हौसला दिएका छन् । टवीटमा ट्रम्पले उल्लेख गरेका छन्, ‘तपाईंहरूले अत्यन्तै महान् मानवीय कार्य गरिरहनुभएको छ । तपाईंहरू सुरक्षित रहनुहोला, तपाईंको कार्य संसारले हेरिरहेको छ ।’
हार्भी अमेरिकामा २००४ मा आएको चार्ली पछिको शक्तिशाली आँधी हो । १९६१ मा कार्ला आँधीका कारण ३४ जनाको मृत्यु भएको थियो ।

Related Posts: